ड्राइभर लल्लन
ओला र उबर क्याब सुविधाले भारतका मुख्य सहरभित्र आफ्नो गन्तव्यमा पुग्न गाह्रो हुन्न । जीपीआरएसमा आफू चढेको स्थान र गन्तव्य हालेपछि बीचमा हराइएला भन्ने हुँदैन । मोबाइलमा एप डाउनलोड गरेपछि ओला-उबर चल्ने कुनै पनि सहरमा हराइँदैन । दिल्लीमा त्यसको अभ्यस्त म यस्ता क्याब चल्ने सहरमा हराउँदिनँ भन्नेमा ढुक्क छु । मायानगरी मुम्बई घुम्नका लागि ओला-उबरकै भरमा थिएँ । तर, सहृदयी मित्र सुनिलजीले मुम्बई घुमाउन एउटा गाडी र ड्राइभर उपलब्ध गराइदिए।
ड्राइभर लल्लन जीपीआरएसभन्दा कम थिएन । मुम्बई घुम्नु छ भनेपछि गाडी हुइँक्याइहाल्यो । बिहारको दरभंगा जिल्लाबाट आएको ऊ अलिअलि नेपाली पनि बुझ्दो रहेछ । के-के बुझ्छ भनेर सोधेँ । 'सबै कुरा बझ्छु तर बोल्न सक्दिनँ', लल्लनले भन्यो । अझ जनकपुर-जयनगर-बर्दिबाससम्म रेल चढेर बर्दिबास पुगेको सुनायो । कम बोल्छ लल्लन भनेर सुनिलजीले पूर्वजानकारी दिएका थिए । पत्रकारको संगतमा ढुंगा त बोल्छ भन्छन्, लल्लन कसरी चुप रहन्थ्यो । परिवारमा श्रीमती, बाबुआमा र एउटा भाइ रहेछ । जेठो सन्तान ऊ कमाउनका लागि १२ वर्षअघि मुम्बई छिरेको रहेछ । नेपालीको संगतमै पाँचसात वर्ष बिताएको उसले 'राम्रो हुनुहुन्छ', 'ठीक छ'जस्ता केही नेपाली शब्द जानेको रहेछ ।
पाँच वर्ष बिताइसकेको दिल्लीकै सडकहरू पत्ता पाइनसकेको म त ओला-अबर र अटोकै भरमा घुम्छु । अझ सबैभन्दा सजिलो मेट्रो, यो पनि नभएको भए त दिल्लीकै गन्तव्य पत्ता लगाउन कठिन छ । आसपासका सहयात्री मेरो जोग्राफी ठीक गर्दागर्दा हैरान भइसके । आठ वर्षको अन्तरालमा आएको यो मुम्बईमा दुई दिनमा म के थाहा पाउँथे ! गन्तव्यमा पुग्न कि त ड्राइभरको भर छ कि त जीपीआरएसको । कहिलेकाहीँ त जीपीआरएसले पनि बाटो झुक्याउँछ । तर, लल्लन परफेक्ट ! जहाँ भन्यो ठयाक्कै त्यहीँ पुर्यायो ।
उसले यहाँ आएपछि भाँडामात्र माझेन, सरसफाइ र कार्गो कम्पनीमा समेत काम काम गर्यो । गाडी चलाउन सिकेर अहिले यो पेसामा स्थिर भएको रैछ । नेपाली व्यवसायीको विश्वासपात्र भएर गाडी चलाएको छ । महिनाको १२ हजार रुपैयाँ कमाउँछ, खानबस्न कम्पनीले नै दिने हुँदा १० हजार रुपैयाँजति बचाएर परिवारलाई पठाउँछ ।
मुम्बई घुमाइको पहिलो गन्तव्यको सुरुआत बान्द्रा-बर्ली जोड्ने सी-लिंक । साँझमा फर्किने क्रममा यसको अद्भुत सुन्दरतालाई क्यामेरामा कैद गर्न उसले गाडीको स्पिड कम गरिदियो ।
गाडी हुइँक्याउँदै गयो, मेरो जिज्ञासा अनि उसको जवाफकै क्रममा मुम्बईको प्रसिद्ध बान्द्रा-बर्लीको टोल ट्याक्स भारतीय ६० रुपैयाँ तिरेपछि सी-लिंकमा हामी प्रवेश गर्यौं । पाँच दशमलव ६ किलोमिटर लम्बाइ रहेको यो पुलमा गाडी भित्रबाटै फोटो क्लिक गर्दै थिएँ । केही पर पुगेपछि उसले गाडी रोक्यो । किन रोकेको भनेर सोधेँ । 'यहाँ गाडी रोक्न पाइन्न तर तपाईं बाहिर निस्केर छिटोछिटो फोटो खिच्नुस्', उसले भन्यो ।
सी-लिंक पुलमा गाडी रोक्न पाइन्न, जरिवाना तिर्नुपर्छ । तर, फोटो खिच्ने मौका म पनि कहाँ गुमाउन चाहन्थेँ र ! गाडीबाट हतारहतार उत्रेर स्पिडमा क्यामराको बटन थिचेँ, क्लिक्... क्लिक् ।
मुम्बई घुमाइको पहिलो गन्तव्यको सुरुआत बान्द्रा-बर्ली जोड्ने सी-लिंक । साँझमा फर्किने क्रममा यसको अद्भुत सुन्दरतालाई क्यामेरामा कैद गर्न उसले गाडीको स्पिड कम गरिदियो । पहिलो भेटमै लल्लनले राम्ररी बुझेको थियो, म के चाहँदैछु भनेर । अनि मेरो लेन्सले झमक्क साँझमा देखिएको आकाश र झिलिमिली उज्यालोमा देखिएको सी-लिंकको सुन्दरतालाई फेरि दोहोर्याएर गर्यो क्लिक्...
दक्षिणी मुम्बईलाई पश्चिम सीमासँग जोड्नका लागि बान्द्रा-वर्ली सी-लिंकको अवधारणा ल्याइएको थियो।
केन्द्रमा काँग्रेस आईको सरकार
(प्रधानमन्त्री मनमोहन सिंह) तथा महाराष्ट्रमा सबैभन्दा बलियो राजनीतिक शक्तिका रूपमा रहेको शिवसेनाका प्रमुख बाल ठाकरेको दबदबा रहेको समयमा यो पुल शिलान्यास भएको थियो । बाल ठाकरेले सन् १९९९ मा शिलान्यास गरेको यो पुलको निर्माणको जिम्मा महाराष्ट्र स्टेट रोड एन्ड डेभलपमेन्ट कर्पोरेसन (एमएसआरडीसी)को मातहतमा हिन्दुस्तान कन्स्ट्रक्सन कम्पनीले आयोजना व्यवस्थापन गरेको थियो । परियोजना प्रमुखका रूपमा बेलायती नागरिकले काम सम्पन्न गरेका थिए।
१० वर्षमा निर्माण सम्पन्न भएको आठ लेनको यो पुल मुम्बईवासीको आवतजावतका लागि सन् २००९ जुन ३० का दिन चार लेन मात्र खुला गरिएको थियो । सन् २०१० मार्च २४ देखि पूरा आठ लेन खुला गरिएको हो । पुलमा दैनिक औसत ३७ हजार पाँच सय गाडीको आवतजावत हुन्छ । पुल निर्माणपछि पिक आवरमा बान्द्रा बर्लीको ६० देखि ९० मिनेटको यात्रा २० देखि ३० मिनेट भएको छ । काँग्रेस आईको सरकारको समयमा निर्माण भएको यो पुलको अफिसियल नाम राजीव गान्धी सी-लिंक हो ।