वाम एकताले कांग्रेसमा ८ रेक्टरको भूकम्प
नेपाली राजनीतिको इतिहास हेर्दा आन्दोलन गर्न र निर्वाचनमा समेत गठबन्धन सफल भएका छन्। दुइटा राजनीतिक शक्तिबीच एकीकरण भएर नेपाली कांग्रेस बनेपछि मात्र २००७ सालको कांग्रेस नेतृत्वको क्रान्ति सफल भएको थियो। ०१७ सालमा प्रजातन्त्र अपहृत भएपछि बहुदलीय व्यवस्था स्थापनाको लागि ०४६ सालसम्म कांग्रेस एक्लैले लड्ने निर्णय गर्यो, तर सफल भएन। २०४६ मा वाममोर्चासँग गठबन्धन गरेपछि मात्रै बहुदलीय व्यवस्था ल्याउने आन्दोलन सफल भयो। २०६३ को आन्दोलन पनि तत्कालीन सातदलीय गठबन्धन र माओवादीबीच सहमति भएका कारण सफल भएको हो।
२०४६ मा बहुदलीय व्यवस्थाको पुनस्र्थापनापछि मनमोहन अधिकारी नेतृत्वको नेकपा (माक्र्सवादी) र मदन भण्डारी नेतृत्वको नेकपा (माले) बीचको एकीकरणपछि बनेको नेकपा (एमाले) प्रति जनसमर्थन बढ्दै गयो र उक्त पार्टीले देशव्यापी रूपमा शक्ति आर्जन गर्यो। खड्ग ओली र प्रचण्डलाई यो कुरा थाहा छ। निर्वाचनको पूर्वसन्ध्यामा भएको वाम गठबन्धन नेपालको इतिहासमा वामपन्थीबीच भएको सबैभन्दा ठूलो र महत्वपूर्ण गठबन्धन हो। यसले नेपाली राजनीतिमा विशेष अर्थ राख्छ। अहिलेको गठबन्धन पहिलोपटक प्रभावकारी रूपमा वामपन्थी मोर्चा बन्न खोजेको छ।
यी दलका समान विचार थिए। यी दलका कार्यकर्ता यताउता गरिरहन्थे। सशस्त्र संघर्षका बेला पनि दिउँसो-दिउँसो एमाले र राति-राति माओवादी हुनेहरू थिए। यो एकता स्वाभाविक र सहज हो। वामशक्ति एक नहुँदा राजनीति संग्लिएको थिएन। वामपन्थीको मत ६० प्रतिशतभन्दा बढी थियो तर जनमतअनुसार संसद् र सत्तामा उनीहरूको प्रतिनिधित्व भएको थिएन। जनमत छ, जनताले रुचाएको दर्शन छ र यसबाट देशको रूपान्तरण सम्भव छ भनेर अहिलेको एकता भएको हुनुपर्छ।
यो वामपन्थी गठबन्धनको विरुद्धमा प्रजातान्त्रिक गठबन्धनको बहस हुन थालेको छ, तर के हुन्छ यसै भन्न सकिन्न। ०५६/५७ तिर गिरिजाप्रसाद कोइरालाले बृहत् प्रजातान्त्रिक एकताको बहस चलाएका थिए, तर त्यो पछि त्यत्तिकै सेलाएर गयो। ख्याल गर्नुपर्ने कुरा के छ भने कांग्रेस एउटै पार्टी भए पनि उक्त पार्टीमा मुख्य दुई गुटबीच ६०/४० को भागबन्डा हुने गरेको छ। अहिले एमाले माओवादी गठबन्धन पनि त्यही ६०/४० को अनुपातमा हुन गइरहेको छ।
नेपाली राष्ट्रवाद, पहाडे राष्ट्रवाद जे भने पनि नेपालमा एकखाले राष्ट्रवादी धारणा छ। भारतविरोधी धारणा पनि छ र यो बढ्दै पनि गइरहेको छ। यो एकता यस्तो ‘राष्ट्रवाद’ को फाइदा लिन पनि भएको हो।
प्रदेश नम्बर २ को चुनावपछि एमाले केही झस्किएको थियो। अन्य प्रदेशमा जिते पनि प्रदेश नम्बर २ मा एमाले निर्वाचित प्रतिनिधिको हिसाबले पाँचौं शक्ति बन्न पुग्यो, जनमतका आधारमा दोस्रो भए पनि। प्रदेश नम्बर २ मा माओवादी केन्द्रको राम्रो प्रदर्शनले एमालेलाई प्रदेश २ मा समेत आफ्नो प्रभाव बढाउन गठबन्धन र पार्टी एकताको लागि घच्घच्याएको हुन सक्छ।
नयाँ बन्ने वामपन्थी पार्टीमा आन्तरिक प्रजातन्त्र हुने हो भने यो एकताले देश र जनतामा सकारात्मक असर पनि पार्न सक्छ। यो गठबन्धनले वामपन्थीको मतको तुलनामा उनीहरूको उचित प्रतिनिधित्व गराउन सक्छ। यसले नेपालमा लोककल्याणकारी र सामाजिक न्यायसहितको राजनीति स्थापित गर्न सक्छ।
एमालेको ०४६ सालपछिको इतिहास हेर्ने हो भने उक्त पार्टी सत्तामा नहुँदा छटपटाउने पार्टी हो। त्यहीमाथि यो देशको राजनीतिलाई आफूले चाहेजसरी अगाडि बढाउन सक्ने ओलीको मनोविज्ञान छ। अहिलेको वाम गठबन्धनमा पुष्पकमल दाहालभन्दा पनि ओली बढी क्रियाशील भएका यही कारण हो। त्यसैले कांग्रेसले भन्दा राम्रो अफर ओलीले गरेका हुन् माओवादी केन्द्रलाई। यो देशको सार्वभौमसत्ताको रक्षा कम्युनिस्टले गर्ने हो र उनीहरू भारतीय दबाबका सामु पनि झुक्दैनन् भन्ने सन्देश पनि एमालेले दिन चाहेको हुन सक्छ।
वाम शक्तिबीच विभाजनकै कारण कांग्रेसले संगठन विस्तार नगरी र वैचारिक रूपमा बलियो पनि नभई शासन गरिरहेको निष्कर्षमा वामपन्थी पुगे। वामपन्थीबीचको यो एकताले कांग्रेसमा ८ रेक्टर स्केलको भुइँचालो ल्याइदिएको छ। अहिले विद्यमान भूराजनीतिक अवस्थाका कारण र भारतका सहानुभूतिका कारण कांग्रेस राजनीतिक रूपमा लाभान्वित हुँदै आएको थियो। यो वामपन्थी गठबन्धनले कांग्रेसजस्तो लबस्तरो पार्टीलाई घच्घच्याउँछ। अब कांग्रेस कि सुध्रिनुपर्छ नत्र सकिन तयार हुनुपर्छ।
अहिले त भूराजनीति नै परिवर्तन हुन खोजेको जस्तो देखिएको छ। चीनले नेपालका केही राजनीतिक शक्तिलाई रुचाएको र केहीलाई नरुचाएको स्पष्ट रूपमा देखाउन थालेको छ।
नेपाली कांग्रेसले भारतको कांग्रेस (आई) बाट पाठ सिक्नुपर्छ। भारतको स्वतन्त्रताको लागि लडेको र भारतमा त्यति धेरै शासन गरेको उक्त पार्टीको अहिले भारतको लोकसभामा १० प्रतिशत प्रतिनिधित्व पनि छैन।
यो गठबन्धन कतै नेपाली राजनीतिको अधिनायकवादतर्फको यात्राको सुुरुआत त होइन भन्ने आशंका उत्पन्न भएको छ, कम्युनिस्ट दर्शनका कारण। यो कांग्रेसका लागि चुनौती हो र यसलाई कांग्रेसले रोक्न सक्नुपर्छ। अहिले कांग्रेसमा जुन छटपटी र चासो पैदा भएको छ, यसमा यो क्षणिक प्रतिक्रिया मात्र हो भने कांग्रेसलाई भारतको कांग्र्रेस (आई) जस्तो बन्नबाट कसैले रोक्न सक्तैन। -पुरञ्जन आचार्य, राजनीतिक विश्लेषक