माघमा वेस्मा लाङ्योक
काठमाडौं : लिम्बु भाषा, संस्कार, संस्कृतिको संरक्षण र संवद्र्धनमा क्रियाशील याक्थुङ हाक्पारे पालाम सयङको आयोजनामा काठमाडौंमा ‘वेस्मा लाङ्योक २' हुने भएको छ ।
गत वर्र्ष वेस्मा लाङ्योक (फरक पाइला) नामक बृहत् सांस्कृतिक कार्यक्रम गरेको सयङले यस वर्ष लिम्बु संस्कृतिमा आधारित भई सो कार्यक्रमको दोस्रो संस्करण आयोजना गर्न लागेको हो । माघ ६ गते राजधानीमा हुने कार्यक्रममा संस्थासँग आबद्ध भएका र नभएकाले गरी सयभन्दा बढी कलाकारलाई एकैपटक मञ्चमा उतार्ने सयङले जनाएको छ ।
कार्यक्रममा प्राज्ञ अशोक लोहरुङ राईद्वारा संगीतबद्ध एक दर्जन लिम्बु भाषाका गीत प्रस्तुत गरिनुका साथै लिम्बु जातिको मौलिक नाच च्याब्रुङ, धान नाच, हाक्पारे, पालाम, ख्यालीका साथै तङसिङ तक्मा यबा फेदाङमाको समेत छुट्टै प्रस्तुति रहनेछ ।
कार्यक्रममा लिम्बु समुदाय भित्र आफ्नो क्षेत्रबाट योगदान पुर्याउने एकजना व्यक्तित्वलाई नगदसहितको सम्मान पनि गरिने याक्थुङ हाक्पारे पालाम सयङकी अध्यक्ष रूपा आङ्बुहाङले जानकारी दिएकी छन् ।