चाडबाडमा स्वस्थ्य रहने तरिका
![चाडबाडमा स्वस्थ्य रहने तरिका](https://annapurnapost.prixacdn.net/media/albums/55801D2F-77DB-A7A6-4B1F-9B6DF53691DC-59d718f5ebe199.60311504_0oKT16cGbj.jpg)
दसैं भर्खर सकिएको छ । तिहार नजिकिँदै छ । त्यसपछि अन्य चाडहरू पनि क्रमश:आउँदैछन् । चाडपर्वको मौसम भएकाले जहाँ गए पनि मीठामीठा परिकार खानुपर्ने अवस्था हुन सक्छ । आफन्तकोमा गएर केही नखाइदिए उनीहरू रिसाउन सक्छन् । आफन्तलाई खुसी पार्न र आफ्नो तौललाई सन्तुलनमा राखी स्वस्थ्य रहन सजिलो छैन । त्यसका लागि केही सजिलो उपाय अपनाउन सकिन्छ ।
प्रशस्तै मात्रामा पानी पिउने
पानी स्वस्थ्यका लागि लाभदायक भएको कुरामा शंका छैन । बेलाबेलामा पानी खाइरहने बानीले पेट भरिएको अनुभूति हुने हुँदा अन्य खानेकुरामा त्यति चाह नहुन सक्छ । त्यसैगरी खानाको अगाडि पानी पिउने गर्नाले पनि खाना कम खाने गरिन्छ । बिहान उठ्नासाथ मनतातो पानीमा कागतीको रस र थोरै मह मिसाएर खानाले तौललाई सन्तुलनमा राख्न सहयोग पुर्यालउँछ ।
खाना अगाडि सुप
खाना खानुअगाडि चिल्लो नभएको सुप वा प्रशस्तै मात्रामा सलाद खानाले अन्य खानामा कम रुचि भई खानामा बोसोको मात्रा कम गराउन मद्दत गर्छ ।
सधैंको मात्रामा खाने
चाडपर्वको बेलामा खाना खाने समय प्राय:ढिला हुने भएकाले भोक बढी लाग्न सक्छ । भोक लागेका बेला बढी खाना खानु स्वाभाविक नै हो । तर हामीले आफ्नो तौललाई सन्तुलनमा राख्ने हो भने नियमित खाने मात्रामा ध्यान दिएर त्योभन्दा बढी नखानु नै राम्रो हुन्छ ।
राम्ररी चपाएर खाने
एक अध्ययन अनुसार खाना राम्ररी चपाएर खाने महिलाले अन्य महिलाको भन्दा ७० प्रतिशत क्यालोरी कम पाउँछ । खानाको मात्रा कम गर्नाका लागि एक पटक खाना खाइसकेपछि चम्चा र काँटालाई प्लेटमा राखेर पुन:अर्को पटक खाँदा उठाउने गरेमा यसमा केही समय लाग्छ र खाना कम खाइन्छ ।
सानो प्लेटको प्रयोग गर्ने
ठूलो प्लेट वा ठूलो थालमा हालेर खानेले धेरै खाना खाने बानी पर्छ । त्यसैले सानो प्लेट, कचौरा वा गिलासको प्रयोग गर्नाले थोरै खाने बानी बस्छ । खानालाई विस्तारै चपाएर खाइसकेपछि मात्रै साह्रै नपुगेको खण्डमा केही मात्रामा थप्नुपर्छ ।
स्न्याक्स लुकाएर राख्ने
मानिसको पेट जति नै भरिए पनि अगाडि मीठो खानेकुरा देखेपछि थोरै भए पनि खान मन लाग्छ । त्यसैले सकेसम्म स्न्याक्सलाई आँखाले नदेख्ने ठाउँमा राख्नुपर्छ ।
भाँडाबाट सीधै नखाने
पकाएको भाँडाबाट वा खनाएर राखेको भाँडाबाट झिकेर खाने बानी गर्नुहुँदैन । खाना खाँदा जहिले पनि अर्को सानो प्लेटमा हालेर खाने बानी बसाल्नुपर्छ । भाँडाबाट सोझै झिकेर खाँदा धेरै खाइने हुनाले यसले तौल बढाउँछ ।
फाइबरयुक्त खाना खाने
फाइबरयुक्त खाना बढी खानु राम्रो हुन्छ । आँटा, ओट, गेडागुडी, फलफूल, तरकारीलगायतका खानेकुरा खाँदा यसमा भएका फाइबरले लामो समयसम्म भोक जगाउँदैन र शरीरलाई स्वस्थ राख्न सहयोग गर्छ । (एजेन्सीको सहयोगमा)
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)