योग्य उम्मेदवार छनोट गर

 योग्य उम्मेदवार छनोट गर

पर्वको उल्लाससँगै राजनीतिक सरगर्मीले राष्ट्रिय राजनीति तातेको छ। दलहरू आसन्न प्रदेश तथा प्रतिनिधि सभाको चुनावी तयारीमा व्यस्त छन्। चुनावी नजिता आफूतिर पार्न तालमेल, मोर्चाबन्दीलगायतका रणनीति बनाउन जुटेका छन्। सँगै उम्मेदवारको छनोट र घोषणाका क्रम पनि सुरु भइसकेका छन्।

उम्मेदवार छनोटको अभ्यास हुँदै गर्दा नेता-कार्यकर्ताको दौडधूप त्यही मात्रामा बढेको छ। आकांक्षी धेरै हुँदा तिनको व्यवस्थापनसँगै योग्य उम्मेदवार चयन दलहरूको लागि चुनौतीपूर्ण देखिएको छ। सबैजसो ठूला दलमा गुट र नेताको फेरो समातेर उम्मेदवार बन्ने प्रवृत्ति छ र त्यसको होड नै चलेको छ। शीर्षनेताका घरमा बिहानैदेखि लाग्ने भीडभाडले त्यो प्रवृत्ति बढिरहेको प्रस्ट हुन्छ। यो पृष्ठभूमिमा उम्मेदवार तोक्ने अधिकार प्राप्त राजनीतिक नेतृत्वसामु ठूलो जिम्मेवारी छ। त्यसमा संवेदनशील हुनु जरुरी छ।

त्यसो त हरेक पार्टीले तल्लो तहदेखि नै उम्मेदवार सिफारिस गरेर छनोट प्रक्रिया अघि बढाउने अभ्यास गर्दै आएका छन्। तल्ला कमिटीहरूले सम्भावित उम्मेदवार सिफारिस गर्ने र माथिल्ला कमिटीहरूले त्यसको टुंगो लगाउने प्रक्रिया दलहरूले अपनाएको देखिन्छ। तर कतिपय अवस्थामा गुट हावी हुँदा योग्य र सक्षम मानिस सिफारिसमै नपर्ने अवस्था एकातिर छ भने अर्कोतिर शीर्ष नेतृत्वले चाहँदा सिफारिसमै नपरेका आकांक्षी पनि उम्मेदवार छनोट भएका दृष्टान्त भेटिन्छन्। हालै तीन चरणमा सकिएको स्थानीय तह निर्वाचनमा पनि कतिपय उम्मेदवारको छनोट योग्यताका आधारमा नभई गुट र नेतासँगको सम्बन्धका आधारमा भएको भनेर असन्तुष्टि र आलोचना भएका थिए। निकट विगतको यी विसंगति र कमजोरी सुधार्दै नेतृत्वले अहिले उम्मेदवार तोक्ने उचित मापदण्ड बनाएर सही अभ्यास गर्न सक्नुपर्छ।

नेतृत्वले हरेक कार्यकर्तालाई सन्तुष्ट पार्न सक्दैन। तर उम्मेदवार तोक्दा दलहरूले केही आधारभूत विषय हेर्नु उचित हुन्छ। केही मापदण्ड जस्तो कि कम्तीमा निरन्तर राजनीतिक सक्रियता, विवादमा नमुछिएको, नेतृत्व गर्ने क्षमता भएको व्यक्ति, अनियमितता, भ्रष्टाचार आदि कुनै दाग नलागेको, सामाजिक रूपमा लोकप्रिय, विकास निर्माणको योजना बनाउने विषयमा रचनात्मक भूमिका खेल्न सक्ने आदि उम्मेदवारका मापदण्ड हुन सक्छन्। विवादास्पद छवि नभएका, जनस्तरमा लोकप्रिय र विषयवस्तुमा उत्तिकै ज्ञान भएका पात्र उम्मेदवार तोकिए भोलि नेतृत्वमा पुग्दा जिम्मेवारी बहन गर्न सक्छ। त्यसकारण राजनीतिक सक्रियतासँगै उम्मेदवारको क्षमतालाई पनि मुख्य मापदण्ड बनाइनु आवश्यक छ।

लोकतन्त्रको एउटा मुख्य आधार दलीय प्रतिस्पर्धा हो। यी निर्वाचनमा मूलतः दलीय प्रतिस्पर्धा नै हुने हो। नेपाली राजनीतिमा प्रमुख राजनीतिक दलका नीति, सिद्धान्त वा कार्यशैलीमा खासै भिन्नता देखिन छोडेको छ। दलहरू नीतिमुखीभन्दा बढी शक्ति र सत्तामुखी हुँदै गएका छन्। उम्मेदवार छनोट निश्चित मापदण्डका आधारमा खासै हुँदैन। धेरैजसो उम्मेदवारको योग्यता चुनावमा पैसा खर्च गर्न सक्ने, नेतानिकट वा गुटको सदस्य आदिमा सीमित हुँदै गएको छ। दलहरूले उचित मापदण्डसहित योग्यलाई प्राथमिकता दिँदै उम्मेदवार छनोट गर्ने प्रवृत्तिको विकास गर्न नसक्दाको सीधा असर समग्र राजनीतिक प्रणालीमै पर्छ।

त्यसकारण भाषण र दस्ताबेजहरूमा मात्रै होइन, उम्मेदवार छनोट गर्दा नेतृत्वले व्यवहारमै हाम्रा होइन राम्रालाई अवसर दिनुपर्छ। आम मतदाताले पनि सही उम्मेदवार चुन्ने अवसरलाई उपयोग गर्न सक्नुपर्छ। आफ्नो निर्णय पश्चात्ताप लाग्ने खालको बन्न नदिन मतदाताले पनि योग्य उम्मेदवार छनोट गर्न सक्नुपर्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.