मुस्ताङबाट २३ हजार भेडाच्याङग्रा बाहिरिए
जोमसोम : यस वर्षको दसैंमा हिमाली जिल्ला मुस्ताङबाट २३ हजार भेडाच्याङग्रा बाहिरिएका छन्। मुस्ताङको उपल्लो भेग र डोल्पाबाट आएका भेडाच्याङग्रा घासा हुँदै बजार भित्रिएका थिए। जिल्ला प्रहरी कार्यालयको रोहबरमा घासामा संकलन गरिएको तथ्यांकअनुसार १३ हजार च्याङग्रा र १० हजार भेडा बाहिरिएको ठेकेदार राम थकालीले जानकारी दिए। थकालीले जिल्ला समन्वय समितिले आह्वान गरेको टेन्डरमार्फत तथ्यांक र कर संकलनको अनुमति लिएका थिए।
‘दसैंको अघिल्लो दिनसम्म भेडाच्याङग्रा बाहिरिएका थिए। त्यसबाट १५ लाख रुपैयाँ कर संकलन भएको थियो', उनले भने। गत वर्ष जिससका साथै पशु सेवा कार्यालयले स्वास्थ्य परीक्षण गर्ने गरे पनि यसपटक भने भेडाच्याङग्राको स्वास्थ्य परीक्षणबिना नै बजार भित्रिएका थिए। ‘हामीले त्यसबारे पशु सेवा कार्यालयलाई जानकारी गराएका थियौं। तर उताबाट कुनै प्रतिक्रिया नआएपछि स्वास्थ्य परीक्षणबिना नै बजार पठायौं', उनले भने। मुस्ताङबाट झरेका भेडाच्याङग्रा म्याग्दीको बेनी हुँदै काठमाडौं, पोखरा, चितवन, बाग्लुङ, कुश्मा र पोखरासम्म पुगेका थिए। यस वर्ष साबिकभन्दा निकै महँगोमा उपभोक्ताले भेडाच्याङग्रा खरिद गरेका थिए।
२२ देखि २९ हजार रुपैयाँसम्म बिक्री भएको भेडाच्याङग्रालाई व्यापारीले किसानबाट १७ हजारदेखि २४ हजार रुपैयाँसम्म खरिद गरेका थिए। उपल्लो मुस्ताङको लोमान्थाङ, छोसेर, सुर्खाङ, घमी, चर्राङ, छोन्हुप क्षेत्रमा पालेका भेडाच्याङग्रा बजार आएको व्यापारीले जानकारी दिएका छन्। त्यहाँका किसानले दसैंलाई लक्ष्य गरी व्यावसायिक रूपमा भेडाच्याङग्रा पालन गर्दै आएका छन्। जिल्ला पशु सेवा कार्यालयका योजना अधिकृत आइतबहादुर थकालीले यस वर्ष न्यून जनशक्तिका कारण बजार झरेका भेडाच्याङग्राको स्वास्थ्य परीक्षण गर्न नसकेको बताए।
‘गाउँपालिकामै हाम्रा जनशक्ति खटेका थिए, गाउँपालिका नै यसको काम गर्ने हो', उनले भने। यस वर्ष दसैं सिजनमा ३० करोडभन्दा बढीको कारोबार गर्न जिल्लाका किसान सफल भएको उनले बताए। गत वर्ष १३ हजार भेडा र आठ हजार ४५ च्याङग्रा जिल्लाबाट बाहिरिदा किसानले करिब २७ करोड ३५ लाख रुपैयाँको कारोबार गरेको कार्यालयले जनाएको छ।