एमाले बैतडीद्वारा उम्मेद्वारको नाम सिफारिश
बैतडी : नेकपा एमाले बैतडीले आगामी प्रदेश सभा र प्रतिनिधि सभाका लागि उम्मेदवारको नाम सिफारिश गरेको छ।
जिल्ला कमिटिको बिहीबार बसेको बैठकले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको लागि प्रदेश संगठन कमिटिलाई नाम सिफारिश गरेको एमाले बैतडीका सचिव लीलाधर भट्टले जानकारी दिए।
प्रतिनिधि सभाका लागि पूर्वअर्थराज्य मन्त्री दामोदर भण्डारी, पूर्व जिल्ला विकास समिति सभापति परमानन्द भट्ट र पदमा खत्रीको नाम सिफारिश गरिएको सचिव भट्टले बताए। उनले भने ‘जिल्ला कमिटिको बैठकले पार्टीको केन्द्रिय कमिटिको निर्देशन अनुसार उम्मेदवारको नाम सिफारिश गरेको छ।
जिल्ला कमिटिले प्रदेश संगठन कमिटिलाई नाम सिफारिश गरेको छ । प्रदेश कमिटिले केन्द्रिय कमिटिलाई नाम सिफारिश गर्नेछ। उम्मेदवारको अन्तिम टुंगो भने केन्द्रिय कमिटिले लगाउने छ।'
यस्तै प्रदेशसभाका लागि क्षेत्र नं १ बाट सुरेन्द्र पाल र क्षेत्र नं २ बाट जिल्ला सचिव लीलाधर भट्ट, महादेव भट्ट र सुशीला सिहंको नाम सिफारिश गरिएको छ। यस्तै प्रतिनिधि सभाका लागि समानुपातिक तर्फ पुरनसिंह दयाल, माया भट्ट र जयानन्द जोशीको नाम सिफारिश गरिएको छ।
प्रदेशसभाका लागि समानुपातिक तर्फ जानकी अवस्थी, प्रेम लुहार, धाना धामी, पार्वती भट्ट, लालसिंह कार्की, केशव पन्त, राजु भुल र चन्द्रा लुहारको नाम सिफारिश गरिएको एमाले बैतडीले जनाएको छ।
प्रदेश सभा र प्रतिनिधि सभाको उम्मेद्वारको छनौटका लागि एमाले बैतडीले तीनदिन अघिदेखि क्षेत्रीय समन्वय कमिटि र जिल्ला कमिटिमा छलफल गर्दै आएको थियो।