'देवता'देखि मानवसम्म
अविछिन्न नौ वर्ष लामो 'देवता'को जीवन जिएर काठमाडौं इटुम्बहालकी मतिना शाक्य पुन: मानव जीवनमा फर्केकी छन् । आजभन्दा नौ वर्षअघि तीन वर्ष उमेरकी मतिनालाई काठमाडौंको राजकीय कुमारीको आसनमा विराजमान गराइएको थियो । त्यति बेला घरदेखि बोकेरै कुमारीघर पुर्याइएकी मतिना यसपालि गएको महाअष्टमीका दिन खटमा बसी घर फर्किन् ।
कुमारी-संस्कृति नेवार समुदायको एक विशिष्ट परम्परा हो, जसमा जीवित मानवलाई नै देवी कुमारीको रूपमा पूजा गरिन्छ । काठमाडौं उपत्यकाका तीनै सहर- काठमाडौं, भक्तपुर, ललितपुर मात्र नभई काठमाडौंभित्रै पनि किलाघल, मुंबहाल, साँखु, टोखा, पाटनको बुंगमती, नुवाकोटमा समेत जीवित देवी कुमारीको परम्परा रहेको पाइन्छ । त्यसमध्ये काठमाडौंको वसन्तपुरस्थित कुमारीघरमा रहने कुमारी यी सबैभन्दा विशिष्ट मानिन्छ । यी कुमारीलाई बर्सेनि राजासमेत आई पूजा गर्ने र ढोग्ने चलन छ । त्यसैले यसलाई लाय्कू कुमारी (राजकीय कुमारी) पनि भन्ने गरिन्छ । अरू सबै कुमारीभन्दा लाय्कू कुमारीलाई दिइने सम्मान र उनीप्रतिको आस्था पनि अधिक रहेको पाइन्छ ।
सामान्यतया यहाँ तीन÷चार वर्ष पुगेकी नेवार समुदायभित्रको शाक्य थरकी बालिकालाई कुमारीको आसनमा विराजमान गर्ने चलन छ । एकपटक कुमारी बनिसकेपछि रजस्वला हुने उमेरसम्म उनी आसनमा बस्न पाउँछिन् । मतिना शाक्यले पनि त्यही कारण १२ वर्षको उमेरमा आसन छोडेकी हुन्।
गएको महाअष्टमीका दिन ठीक १२:०२ बजेको साइतमा मतिनालाई आसनबाट बिदा गरी उनको ठाउँमा काठमाडौं पुन्छेगल्ली (ओमबहाल झोछेँसँगै) की तीन वर्षीया तृष्णा शाक्यलाई नयाँ कुमारीका रूपमा विराजमान गराइएको थियो । आसन त्यागपछि उनलाई सत्कारपूर्वक घर फिर्ता गर्न उनको परिवार, आफन्त, इटुम्बाहाल टोलका निवासीहरू बाजागाजासहित दलबलै कुमारीघर पुगेका थिए । कुमारीघरमा एउटा बेग्लै मेलाजस्तै भयो । पहिलेपहिले कुमारीघरमा कुमारी परिवर्तन गर्ने यो कार्य गोप्य रूपमै सम्पन्न गरिन्थ्यो । कुमारी फेरिइसकेको कुरा मानिसहरूलाई खास थाहै हुँदैनथ्यो । तर, गएका केही कुमारी परिवर्तनहरू सार्वजनिक घटनाजस्तै सम्पन्न हुन थालेका छन् । यसपालि त झन् विदेशी मिडियाको समेत बाक्लो सहभागिता थियो । कुमारी परिवर्तनको भोलिपल्टै अल जजिराले विशेष रिपोर्ट बनाएर प्रसारण गर्यो । एउटा जापानी टेलिभिजन टोलीले त कुमारी परिवर्तनको दुई साता अघिदेखि नै कुमारीको घर र उनको परिवारलाई पिछा गर्न थालिसकेको थियो ।
उनी घर फर्किन् । परिवारका सबै सदस्य खुसी छन् । तर, लगातार नौ वर्ष देवताको जीवन जिएर फर्केकी मतिनालाई मानव-जीवनमा अभ्यस्त हुन केही समय लाग्ने देखिन्छ । अब परिवारलाई यसैको चिन्ता छ ।'तर, हामीले यसको तयारी पनि गरिसकेका छौं', पूर्वकुमारी मतिनाका पिता प्रतापमान शाक्यले भने, 'हामीलाई थाहा छ, उनी कुमारीघरबाट आफ्नो घरमा फर्केकी मात्र होइनन्, देवताबाट मानवमा फर्केकी पनि हो । त्यसैले अलिकति तयारी त गर्नैपर्छ ।'
गएको भूकम्पमा प्रतापमानको घर पनि नराम्ररी चर्किएको थियो । त्यसैले उनले इटुम्बहालभित्रै खाली रहेको पुख्र्यौली जग्गामा नयाँ घर बनाए । र, पूर्वकुमारी छोरीलाई त्यही नयाँ घरमा स्वागत गरे । छोरीकै लागि उनले हतारमा घर निर्माण सकाएका थिए । कुमारीघरबाट फर्काएर घर भित्र्याउनुअघि उनलाई नयाँ दुलहीलाई जस्तै नै वज्राचार्य गुरुजुबाट पूजापाठ गरी स्वागत गर्नुपर्ने चलन छ । आफ्नो घर फिरेको चार दिनसम्म पनि उनलाई देवीकै दर्जा प्राप्त हुँदो रहेछ । त्यसैले मानिसहरू घरमै आएर उनको दर्शन गर्छन् । बडादशमीका दिन उनको हातबाट टीका थाप्नेहरूको लामै लाइन लाग्ने गर्छ । उनी पनि चार दिनसम्म कुमारीकै भेषमा बसेकी हुन्छिन् । उनको निधारमा रहेको तेस्रो नेत्र त्यति बेलासम्म पनि कायमै हुन्छ ।
नौ वर्ष 'देवता'को जीवन बाँचेर गएको महाअष्टमीदेखि फेरि मानव जीवनमा फर्केकी छन् काठमाडौं इटुम्बहालकी मतिना शाक्य ।
चौथो दिन कुमारीघर र तलेजु मन्दिरबाट मानिसहरू आएर उनको कपालको जगल्टा खोल्ने काम गरिन्छ । यसको साथै उनले लगाएको कुमारी-वस्त्र उतारी साधारण-वस्त्र प्रदान गरिन्छ । र, त्यसलगत्तै त्यही नयाँ वस्त्र पहिर्याई फेरि उनलाई कुमारीघरमै लगिन्छ । कुमारी आसनबाट उत्रेर घर फर्के पनि उनी बाहिर भने निस्कन पाउँदिनन् । आफ्नो घर आइसकेपछि उनले पहिलो पाइला राख्ने अर्को घर भनेको कुमारीघर नै हो । कुमारीघरमा गएर फर्केपछि मात्रै उनी अरू घरमा जान सक्छिन् ।
नौ वर्षपछि लगाएको पहिलो साधारण वस्त्र धारणपछि उनी पहिलोपटक कुमारीघर पुग्छिन् । कुमारीघरको उनी आफैं बस्ने 'देवता'-आसनमा नयाँ कुमारी बसिसकेकी हुन्छिन् । एक पूर्वकुमारीको हैसियतले उनी नयाँ कुमारीको पहिलो दर्शन गर्छिन् । त्यहाँ एउटा सानो पूजा पनि हुन्छ । बेलुकी परिवारका सदस्यहरू गएर उनलाई लिई पैदलै घर फर्कन्छन् । मतिना शाक्य कुमारीघरबाट पैदलै बाहिर हिँडेको त्यही पहिलोपटक हो । किनभने कुमारी भएदेखि उनको पाउले भुइँ छोएको छैन ।
त्यसैले गएको नौ वर्षदेखि उनी हिँडेर कहीँ पनि गएकी छैनन् । कुमारीले वर्षको १३ पटक कुमारीघरबाट बाहिर निस्किने अवसर पाउँछिन् । तर, हरेकपटक उनलाई बोकेरै लैजाने गरिन्छ । महानवमीको रात कुमारीघरदेखि तलेजु भवानीको मन्दिरसम्म कुमारीलाई हिँडाएरै लैजाने चलन छ । तर, त्यति बेला पनि उनी हिँड्ने बाटोमा कपडा (बासा) ओछ्याइएको हुन्छ ।
गएको एकादशीका दिन मतिना शाक्य कुमारीघरदेखि हिँडेरै आफ्नो घर आइन् । कुमारीघरदेखि उनी हिँडेर बाहिर निस्केको त्यही पहिलोपटक थियो । गाह्रो त लाग्छ नै होला । तर, यो गाह्रो उनलाई भन्दा पनि कुमारीघरमा उनको स्याहार गर्ने चिताइदार परिवारलाई बढी हुँदो रहेछ । तीन वर्षको उमेरमा कुमारीघर आएकी बच्चीलाई स्याहार्दा-स्याहार्दा कुमारी त चिताइदार परिवारको आफ्नै छोरीजस्तो लाग्दो रहेछ । नौ वर्ष लामो बसाइपछि कुमारीलाई बिदाइ गर्दा कुमारीघरमा रुवाबासी नै चल्दो रहेछ । अस्ति पनि त्यस्तै भयो ।
कुमारीघरका कुनै पनि सदस्यले आफूलाई थाम्न सकेनन् । सबैजना रोए । तर, मतिना भने आफूलाई थाम्दै बाहिर निस्किइन्, मानौं उनलाई केही भएकै छैन । कुमारीघरमा अब उनको हैसियत अन्माएर पठाएकी छोरीको जस्तो हुनेछ । उनी आफूलाई मन लागेको बेला कुमारीघर जान पाउँछिन् । बस्न पाउँछिन् । हरेक चाडपर्वमा कुमारीघरले उनी र उनको परिवारलाई नखत्या बोलाउने गर्छन् । पूर्वकुमारीको बिहे भएपछि उनको श्रीमान्लाई ससुरालीमा जस्तै कुमारीघरमा पनि दुलाहा भित्र्याउनु पर्छ । कुमारीघरले पूर्वकुमारीलाई पनि कुमारीसरह द्य:मय्जु भनेरै सम्बोधन गर्छन् ।
मतिना शाक्य अरू कुमारीका तुलनामा शान्त स्वभावकी छिन् । कम बोल्छिन् । भनेको मान्छिन् । जिद्दी गर्दिनन् । घरमा आफ्नै उमेरका धेरैजना आफन्त साथीहरू आइरहेकाले अहिले उनको मन पनि रमाएको छ । घर आएदेखि उनी खेलेको खेल्यै छिन् । पहिलो रातदेखि नै उनी आरामपूर्वक निदाएको पिता प्रतापमानले बताए । घरको सबैभन्दा माथिल्लो तलामा उनको कोठा बनाइएको छ । आफ्नै दिदी मिजलालगायत अरू दिदीबहिनीसँगै उनी सुत्ने गर्छिन् ।
यही साल उनी कुमारी आसनबाट झर्ने निश्चित भएकाले उनलाई मनोवैज्ञानिक रूपले तयार गर्न परिवारका तर्फबाट प्रयास सुरु भइसकेको थियो । उनका लागि बनाइएको नयाँ घर, उनको कोठा आदिका फोटोहरू लगेर उनलाई देखाइएको थियो । उनी दंग परेकी थिइन् ।
घर आइसकेपछि अब उनलाई मानवका रूपमा गर्नुपर्ने विभिन्न सामाजिक संस्कारहरू सम्पन्न गरिनेछन् । सबैभन्दा पहिले नेवार परम्पराअनुसार इही कर्म अर्थात् बेलविवाह गरिनेछ । सामान्यतया इही सामूहिक रूपले गरिने कर्म हो । तर, मतिनाको भने एक्लै इही गर्नुपर्ने हुन्छ । इहीपछि गरिने अर्को कर्म बाह्रा अर्थात् गुफा राख्ने हो । रजस्वलाअघि नै गरिने यो कर्म पनि अब छिटै सम्पन्न गर्ने योजनामा छन् पिता प्रतापमान । पूर्वकुमारीको इही र बाह्रा दुवै कर्म काठमाडौंको बिजेश्वरी मन्दिरमा गरिने चलन छ ।
गणतान्त्रिक नेपालको पहिलो कुमारी हुन्, मतिना शाक्य । उनीभन्दा अघिका सबै कुमारीले राजालाई टीका लगाएका थिए । मतिनाले पहिलो राष्ट्रपति डा. रामवरण यादवलाई टीका लगाइन् । तर, उनको हातबाट टीका लगाउन पूर्वराजा ज्ञानेन्द्र पनि आउन छोडेनन् ।
पूर्वकुमारी मतिनाका लागि अब तत्कालै आउने अर्को चुनौती भनेको उनको पढाइ हो । पहिलेपहिले त कुमारीलाई पढाइँदैनथ्यो । तर, अहिले कुमारीलाई कुमारीघरमै शिक्षकको व्यवस्था गरी पढाउने प्रबन्ध मिलाइएको छ । मतिनाले पनि त्यसरी नै पढेकी हुन् । उनी काठमाडौं भोटेबहालस्थित ग्रिन पिस सेकेन्डरी स्कुलमा कक्षा ७ की विद्यार्थी हुन् । नौ वर्षपहिले कुमारी चयन हुनुअघि नै उनी उक्त स्कुलकी विद्यार्थी थिइन् । कुमारी चयन भइसकेपछि सोही स्कुलले कुमारीघरमै गएर पढाउने दुई शिक्षकको व्यवस्था गरिदिएको थियो । कुमारीको पढाइका लागि हरेक दिन दिउँसो १२ देखि साँझ ४ बजेसम्म कुमारीघरमै समय मिलाइएको हुन्छ । त्यो समय कुमारीको दर्शन र पूजा पनि बन्द गरिन्छ । बेलुकी होमवर्कको समय हुन्छ । स्कुलबाट नियमित लिइने परीक्षा दिएरै मतिना कक्षा ७ पुगेकी थिइन् ।
उनको कक्षाकोठा वा घर जे भने पनि कुमारीघरको त्यो चार दिवार नै हो । तर, हिँडडुलका हिसाबले कुमारीघरभित्र मात्रै सीमित रहे पनि इन्टरनेटको माध्यमले कुमारी माजु पनि बाहिरी संसारसँग परिचित भने छिन् । उनी कुमारीघरमा कम्प्युटर, ल्यापटब, मोबाइल सबै चलाउँछिन् । उनको आफ्नै ल्यापटब र मोबाइल पनि छ । अहिलेका अरू केटाकेटीसरह उनी पनि इन्टरनेटबाटै गेम डाउनलोड गरी खेल्ने गर्छिन् । यसमा अत्यन्त निपुण छिन् उनी । इन्टरनेटमा सहज पहुँच भएको कारणले अहिले कुमारीलाई एउटै घरभित्र थुनियो भन्नुपर्ने अवस्था छैन ।
स्मुल खुलेपछि उनी हालकै ग्रिन पिस स्कुलमा अरू विद्यार्थीजस्तै युनिफर्म लगाएर पढ्न जानेछिन् । सधैं कुमारीको युनिफर्ममा रहने मतिना शाक्य त्यसपछि स्कुलको युनिफर्ममा सजिनेछिन् । स्कुलमा उनको पढाइ सहज होस् र उनलाई कुनै कठिनाइ नहोस् भनी स्कुलले पनि विशेष व्यवस्था गरिसकेको छ । स्कुलकी प्रिन्सिपल पेमा योञ्जन राज्यले नै सम्मान गरिएका पूर्वकुमारीलाई आफ्नो स्कुलमा विद्यार्थीका रूपमा भित्र्याउन पाउनुलाई आफ्नो भाग्य ठान्छिन् ।
मतिना स्कुल आउने दिन स्कुलमा एउटा विशेष कार्यक्रम नै गरी उनलाई स्वागत गर्ने तयारी भइरहेको छ । त्यो दिन स्कुलका लागि एउटा अत्यन्त खुसीको दिन हुने विश्वास गरिएको छ । महाअष्टमीका दिन कुमारीघरदेखि इटुम्बहालसम्म भएको शोभायात्रामा स्कुलकी प्रिन्सिपल, सञ्चालक समितिका अध्यक्षलगायत अरू शिक्षकहरूले पनि भाग लिएका थिए । कक्षा ७ मा पढ्ने विद्यार्थी स्कुलको ब्यानरै बोकेर र्यालीमा सहभागी भएका थिए ।
स्कुल जानुअघि नै आफ्ना सहपाठीसँग परिचय होस् भनेर केही महिनाअघि मात्रै उक्त स्कुलमा कक्षा ७ पढ्ने सम्पूर्ण विद्यार्थीलाई कुमारीघरमा ल्याएर कुमारी दर्शन एवं चिनापर्ची गराइएको थियो । भगवान्का रूपमा पुजिने कुमारी माजु पनि आफूसँगै पढ्न आउने कुराले विद्यार्थीहरू अत्यन्त उत्साहित छन् ।
रमाइलो प्रसंग के भने हाल इन्द्रजात्रामा कुमारीको रथसँगै अर्को रथमा चढाएर जात्रा गर्नुपर्ने द्य:भाजु श्रीगणेश पनि सोही स्कुलको कक्षा ७ मै पढ्ने गर्छन् । अब पूर्वकुमारी मतिना पनि सोही स्कुलमा आउने भएकाले कक्षा ७ को एउटा सेक्सनमा पढ्ने विद्यार्थीहरू गणेश अर्को सेक्सनमा पढ्ने भएकाले कुमारीलाई चाहिँ आफ्नो सेक्सनमा पारिदिनु पर्यो भनी प्रिन्सिपललाई निवेदन दिन आइरहेका छन् ।
नौ वर्षसम्म सबैबाट भगवान्सरह सम्मान लिँदै आएकी मतिनालाई अब एकैचोटि अरू बालबालिकासरह घुलमिल हुन अप्ठेरो होला कि भन्ने थोरै चिन्ता पिता प्रतापमानलाई लागिरहेको छ । भगवान्बाट एकैचोटि मानवमा अवतरण हुँदा मनोवैज्ञानिक असर पर्ने हो कि भनी चिन्ता लाग्नु स्वाभाविकै हो । तर, यसअघिका सबै पूर्वकुमारीले यो संक्रमणकाल सजिलै पार गरेकाले आफ्नी छोरीलाई पनि खासै समस्या नपर्ने विश्वास पिता शाक्यले लिएका छन् । तर, स्वयं मतिनाकै दिमागमा यति बेला के चलिरहेको छ भने अझै अभिव्यक्त हुन पाएको छैन ।
नेपालको कुमारी परम्पराको इतिहासमा मतिना शाक्य एक ऐतिहासिक कुमारी पनि हुन् । गणतान्त्रिक नेपालको उनी पहिलो कुमारी हुन् । उनीभन्दा अघिका सबै कुमारीले राजालाई टीका लगाएका थिए । मतिनाले पहिलो राष्ट्रपति डा. रामवरण यादवलाई टीका लगाइन् । तर, उनको हातबाट टीका लगाउन पूर्वराजा ज्ञानेन्द्र पनि आउन भने छोडेनन् । वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा पनि नेपाली कांग्रेसको सभापति पदमा निर्वाचित हुनेबित्तिकै सबैभन्दा पहिले उनै कुमारीको हातबाट टीका थाप्न पुगेका थिए ।
गएको २०७२ वैशाख १२ गते महाभूकम्प आउँदा मतिना नै कुमारी आसनमा विराजमान थिइन् । यो भूकम्पले कुमारीघर रहेको वसन्तपुर क्षेत्रमै सबैभन्दा बढी क्षति गर्यो । काष्ठमण्डप, नौतले दरबार, माजु देग:, दस अवतार देग: आदि धेरै सम्पदा क्षति भए पनि कुमारीघर भने ढल्न सकेन । तथापि कुमारीघर पनि भूकम्पले धेरै ठाउँमा चर्किन पुगेको छ ।
उनी कुमारी रहेकै बखत सरकारले इन्द्रजात्रा पर्वका लागि दिँदै आएको पूजाखर्च कटौती गरेका कारण काठमाडौंका जनताले जात्रै रोकिने गरी आन्दोलन गरेका थिए । जात्राको अन्तिम दिन तानिइसकेको रथलाई बीचैमा छोडेर कुमारीलगायत गणेश र भैरवलाई समेत बीच बाटोबाटै उठाएर लैजानु परेको थियो । पृथ्वीनारायण शाहले काठमाडौंमा हमला गर्दाबाहेक अरू बेला कुमारीको रथ तान्दातान्दै यसरी बीचमा छोड्नु परेको इतिहास छैन ।
उनका पिता प्रतापमान शाक्य आफैं पनि जाति, भाषा आन्दोलनका एक अभियन्ता हुन् । उनी नेपाल लिपि गुठीका पूर्वअध्यक्ष पनि हुन् । त्यसैले आफ्नै छोरी कुमारी भएका बखत उनले कुमारीलगायत गणेश र भैरवको परम्परामा समेत धेरै सुधारका कार्य गरे । कुमारीका लागि नयाँ खटको व्यवस्था, गणेश र भैरवका लागि पनि नयाँ खटको निर्माण, श्रीपद भत्तामा वृद्धि, शिक्षाको व्यवस्था आदि विषयमा थिति बसाल्ने काम उनले गरे ।
अब नयाँ आउने कुमारीले सरकार, काठमाडौं महानगरपालिका आदि निकायबाट समेत गरी मासिक ५० हजार रुपैयाँ जतिको सुविधा पाउने अवस्था भएको छ । तर, यो भत्ता सरकारले जनताको कर काटेर तिर्नु नपरेको तर्क शाक्य गर्छन् । उनको भनाइ छ, 'कुमारीको आफ्नै सयौं रोपनी जग्गा थियो, त्यो जम्मै गुथि संस्थानले आफ्नो नाममा सार्यो । जग्गा लिएपछि परम्परा चलाउन खर्च त दिनैपर्यो । त्यो जग्गा अझै कुमारीकै नाममा भएको भए यो परम्परा र यससम्बन्धी कुनै पनि जात्रा चलाउन सरकारसामु हात फैलाउनुपर्ने अवस्थै आउने थिएन ।'
मतिना शाक्यपछि अब नयाँ कुमारीका रूपमा काठमाडौं ओमबहाल टोलका विजय शाक्य र सिर्जना शाक्यकी छोरी तृष्णा शाक्य आसनमा विराजमान भएकी छन् । कुमारी नयाँ आए पनि जीवित देवी कुमारीप्रतिको आमआस्था र श्रद्धा भने पुरानै कायम छ । नेपालको अत्यन्त मौलिक परम्पराका रूपमा विद्यमान कुमारीप्रतिको यो आस्था अझै फैलिँदो छ भन्ने कुरा यसपालि कुमारी परिवर्तनको समाचार संकलन गर्न विदेशबाट समेत थुप्रै सञ्चारमाध्यम आएबाट पनि थाहा लाग्छ ।