प्रतिक्रियाको राजनीति
एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीच चुनावी तालमेल र क्रमैसँग पार्टी एकीकरण गर्ने घोषणा भएको २४ घन्टा नबित्दै सत्तासीन कांग्रेसले अरू पाँच दललाई समेटेर चुनावी मोर्चा बनाउने प्रक्रिया अघि बढाएको छ । वामपन्थी शक्ति चुनावी तालमेलसँगै एउटै पार्टी बनाउने अभ्यासमा छन् भने कांग्रेस सरकारको नेतृत्व जोगाउन र आसन्न चुनावलाई लक्षित गर्दै मोर्चा बनाउन सक्रिय छ ।
सिंगो मुलुक पर्वमा रमाइरहेका बेला एकता र मोर्चाबन्दीका यी अभ्यास आकस्मिक देखिए पनि राजनीतिमा यी स्वाभाविक परिघटना हुन्, तर राजनीतिक वृत्तमा अनेक टीकाटिप्पणी भइरहेका छन् । एकथरी विश्लेषक वाम एकताले मुलुक अधिनायकवादतर्फ उन्मुख हुने टिप्पणी गर्दैछन् भने कांग्रेसले प्रतिक्रियाको राजनीति गरेको आक्षेप अर्को कोणबाट लगाइएको छ । राजनीति धु्रवीकृत भइरहँदा अहिले जेजसरी पक्ष र विपक्षमा अनुदार र आवेगपूर्ण टीकाटिप्पणी भइरहेका छन्, ती जायज छैनन् ।
लोकतान्त्रिक परिपाटी र दलीय व्यवस्था भएको मुलुकमा विभिन्न दलबीच सहकार्य, मोर्चाबन्दी वा एकता हुनु नौलो होइन । हाम्रै सन्दर्भमा पनि दलहरूबीच एकता र विभाजन कुनै नौलो सन्दर्भ हुँदै होइन । दुइटा ठूला कम्युनिस्ट पार्टीबीच पार्टी एकताकै अभ्यास अघि बढ्नु निश्चय पनि उल्लेखनीय हो, तर त्यस्तो अभ्यासको प्रारम्भमै अनेक टीकाटिप्पणी गरिनु उचित होइन । निश्चय पनि कांग्रेसले थालेको मोर्चाबन्दी वाम तालमेलपछिको प्रतिक्रिया हो । त्यसलाई पनि अस्वाभाविक रूपमा लिनु हुँदैन । दलीय राजनीतिमा दलहरूले आफ्नो वर्चस्व खोजिरहन्छ ।
यी गठबन्धन र एकताका राजनीतिक आधार छन् त ? वैचारिक आधारविनाको सहकार्य, एकता वा मोर्चाबन्दी दिगो हुन सक्दैन । के यी एकता र तालमेल स्थायी होलान् ? कांग्रेस वा वामपन्थीले अहिले गरेका सहकार्य र तालमेल अनुचित छैनन् । यी दलीय व्यवस्थालाई अझ मजबुत बनाउनेतिरै उन्मुख छन्, तर यी सहकार्य र तालमेलका राजनीतिक अर्थ र आधार जनताले बुझ्ने गरी स्पष्ट पार्न सक्नुपर्छ । आवेग र प्रतिक्रियामा मात्रै एकता र मोर्चाबन्दीका अभ्यास भइरहेका हुन् भने ती अस्थायी हुन्छन् भन्ने हेक्का दलहरूले राख्नुपर्छ ।
नेपाली राजनीति अस्थिर छ । दलहरू सत्ताकेन्द्रित छन् । दलभित्रको आन्तरिक लोकतन्त्र एकदम कमजोर छ । हरेकजसो पार्टीभित्र गुटबन्दी हावी छ । लोकतान्त्रिक आन्दोलनमा लागेका दलको आन्तरिक जीवन अपारदर्शी छ । शासन व्यवस्था अस्थिर छ, जसले गर्दा कुनै पनि सरकारले पूरा शासनअवधि काम गर्न पाउँदैन । जसको सीधा असर विकास र सुशासनमा पर्दै आएको छ ।
के यी गठबन्धन र एकताले राजनीतिका यी दुःखको निवारण गर्ला ? के दलहरूबीचको एकता र सहकार्यपछि राजनीतिक संक्रमण हट्ला ? संवैधानिक अस्थिरता हटेर यसको संस्थागत विकास होला ? वाम वा लोकतान्त्रिक गठबन्धनको औचित्य र आवश्यकता त्यतिबेला मात्रै सिद्ध हुन्छ, तब यी विसंगतिबाट मुलुकले त्राण पाउनेछ । अन्यथा हामीले क्रिया—प्रतिक्रियाको राजनीतिबाट मुक्ति पाउने छैनौं । दलहरूले हेक्का राखून्, हामीलाई रचनात्मक र सिर्जनात्मक राजनीति चाहिएको छ, प्रतिक्रियाको होइन ।