बाढी पीडितद्वारा तालावन्दी
बर्दियाः बबई नदीको वाढी पीडितहरुले राहत नपाएको भन्दै वडा कार्यालयमा तालावन्दी गरेका छन्। वडा अध्यक्षहरुले तथ्यांकमा आफूहरुको नाम समावेश नगर्दा राहत नपाएको भन्दै उनीहरुले १ र २ नम्वर वडा कार्यालयमा तालावन्दी गरेका हुन्।
वास्तविक बाढी पीडितले राहत नपाएको उनीहरुको गुनासो छ। गुलरिया नगरपालिका वडा नम्वर १ निवासी हिरमत चौधरीले भनिन्, ‘बाढीमा घाँटी-घाँटीसम्म पानी घरभित्र पस्यो, पीडितमा पनि नाम लेखाए तर सरकारले दिएको नगद राहत अझै पाइन। बाढी नै नपसेकाले राहत बुझे तर हामीलाई किन हो वडा अध्यक्षले राहत दिने चालै गर्दैनन्।'
गुलरिया नगरपालिका वडा नम्वर २ का अध्यक्ष टंकप्रसाद अधिकारी भन्छन्, ‘हामीले धेरै जसो स्थानमा राहत बाँडे पनि रकम नआएकाले केही स्थानहरुमा राहत दिन बाँकी छ। वास्तविक बाढी पीडितले राहत पाउँछन्।' उनले वडा कार्यालयमा तालावन्दी भएपनि आफूसँग आधिकारिक गुनासो नआएको बताए।
बाढी प्रभावित क्षेत्रहरुमा लिइएको बाढी पीडितको तथ्यांक वास्तविक नभएको भनि चौतर्फी विरोध आएको राजनीतिक भागवण्डाको आधारमा तथ्यांक लिने र राहत वितरण गर्ने काम भएको राप्रपा बर्दियाका प्रवक्ता सुशिल लामिछानेले बताए।