पाठशाला एक तीर्थयात्रा

पाठशाला एक तीर्थयात्रा

मृत्युसँग एकबाजी गतिलो गरी जुधेपछि बल्ल आफ्नो सक्कली पहिचान लिएर आएका छन्- तीर्थ गुरुङ । नभए त उनी अल्पभासी, अन्तर्मुखी थिए । मुखर हुनु उनको रुचिको विषय थिएन । कवि भूपिनका शब्दमा 'नेपथ्यमा बस्न रुचाउँथे' उनी । अनेकौं गल्छेडा पार गर्दागर्दै जिन्दगी मृत्युको गहिरो गल्छीमा फसेपछि उनी झल्याँस्स भए ।

laxman-presitबोध गरे- मृत्युको चिसो चुम्बन जति बेला पनि पर्न सक्छ र यो दु:खसुखले भरिएको संसारबाट कुनै पनि बेला बिदा माग्न सकिन्छ । मृत्युको एक झोक्का सिरेटोले उनमा जीवनबोध भएको छ । सरल भाषामा त्यो बोध व्यक्त गर्छन्, 'पहिला जीवन लामो लाग्थ्यो र गरिरहुँला नि जस्तो लाग्थ्यो, अहिले जीवन छोटो र महत्र्वपूर्ण लाग्छ । केही काम नगरी पो मरिन्छ कि जस्तो लाग्छ ।' यही बोधको प्रतिफल हो- पाठशाला । नेपाली साहित्यमा एउटा भिन्नै खालको उपन्यास ।

स्थानीय साहित्यिक मण्डलीमा राम्रै पहिचान बनाएर पनि लामो गुप्तवासमा रहेका तीर्थको दोस्रो उपस्थितिको सुरुआत भने मौनतापूर्वक भयो । कतिसम्म भने उनका प्रकाशकले 'पुस्तक विमोचन' नामको औपचारिकता पूरा गर्ने मौका पनि पाएनन् । यो मौनताका कारणहरू छन् । सायद देवनारायण प्रधानको स्वरबाट बढी नै प्रभावित छन् उनी । यो मौनताको कारणलाई नभनेरै मीठो बनाउन चाहन्छन् । आगमन जतिसुकै मौन भए पनि उनको उपस्थिति त्यति मौन छैन । नेपाली साहित्यको प्राय: स्थिर रहने तलाउमा उनले चुपचाप एउटा ढुंगा हानिदिएका छन् । त्यसले जन्माएको तरंगहरूको लहर सामाजिक सञ्जालदेखि चिया गफसम्म ठोक्किइरहेका छन् । यो लेखोट त्यही तरंगपछाडि उभिएको मानिसको कथा हो ।

भर्तीको गल्छेडो

को हो तीर्थ गुरुङ ? प्रश्नको उत्तर सजिलो र जटिल दुवै छ । केही कप कफी गफकै माध्यमबाट कोरेको उनको चित्रमा रङको कमी हुनसक्छ । पातलो र छोटो कपाल, आम गुरुङजस्तै सौम्य अनुहार, अनि ओठबाट हम्मेसी भाग्न नमान्ने मुस्कान, मधुर आवाज, सम्मान जताइरहने स्वभाव । यी र यस्तै आवरणबाट सुरु गर्नुपर्छ तीर्थको रेखाचित्र । मिलनसार र नम्रता उनको चित्रमा सबैभन्दा बढी गाढा हुने रङ हुन् । उनका पुराना साथी भूपिन भन्छन्, 'आँखामा राख्दा पनि नबिझाउने मानिस यदि कसैलाई भनिन्छ भने मेरो लागि एकजना व्यक्ति तीर्थ हो ।' त्यसैमा थप्छन् रोशन शेरचन पनि । शेरचनको शब्दमा 'सफा हृदय र मिलनसारिता तीर्थको असल गुण हो ।'

मृत्युको एक झोक्का सिरेटोले तीर्थ गुरुङमा जीवनबोध भएको छ । सरल भाषामा त्यो बोध व्यक्त गर्छन्, 'पहिला जीवन लामो लाग्थ्यो र गरिरहुँला नि जस्तो लाग्थ्यो, अहिले जीवन छोटो र महत्वपूर्ण लाग्छ । केही काम नगरी पो मरिन्छ कि जस्तो लाग्छ ।'

पोखरेली युवा सांस्कृतिक परिवारको आँगनबाट कविको पहिचान स्थापित गरेका तीर्थको जीवनकथा बीसको दशकको पुछारबाट सुरु हुन्छ । बाक्लो गुरुङ बस्ती भएको कास्कीको सिकलेसमा बीसको दशकको पुछारतिर तीर्थको जन्म भएको थियो- असारमा, कोदो रोप्दारोप्दै बारीमा । त्यहीँ बित्यो उनको बालापन । पढालिखा परिवार उनको भागमा थिएन । गाउँ नै अशिक्षित थियो । भारतीय सेनामा गएकाले केही साक्षर भएका बा नै परिवारका सबैभन्दा पढेका मान्छे थिए । 'नयाँ शिक्षा' लागू हुँदै गरेको समय थियो त्यो । शिशु कक्षामा धूलोमा औंलाले लेखेर अक्षर चिनेको धमिलो सम्झना छ तीर्थसँग अहिले पनि । बाह्रखरी पढ्दा मात्र आधा भए पनि सिसाकलम प्रयोग गर्न पाएको अनुभूति सहजतापूर्वक सुनाउँछन् ।

गण्डक भेकको गुरुङ भईकन पनि भर्ती नहुनु वा भर्तीको लागि प्रयास नै नगर्नु तीर्थको पृथक विशेषता हो । पश्चिम भेगका मगर र गुरुङलाई राज्य संयन्त्रले बेलायती वा भारतीय गोर्खा फौजमा भर्ती हुनु प्रारब्धजस्तो बनाइदिएको छ । 'छोरा जन्मे अंग्रेजी राजालाई', गीत नै चर्चित थियो त्यस भेकमा कुनै बेला । झलकमान गन्धर्वको चर्चित कर्खा गीत 'हे बरै' त्यही शासक रचित प्रारब्धको उपज थियो । नसा-नसामा लाहुरे हुने नस पसाइएको समयमा पनि तीर्थ गुरुङ लाहुरे हुने चाहनाबाट परै रहनु अपवादजस्तै थियो । यो अपवादको बीउ रोपिएको थियो १० वर्षे उमेरमै ।

गाउँकै 'अन्नपूर्ण निमावि' (अहिले मावि)मा ४ कक्षा पढ्दापढ्दै ठूलोबासँग भारत नागाल्यान्डको डिमापुरमा यूकेजीमा भर्ना हुन पुगेका थिए उनी । त्यहाँ अंग्रेजीको सामान्य आधार पनि बन्यो उनको । र, त्यहीँ कोरियो लाहुरे नहुने सपना । गोर्खा फौजमा भर्खर भर्ती भएका रेक्रुटहरूलाई तालिम दिइन्थ्यो त्यहाँ । उनीहरूलाई गरिने व्यवहारले तीर्थलाई बाल्यकालमै लाहुरे जीवनसँग मोहभंग गरिदियो । 'त्यहाँ रेक्रुटहरूप्रति गरिने व्यवहारले लाहुरे नहुने विचार पलायो', उनी भन्छन् ।

दुई वर्ष नागाल्यान्डको हावापानी खाएपछि गाउँ फर्किए उनी । स्कुलका अब्बल विद्यार्थी थिए । शिक्षकका प्रिय पनि । त्यहीँ स्वाद पाए नेपाली भाषाको मिठासको । नेपाली पढाउने गुरु रामचन्द्र पोखरेलले तीर्थलाई नेपाली भाषाको मिठास मात्र चखाएनन्, उनलाई पोखरामा पढाउन सल्लाह र दबाब दिए तीर्थका बुवालाई । त्यो दबाबको गुह्य कारण अर्कै थियो । भन्छन्, 'दुई घन्टा उकालो-ओह्रालो गर्नुपर्ने गाउँकै हाइस्कुलमा पढेको भए लाहुरे हुन सम्भावना अभैm रहन्थ्यो ।'
यो पहिलो र महत्र्वपूर्ण मोड थियो, तीर्थको जीवनमा । त्यही मोडले उनको बाटो मोडिदियो । लाहुरे बनेनन्, लेखक बने । लाहुरे भएको भए उनको जीवनमा यतिसाह्रो उतारचढाव पनि आउँदैनथे, सायद । तर, स्वभाव पनि त दुस्मन थियो उनको । अन्तर्मुखी स्वभाव लाहुरे जीवनसँग सम्भवत: मेल खाँदैन ।

यही अन्तर्मुखी स्वभावले तीर्थलाई पढन्ते बनाइदियो । बाहिरी दुनियाँसँग वाचाल नभएपछि उनले सानैदेखि किताबहरूसँग संवाद सुरु गरे । 'युधीर थापा र प्रकाश कोविदका उपन्यास पढेर म बिग्रिएँ', आफ्नो पठन अनुभव सुनाउँछन् । रुसी साहित्य, खास गरी गोर्कीका आत्मकथाले थापा र कोविदले 'बिगारेको' पाठकलाई सही बाटोमा ल्याइदिए । बीपी कोइरालाका कथा, उपन्यासले साहित्यको दुनियाँमा हराउन मद्दत गरेको स्वीकार्छन् उनी । अनि लेखनको बीउ पनि तिनै किताबले रोपिदिए मस्तिष्कमा । भन्छन्, 'पारिजातको शिरीषको फूल, सरुभक्तको पागल बस्ती, ओर्वेलको १९८४, मार्केजको सय वर्षको एकान्तबास, दोस्तोएवस्कीको अपराध र दण्ड, कामुको आउडसाइडर, काफ्काको मेटामर्फोसिस आदिले मलाई लघुताभाषमा भासिदिए पनि तिनले ममा लेख्ने दुस्साहस भरिदिए ।'

स्कुले जीवनलाई उस्तोसारो महत्र्व दिँदैनन् उनी । आफ्नो स्कुल-जीवन एकदम साधारण र सरल रेखामा गएको टिप्पणी छ उनको । स्कुले जीवनबारे उनको संक्षिप्त सम्झना छ, 'काठको फल्याकमाथि बस्न पाइएन भने ढुंगामाथि ध्वाँसो लागेको बख्खु ओछ्याएर शिक्षकहरूको लौरो वा सिस्नोबाट बच्नका लागि मात्र पढेँ । डरले र अन्तर्मुखी स्वभावले होला, स्कुलमा चाहिँ 'राम्रो' विद्यार्थी थिएँ ।'

 

नबोल्ने पाठक

अन्तर्मुखी स्वभाव र पठन-लत तीर्थको व्यक्ति-स्केचका नछुटिने धर्साहरू हुन् ।'तीर्थ आख्यानको ईष्र्यालाग्दो अध्येता, प्राय: नेपथ्यमा बस्न रुचाउने अलिक अन्तरमुखी स्वभावको कवि र विश्वघटनाबारे जहिल्यै अपडेट हुन रुचाउने सिर्जनशील मानिस हो', कवि भूपिनले दिने यो एक वाक्यको परिचयमा तीर्थको जीवन रङ राम्रैसँग आउँछ । तीर्थबारे यति भन्न भूपिन आधिकारिक पनि हुन् । पोखराको भद्रकाली स्कुलबाट एसएलसी दिएपछि पृथ्वीनारायण क्याम्पसमा आईएस्सीको विद्यार्थीका रूपमा भर्ना हुँदा तीर्थको मिल्ने साथीमध्ये एक थिए- भूपिन ।

अन्तर्मुखीको हद थिए तीर्थ । केटाहरूसँग त बोल्न दकस मान्ने उनको विपरीत लिंगीसँग बोलचाल गर्ने कल्पना गाह्रो पथ्र्यो । 'उनीहरूको अगाडि बोल्न खोज्दा स्वर नै फेरिएजस्तो हुन्थ्यो, त्यसैले बोल्दै बोल्दिनथेँ', कलेज लाइफका दिन सम्झन्छन् तीर्थ । यी अल्पभाषीलाई मुखर बनाउन के मात्र गरेनन् भूपिन एन्ड कम्पनीले । विपरीत लिंगीसँग वाचाल गराउनकै लागि ट्युसन पढ्न पठाउने जुक्ति उनीहरूकै थियो ।

आफ्नो अल्पभाषीपनको मीठो स्पष्टीकरण पनि छ तीर्थसँग । 'म अल्पभाषी छु, कारण मलाई बोल्न आउँदैन र मलाई के लाग्छ भने हामी जति धेरै बोल्छौं त्यति गल्तीहरू हुने सम्भावना रहन्छ', यो स्पष्टीकरणमा उनको चारित्रिक विशेषतालाई असल भन्न मिल्ने रङहरू फेला पर्छन् । र, त कवि सरिता तिवारी उनलाई 'साह्रै असल मानिस, सौहार्द र जिम्मेवार कविका रूपमा' चिनाउँछिन् ।

पोखरेली साहित्यकारले चलाएको 'संरक्षण कविता आन्दोलन'का एक सदस्य थिए तीर्थ । त्यसकै एक सहयात्री थिइन्- सरिता । गाउँगाउँ पुगेर कविता लेख्ने-सुनाउने उनीहरूको यात्रामा तीर्थ केही मुखर भएका हुन् । त्यहीँ उजागर भएको हो उनको व्यक्तित्व । सरिता भन्छिन्, 'तीर्थ असाध्यै गम्भीर पाठक हुन् । यात्राका क्रममा उनले पढ्दै गरेका वा पढिसकेका किताबको बयान गरेको सुन्थें ।'
पठनका अम्मली थिए उनी । भूपिनका शब्दमा 'चामल किन्नुपर्ने समयमा किताब किन्न दौडिन्थे ।' 'रिडर्स डाइजेस्ट', 'टाइम' र 'नेसनल ज्योग्राफी'जस्ता म्यागजिनका नियमित ग्राहक थिए । पोखराका गोर्खापत्र बाजे र जोशी पुस्तक पसलबाट नियमित 'टाइम' म्यागेजिन किन्ने चार-पाँचजनामा पर्थे तीर्थ।

उनी आफैंलाई भोरासियस वा एभिड रिडर मान्न तयार छैनन् । 'मैले चाहेजस्तो पढ्न पाएको छैन', उनको पठन-अनुभव छ, 'पागल बस्तीले मलाई केही दिन नभई हप्तौं रन्थन्याएकै हो । वान हन्ड्रेड इयर्स अफ सलिच्युड पढिसकेपछि मलाई केही दिन त खान पनि रुचेको थिएन ।'

त्यसो त रुचिका अरू आयाम पनि छन् उनका । संगीत उनको अर्को सोख हो । मोजार्ट, विथोविनबाट सुरु हुने उनको संगीत-परख बब मार्लीदेखि हिन्दी गीत र नारायणगोपाल, अरुण थापा, अमृत गुरुङ, सुरेश कुमारसम्म जान्छ । पाएसम्म उनी चिनियाँ, जापानिज धुन र संगीत पनि सुन्छिन् । स्लो रक, ब्लुज उनको रुचिमा पर्छ । केनी रोजर, इरिक क्ल्याप्टन, जन लेनन मन पर्ने सूची हो । घुमफिर अर्को रुचि । तर, चाहेजति घुम्न पाएका छैनन् । त्यसैले पुस्तक-संसार घुम्ने अर्को माध्यम बनेको छ । 'पुस्तकमार्फत नै मैले थोरै संसार घुमेको छु । त्यहाँका मानिससँग बात मारेको छु, जसरी चेखवको बाजी कथामा अनाम वकिलले बन्दीगृहमा बसेर संसार देखेको छ', उनी भन्छन्।

हाइबर्नेसन र मृत्युको स्याँठ

आम साहित्यकारजस्तै तीर्थको आरम्भ पनि कविता हो । पोखरेली युवा सांस्कृतिक परिवार र संरक्षण कविता आन्दोलनमा उनको कविता मुखर भयो । थोरै तर कविता लेखे उनले । 'गाउँको स्वास्थ्य चौकी', 'ए लाहुरे', 'आशामार चुरुट'जस्ता चोटिला कविता उनका नाममा दर्ज भएका छन् । केही कथा पनि छन् उनले लेखेका । डायरी लेख्थे रे नियमित । तर, उनी त्यसलाई आफ्नो प्रिय विधा मान्न तयार छैनन् । आत्मसमीक्षा र भाषामा लालित्य विकास गर्न वा शैली बनाउन डायरी लेख्ने गरेको जिकिर उनको छ ।

'त्यो मेरो वास्तविक संसारको फेहरिस्तभन्दा पनि मानसिक संसारको बयान थियो । भविष्यमा लेखक बन्ने चाहनाले त्यसो गर्न लगाएको हो । ती डायरीले मेरो भाषामा मात्र सहयोग गरेका छन् अन्यथा तिनको केही महत्र्व छैन', डायरी लेखनबारे उनको स्पष्टीकरण छ ।
तीर्थ लामो समय लेखनबाहिर भएकोमा दु:ख छन् भूपिन । तीर्थ-लेखनमाथि भूपिनको टिप्पणी छ, 'सबैभन्दा गहिरो सम्मान र आस्था हुँदाहुँदै पनि ऊ लामो समय समर्पित भएर लेखनमा लाग्न सकेन । फुटकर केही कविता र कथा नै निजी सम्पत्ति थिए उसका । डायरी लेखन उसको अम्मल थियो । त्यहीँ ऊ लेखनको सबैभन्दा सुन्दर अभ्यास गथ्र्यो । र, धेरथोर आत्मसन्तोष प्राप्त गथ्र्यो । त्यो पनि छोडिदियो उसले ।'

आखिर यति लामो समय हाइबर्नेसनमा किन गए तीर्थ ?

'जिजीविषाको लागि संघर्ष । अनि केही अगाडिसम्म साहित्य अनुत्पादक क्षेत्र भनेर भनिन्थ्यो र मलाई पनि त्यस्तै लाग्थ्यो', उनको सरल जवाफ छ । तर, यो सुन्दा मात्र सरल हो । यसका पछाडि उनको जीवनले अनेकन् मोड लिएका छन् । क्याम्पसे विद्यार्थीपछि स्कुल मास्टर, होस्टल वार्डेन, होस्टल सञ्चालक हुँदै वैदेशिक रोजगारीसम्मको घुमाउरो बाटोमा लेखन कहाँनेर छुट्यो, उनी आफैंले चाल पाएनन् । वैदेशिक रोजगारबाट फर्केको केही समयपछि उनले थाहा पाए- उनका मिर्गौलाको बाटो गरेर मृत्युले चियाइरहेको छ ।

उनका दुवै मिर्गौला बिग्रिसकेका थिए । तीस महिनाको वैदेशिक रोजगारीले उनको उपचार सम्भव भए पनि त्यसपछिको महँगो औषधिलाई आर्थिक अवस्थाले साथ दिँदैनथ्यो । उनका आफन्त र साथीले स्वेच्छाले उनलाई आर्थिक सहयोग गर्न सुरु गरे । तीर्थको जीवन जोगाउन पोखरेली साहित्यकारले अभियान नै चलाए । अन्तत: मिर्गौला प्रत्यारोपण भयो । नयाँ जीवन पाए उनले ।
मृत्युको त्यस छिटाले बौरिए तीर्थ । उनको हाइबर्नेसन सकियो । र्‍याकमा किनिराखेका र नपढेका 
किताब थिए । ती किताबलाई औंलाले छाम्न थाले । जीवनबोध सुरु भयो । तीर्थ त्यो बोध व्यक्त गर्छन्, 'जीवन र मृत्युलाई नजिकबाट देखेपछि मलाई जीवन एकदमै छोटो लाग्यो र गर्न मन लागेको काम धेरै । मन परेका धेरै कुरा पढेको पनि थिइनँ र ती सब पढ्न जीवन अत्यन्त छोटो थियो । बरु केही लेख्न पाए पनि हुन्थ्यो जस्तो लाग्न थाल्यो ।'

यही बोधबाट जन्म भएको हो- उपन्यासकार तीर्थ गुरुङको । पुनर्जन्म नामको पौराणिक व्याख्यामा अविश्वास गर्ने यी लेखकको यो पुनर्जन्म निकै कष्टदायी छ । त्यसैले त कवि सरिता तिवारी उनलाई 'ज्यादै ठूलो र भयावह त्रासदीबाट निस्केको तर अचम्मको ऊर्जा भएको व्यक्तिका रूपमा' चिनाउँछिन्।

उनका पीडादायी दिन सम्झिँदै सरिता भन्छिन्, 'उपचार प्रक्रिया लामो र असह्य थियो । उनलाई भेट्न पोखरा पुग्दा पाइपैपाइपबीच अस्पतालको बेडमा सुतिरहेको तीर्थको जिन्दगी देखेर छक्क परेकी थिएँ । त्यस्तो अवस्थामा पनि मिर्गौला प्रत्यारोपण गर्न उनी भारत जान मानेनन् । प्रत्यारोपण काठमाडौंमै भयो । देश भनेको नागरिकतामा लेख्ने शब्द मात्र रहेनछ, भावना रहेछ । आफ्नो जीवन र मृत्युको संगीन घडीमा समेत उनको यो भावलाई सलाम छ ।'

कवि सरिताका यी शब्दमा तीर्थ गुरुङभित्रको 'तीर्थ गुरुङ' भेटिन्छ । देशप्रति तीव्र माया र जीवनप्रति उच्च आशाको माझबाट जन्म भएको हो आख्यानकार तीर्थको । भलै उनको हातमा डायलसिसको उपहार सिस्ट नै किन नहोस् !

'पाठशाला' कथा

मृत्युको छिटाले ब्यूँझेपछि सन् २०१३ को पहिलो बिहान तीर्थले उदाइरहेको सूर्यलाई भने, 'म यो वर्ष उपन्यास लेख्नेछु ।' तर, त्यो वर्ष उनले केही लेखेनन्, केवल पढिरहे । एक वर्षपछिको नववर्षको सूर्योदयमा पनि त्यस्तै प्रण गरे । तैपनि लेखेनन् । अर्को वर्षको पहिलो घामसँग केही प्रण नै गरेनन् । त्यही वर्ष उनले उपन्यास लेखे ।

'पाठशाला' एउटा स्कुले केटाको डायरी हो जहाँ उसले परिवार, समाज र स्कुलको साँगोपाँगो तस्बिर कोरेको छ । नेपाली साहित्यमा यो नौलो कथा हो किनभने किशोरको आँखाबाट देखिने सांसारिक दृश्य अहिलेसम्म कसैले लेखेकै छैन । एउटा किशोरले संसारलाई कसरी हेर्छ ? बुवा-आमाबीचको सम्बन्ध, अभिभावक र सन्तानबीचको सम्बन्ध, स्कुलका शिक्षकहरू, मिल्ने साथीहरू र विपरीत लिंगीहरू, यी सबैप्रति उसको राग, अनुराग कस्तो हुन्छ ? हुर्कंदै गरेको जवानीमा पलाउने सपनाका फूलहरू कस्ता हुन्छन् ? यौवनले कसरी चिमोट्छ ? प्रेमले कसरी जिस्क्याउँछ ? सिरानीमुनिबाट फुत्त निस्केर कसरी गिजोल्छन् सपनाहरूले ? तीर्थ गुरुङले उपन्यासमा यस्तै प्रश्नको जवाफ एउटा स्कुले केटाको डायरीबाट दिने कोसिस गरेका छन् ।

निबन्धकार रोशन शेरचन उपन्यासको क्षेत्रमा तीर्थ गुरुङको आगमनलाई सुखद र उपलब्धिमूलक मान्छन् । 'किशोर मनोविज्ञानलाई त्यति गहिरोसँग आत्मसात् गरेर नेपाल साहित्यमा सायदै आख्यान लेखिएको छ । त्यो मनोविज्ञान पाठशालाले समात्छ । यद्यपि किशोर विषयमा यसअघि एकाध साहित्य सिर्जना नभएका भने होइनन्', रोशनको टिप्पणी छ, '(पाठशालामा) किशोरहरूको जिज्ञासा, प्रतिस्पर्धा-भाव, विद्रोहीपना, समवयीहरूले प्रक्षेप गर्ने दबाब (पियर प्रेसर) र उमेरजन्य गुम्फनलाई सूक्ष्म निरीक्षण गरेको थाहा पाउँछौं ।'

यस्तो उपन्यास लेख्ने मुडमा कसरी पुगे तीर्थ ? यो उपन्यास लेखन-कथा उनको वैदेशिक रोजगारभन्दा पहिलेदेखि सुरु हुन्छ । यसको कारकका रूपमा उनी आफ्नो शिक्षक र होस्टल वार्डेन जीवनलाई उभ्याउँछन् । पृथ्वीनारायण क्याम्पसबाट ड्रपआउट भएपछि उनी बोर्डिङ स्कुलमा शिक्षक बन्न पुगे । त्यहीँ उनले बोर्डिङ स्कुलको वास्तविक चित्र पनि देखे ।

पढाउने क्रममै सुवास गुरुङ नाम गरेको एउटा छात्रले उनको मन छोयो । ऊ गर्भे टुहुरो थियो, शिक्षकको छायामा पर्ने भयमा हुन्थ्यो तर जब साथीहरूको माझमा हुन्थ्यो शिक्षकहरूलाई उडाउँदै र साथीहरूसँग एक किसिमले मन्त्रमुग्ध पार्ने शैलीमा गफिइरहेको हुन्थ्यो । साथीहरूलाई हँसिलो पाराले जिस्क्याइरहनु उसको ट्रेडमार्क थियो । सम्झन्छन्, 'आफ्ना समस्यामा पनि हाँसेर बस्ने उसले कहिल्यै गम्भीर भएर आफ्नो लागि सोचेको मैले पाइनँ । र, कहिल्यै नसोचेको प्रथम श्रेणीमा उत्तीर्ण हुँदा साँचो अर्थमा उसको हड्डी हाँसेको थियो ।'

प्लस-टु पढ्दा उसको जीवन अकल्पनीय दिशातिर धकेलियो । उसलाई एक प्रकारको रक्त क्यान्सरले छोइसकेको थियो । तैपनि ऊ अझै आफ्नै स्टाइलमा बात मारिरहेको हुन्थ्यो ।
एक दिन उपचार गरेर भारतबाट फर्किरहेको बेला बाटोमा आफ्नो आमाको काखमा त्यस प्रिय केटोले अन्तिम सास फेर्‍यो । तीर्थको लागि त्यो एउटा हृदयविदारक परिघटना थियो । बदमासी गर्ने बेला उसलाई तीर्थले पनि सजाय दिएका थिए । त्यो सजाय कहिलेकाहीँ अलि बढी नै भएको उनी बिर्सन्नन् । 'मलाई बिस्तारै पश्चात्ताप लाग्न थाल्यो', तीर्थ सम्झन्छन् ।

सुवासको किशोरावस्थामै भएको मृत्युले किशोरमाथि उपन्यास लेख्ने विचार आएको बताउँछन् तीर्थ । उनले उपन्यास लेख्न सुरु गरे । करिब १२ हजार शब्द लेखिरहँदा एउटा सामाजिक कार्यक्रममा रोशन शेरचनसँग भेट भयो । उपन्यास लेखिरहँदाको आनन्द शेरचनसँग शेयर गरे । संयोग वा विडम्बना- रोशनले पनि त्यस्तै विषयमा उपन्यास लेख्दै रहेछन् । त्यो थाहा पाएपछि तीर्थको उपन्यास-लेखन रोकियो ।

जीवनमा माग पनि बढी थिए । व्यवस्थित हुन सकेको थिएन । त्यसैले तीर्थ खाडी मुलुक हानिए- लेख्दालेख्दैको उपन्यास थाती राखेर । त्यहाँ उनले बास्किन रबिन्स तथा डंकिन डुनटको गल्फ फ्रेन्चाइसीमा काम गर्न थाले । त्यसै सिलसिलमा वालिदिनसँग भेट भयो । फिलिपिनो वालिद भयंकर गफाडी थियो । काममा ठग्ने र बढी बोल्ने भनेर धेरै सहकर्मीबाट जुनियरको रूपमा अस्वीकृत भइरहेको वालिद तीर्थसँग आएपछि अलि स्थिर भयो । तीर्थ उसको गफ सुन्थे ।

अधिकांश अरबीका विपरीत वालिद फरासिला कुरा गर्दै आइसक्रिम खान वा कफी पिउन आउने पश्चिमाहरूलाई राम्रै आदर देखाउँथ्यो । तर, उनीहरू बाहिरिनासाथ उसको अनुहारमा घृणाका भाव दौडिन्थे । बाले उसलाई कुटेको, टिचरहरूले गोदेको र फिलिपिन्समा आफ्नो सानो टापु भएका जस्ता गफहरू मच्ची-मच्ची सुनाउँथ्यो ऊ । र, तीर्थ उसको अनुहार हेर्दै उपन्यासको शैली बनाइरहेका हुन्थे।

मिर्गौला रोगको बहाना गरेर मृत्युले छिम्क्यौनी हानेपछि उनले थाती रहेको उपन्यास फेरि सुरु गरे । हातले लेख्दा काम्ने र केही दिनपछि हेर्दा आपैmंले लेखेका अक्षर नबुझिने भएपछि ल्यापटपमै लेख्न थाले सुस्त गतिमा । लगभग १२ वर्षअगाडि रोकिएको त्यो उपन्यासले ढिलै भए पनि नवगति पायो । एक्लै भएको बेला मात्र लेख्नसक्ने परिस्थिति भएकाले त्यसको गति भने स्वाभाविक थिएन ।

निकै कष्टसाध्य कसरतपछि बल्लतल्ल उपन्यास पूरा भयो । उपन्यासका पात्रको छनोट र नामकरणमा पनि उनले विशेष ध्यान दिएका छन् । धेरै पात्र भएकाले उनले आफ्नै सहपाठीको नाम प्रयोग गरेका छन् । तर, नाम र चरित्रमा कुनै तादात्म्यता नभएको जिकिर छ उनको । भन्छन्, 'यो छयालीसमा प्रवेशिका दिने साथीहरूको नामको सहारा लिएर बयसट्ठीमा प्रवेशिका परीक्षा दिने किशोरहरूको कथा हो ।'

'पाठशाला' पढिसकेपछि कसैले तीर्थ गुरुङमा अमेरिकी उपन्यासकार जेडी सालिन्जर र उनको उपन्यास 'क्याचर इन द राइ'को प्रभाव भेट्यो भने अन्यथा नमाने हुन्छ । तीर्थ गुरुङ स्यालिन्जरको प्रभाव सहजतापूर्वक स्वीकार्छन् । भन्छन्, 'जेडी सालिन्जरको 'क्याचर इन द राई'को प्रभाव उपन्यासमा परेको कुरा म रहस्यको बादलमा छोड्न चाहन्नँ । त्यो कल्ट क्लास्सिक म बारम्बार पढिरहन्छु । केही लेखकहरू यस्ता कुरा भविष्यमा बताउन उचित ठान्छन् ।

सालिन्जरको पात्र होल्डन काउलफिल्डमा मैले आम असन्तुष्ट किशोर पाएँ । हो, ऊ शीतयुद्धको प्रारम्भमा न्युयोर्क सहरमा भौँतारिइरहेको छ । सम्भ्रान्त परिवारको ऊ सबै प्रौढमा ढोँग देख्छ । तर, पाठशालाको गगन थापालाई काउलफिल्डको जस्तो सुविधा छैन । गगन थापा सम्भावित पारिवारिक विघटनको त्रासमा बाँचिरहेको केटा हो । वैदेशिक रोजगार, विश्वव्यापीकरण, सांस्कृतिक अतिक्रमण र राजनीतिक अस्थिरताको पचास र साठीको दशकमा सुरक्षा र सुव्यवस्था खोजिरहेको गगन थापासँग पनि होल्डनका जस्तै केही छटपटी छन् । नेपाली साहित्यमा पनि क्याचर इन द राई टाइपको उपन्यास आउनुपर्छ भन्ने मलाई लागिरहन्थ्यो ।'

नपोतिएको रङ

तीर्थ गुरुङको यो रेखाचित्र कोर्दाकोर्दै पनि उनलाई चिन्नेहरूलाई लाग्नेछ, यसमा एउटा महत्र्वपूर्ण करङ छुटेको छ । तीर्थको जीवन क्यानभासमा अँध्यारो देखिने त्यो रङ उनी पृष्ठभागमा छोड्न चाहन्छन् । जीवन आखिर त्यस्तै त हो जहाँ अँध्यारा गाढा रङलाई अरू उज्याला रङहरूले ढाक्ने प्रयास गरिन्छ । कहिलेकाहीँ त लाग्छ, खल्तीमा मिर्गौला उपचारको ओखती बोकेर हिँडिरहेका यी आख्यानकारको मनको खल्तीमा भने कतै ओखती नपाइने व्यथा छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.