मिलन अमात्यलाई मनपर्ने पाँच गीत
भारतको आसाममा जन्मेर त्यहीँबाट संगीतयात्रा सुरु गरेकी गायिका मिलन अमात्य यतिबेला नेपाली सांगीतिक क्षेत्रमा क्रियासिल छिन् । विवाहपश्चात् नेपाल आएकी अमात्य अहिलेकी रुचाइएकी गायिकामध्येमा पर्छिन् । उनको दाम्पत्य जीवनमा दरार आए पनि यसबाट आफ्नो गायनयात्रा विचलित नहुने उनले स्पष्ट पारेकी छन् । चलचित्र, आधुनिक, पप सबै विधामा आफूलाई अब्बल सावित गरिसकेकी मिलन स्टेज कार्यक्रममा पनि उत्तिकै रुचाइएकी छन् । सुमधुर आवाजमा थुप्रै गीत गाए पनि आफैंले गाएकामध्ये उनलाई मनपर्ने पाँच गीतहरू यि हुन् :
१. जहिलेसम्म संसारमा
यो पहिलो एल्बम ‘मिलन’ मा रहेको गीत हो । यो गीतले मलाई नेपाली सांगीतिक क्षेत्रमा चिनायो । शब्द निकै अर्थपूर्ण छ । संगीत त्यस्तै राम्रो छ । धेरै फिलिङ्स बोकेको रोमान्टिक गीत हो यो । यसमा विजय कट्टेलको शब्द संगीत छ ।
२. आवाज देऊ
योगेन्द्रमणि दाहालको शब्द र कमल क्षेत्रीको संगीत रहेको यो गीत मैले गाएको सेन्टिमेन्टल गीतहरूमध्ये उत्कृष्ट लाग्छ । यसको मेलोडी मन छुने खालको छ । यसको शब्द पनि असाध्यै राम्रो लाग्छ । मलाईमात्रै होइन श्रोताले पनि यो गीत त्यतिकै रुचाउनुभएको छ ।
३. स्लोली स्लोली
डान्सिङ गीतमा स्लोली स्लोली र गाला रातै मलाई मन पर्ने गीत हुन् । स्टेज प्रस्तुति दिन एकदमै राम्रो गीत बनेको छ । दर्शक श्रोताले धेरै इन्जोय गर्नुहुन्छ । स्टेजमा जाँदा यही गीतको माग धेरै हुन्छ । स्टेजमा पुगेर मैले यो गीत गाउन थालेपछि आधा गीत त दर्शकले नै गाइदिनुहुन्छ । प्रह्लाद तिमिल्सिनासँग युगल गीत हो । अमृता नेपालको शब्द र वसन्त सापकोटाको संगीत छ । रेखा थापाको अभिनयले गीतलाई अझ राम्रो बनाएको छ । उहाँकै चलचित्र कालीको गीत हो ।
४. रिमझिम साउनमा
यो पनि मेरो पहिलो एल्बम मिलनमै समावेश गीत हो । सेमी क्लासिकल शैलीको गीत हो । यसको शब्दमा म्याचुरिटी छ । माया प्रेममै आधारित गीत हो । कतिपय गीतको शब्द, संगीत र स्वर म्याच भएको हुन्छ । यो गीत मलाई त्यस्तै लाग्छ । गाउँदा सुन्दा पनि आनन्द लाग्छ ।
५. के सम्झ्यौ मलाई
यो मेरो तेस्रो एल्बम ‘मिलन सञ्जोग’ को गीत हो । यो एल्बममा रहेको फरिया चौबन्दी पनि मन पर्ने गीत हो । तर त्योभन्दा के सम्झ्यौ मलाई नै बढी मन पर्छ । यो गीत छुट्टै भावको लाग्छ । शब्दको भावले मन छुन्छ ।