डेंगु नियन्त्रणका लागि ‘सर्च एण्ड डिस्ट्रोय
बर्दिबास: महोत्तरीको बर्दिवास नगरपालिकामा २८ जनामा सरुवा रोग डेंगु संक्रमण देखिएपछि ‘सर्च एण्ड डिस्ट्रोय' अभियान सञ्चालन गरिएको छ।
स्वास्थ्य सेवा विभाग, विश्व स्वास्थ्य संगठन, जिल्ला स्वास्थ्य कार्यालय महोत्तरी, बर्दिबास सरकारी अस्पताल, बर्दिबास नगरपालिकाले संयुक्त रुपमा डेंगुको संक्रमण फैलाउने लामखुट्टे र त्यसको लार्भा खोजेर नष्ट गर्ने कार्यलाई अभियानकै रुपमा अघि बढाएका हुन्।
बुधबारदेखि सुरु गरिएको अभियानका क्रममा ग्यारेजमा राखिएको सवारी साधनका थोत्रो टायरमा जमेको पानीमा सबै भन्दा बढी डेंगु रोग फैलाउने लामखुट्टेको लार्भा भेटिएको डेंगु रोग नियन्त्रण गर्न बर्दिबासमा खटिएका स्वास्थ्य सेवा विभागका उपस्वाथ्य प्रशासक गुणनिधी शर्माले बताए।
‘सत्तरी प्रतिशत डेंगु रोग फैलाउने लामखुट्टेका लार्भा ग्यारेजमा राखिएको थोत्रो टायरहरुमा जमेको सफा पानीमा भेटियो,' उनले अन्नपूर्णसंग भने, ‘टायरहरुलाई व्यवस्थान गरिएन भने बर्दिबास डेंगु रोगबाट विशाल रुपमा प्रभावित हुन सक्छ।' उनका अनुसार डेंगु सार्ने लामखुट्टे गाउँभन्दा शहरी बजारमा बढी पाइने गर्छ।
डेंगु ज्वरो रोगको प्रकोप रोकथाम तथा नियन्त्रणको लागी बर्दिबास बजार क्षेत्रमा पानी राख्ने भाडा, ट्यांकी, खाल्डाखुल्डी पुर्ने र पानीमा लामखुट्टेको बसाई रहेको–नरहेको हेरेर खोजतलास गरी नष्ट गर्ने कार्यक्रम सञ्चालन गरिएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख नागेन्द्र प्रसाद यादवले जनाए।
धनुषा, महोत्तरी, र सर्लाहीका ज्वरो लागेर ज्वरो लागेर बर्दिवासका सरकारी तथा नीजि स्वास्थ्य संस्थाहरुमा आएका ५२ जना विरामीहरु मध्ये ४१ जनामा डेंगु रोगको संक्रमण देखिएको हो। जसमध्ये २८ जना बर्दिबासमा, १२ जना धनुषा र सर्लाहीको लालबन्दीका मानिसहरुमा डेंगुको संक्रमण फेला फेला परेको डेंगु नियन्त्रणको लागि बर्दिबास खटिएका स्वास्थ्य सेवा विभागका भेक्टर कन्ट्रोल निरिक्षक उत्तमराज प्याकुरेलले बताए। उनका अनुसार यस बर्ष तीस जिल्लाका ४२६ जनामा डेंगुको संक्रमण देखिएको छ। गतबर्ष ४० जिल्लाका १ हजार ५२७ जनामा डेंगुका संक्रमण देखिएको थियो।
डेंगुका लाभा खोज्ने र नष्ट गर्ने, डेंगु सम्बन्धी सचेतना फैलाउन घरदैलो अभियान, विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम, अनुगमन जस्ता कार्यक्रम संचालन गरिएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरिक्षक सन्तोष ठाकुरले जनाए। डेंगुको रोगी फेला परे लगतै स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलले रोग नियन्त्रणका निर्देशन दिएका थिए।