देश, काल, परिस्थिति
सबैलाई जीवनका आ-आफ्ना भोगाइले रुवाउँछन्, हप्काउँछन् र हँसाउँछन् । मानिस निर्जन बगरहरूको पर्यटक बनेरमात्र सधैं हिँडिरहन मात्र सक्छ कि सक्दैन ? हिउँदमा नदीले किनार किन छोड्छ ? महेश पौड्यालका कथाकी पात्र सन्ध्या रानीलाई मात्र होइन मलाई, तपाईंलाई, हामी सबैलाई थाहा छ- समाज गफाडी हो, गफ गर्छ, गायक हो, गीत गाउँछ । थुक्क पनि गर्छ, सुँक्क पनि गर्छ । तर, पनि आँसु, पीडा कसैले कसैलाई बाँड्दैन । महेश पौड्यालको कथासंग्रह ‘त्यसपछि फुलेन गोदावरी’भित्रका कथाले उजागर गरेका जीवनका महत्वपूर्ण पक्ष हुन् यी । सारमा, सामाजिक संवेदनाको आख्यान हो किताब ।
संग्रहमा जम्मा २० कथा छन् । एउटा कथाको पात्र ‘भुवन’जस्तै हामी पनि सोझा छौं, र त कुटिल राजनीतिको चक्रव्यूहले यसरी नै समाज र हामीलाई घुमाइरहेको हुन्छ । कथाभित्र जोसुकै पात्र बने पनि सबै कथाको पात्र म, तपाईं र हामीहरू नै हौं । चाहे त्यो कथा ‘निदाल’ होस्, चाहे ‘नर्सरी’, ‘भुवन’ वा ‘पानीमुनिको जून’ । कथाभित्रका पात्रहरूले जे बोलेका छन्, जे भोगेका छन्, जता दौडिएका छन् यी हजुरआमाहरूले सुनाउने एकादेशका कथा होइनन् । ती त सबै हाम्रै देश, हाम्रै समाज र तपाईं-हाम्रै जीवनयापनका यथार्थ नै हुन् ।
‘त्यसपछि फुलेन गोदावरी’ कथाकारको दोस्रो कथा संग्रह हो । यस संग्रहभित्र ‘नर्सरी’, ‘निदाल’, ‘कर्णालीको पल्लो किनार’, ‘अदालतबाहिर’, ‘उनी योगमाया भइन’्, ‘हुलाकी’, ‘ताल्चा’, ‘भुवन’, ‘पानीमुनिको जून’, ‘पर्खाल र परेवाहरू’, ‘लौरो’, ‘काकी’, ‘चोट’, ‘रश्मि’, ‘कौबु्र’ र ‘क्रान्तिवीर’जस्ता कथा समावेश छन् । ‘नर्सरी’ कथाकारको आत्मकथाजस्तो लाग्छ । अन्य कथा बीपी कोइराला र भवानी भिक्षुका कथा-शैलीका छन् । अहिले नेपाली साहित्यमा कमजोर बन्दै गएको कथा विधामा पौड्यालको उपस्थितिले नेपाली साहित्यमा कथा विधा उठ्न र चलायमान हुन थालेको अनुभव हुन्छ ।
संग्रहमा संग्रृहीत कथाहरू लेखकको छुट्टै सामाजिक दृष्टिबिन्दु स्थापित गर्न पनि सफल छन् । कथालाई साधारण र गाउँले परिवेशबाट जुरुक्क उठाएर समाजको मनोवैज्ञानिक चेत, समाजको यथार्थ, समाजको गुम्फनभित्र गुम्सिएका पीडाहरू, प्रत्येक कथाभित्र यथार्थपरक ढंगले भर्न सक्नु कथाकार पौड्यालको कलात्मक खुबी हो जसलाई उनले सफलताका साथ प्रयोग गरेका छन् । यसभित्रका कथा कोरामात्र छैनन् । ती मानिसका जीवित यथार्थ र जीवनीजस्ता छन् ।
समालोचनमा पनि उत्तिकै दक्खल राख्ने भएर पनि होला, पौड्यालका कथामा शब्दको अनावश्यक थुप्रो छैन । प्रत्येक कथामा उनले देश र समाजलाई मुटुभरि सजाएर त्यसको मनोवैज्ञानिक जगबाट एक महत्वपूर्ण सन्देश दिन खोजेका छन् । दृष्टिकोणहरू उच्च छन् । फरक विषयवस्तुलाई उठाएर यथार्थको धरातलमा बुनिएका प्रत्येक कथाले देश, समाज र हाम्रै परिवेशमा घटेका घटना र परिघटनालाई उठाएका छन् र संवेगपूर्ण प्रस्तुतिमार्फत अभिव्यक्त गरेका छन् ।
यसले गर्दा कथाहरू निक्कै मार्मिक तथा परिष्कृत बन्न पुगेका छन् । कथाकारले लामो समयदेखि नै आफ्नै गाउँ, प्राकृति, समाज र आफ्नै जीवनमा घटेका परिघटनालाई हेरेरै सिर्जनाको बाली रोप्न सिकेको हुनुपर्छ । कारण, कथामा कथाकारका १५ वर्ष पुराना कथा पनि संगृ्रहीत गरिएको उल्लेख छ । कतिपय कथा कथाकारको अन्तस्करणबाट निस्केका निजी आवाजजस्ता पनि लाग्छन् । कसैले पनि आफैंलाई छलेर मिथ्या लेख्न सक्दैन । सायद उनले पनि ! लाग्छ, कथाको स्तरीयतामा कथाकारले कतै पनि सम्झौता गरेका छैनन् ।
चिसोले जमेर ढुंगा बनेको पोखरी र पीडाको आहालमा पौडिएको मन दुवै उस्तै हुन्— स्वइच्छाले चल्न सक्दैनन् । यस्तै कतिपय कथा भावुकताले चलायमान छन् । लेखाइमा देश, काल र परिस्थितिको छाप पर्नु स्वाभाविक हो र त्यो छाप यस संग्रहका कथाहरूभित्र पनि स्पष्ट देखिन्छ । यथार्थका सुस्केरा र अनुभूतिलाई बिम्बतात्मक शैलीमा प्रस्तुत गरिएका यी कथाका दृष्टिकोण कथासंग्रहको पाना पल्टाउँदा पाठकले आफैं पाउनेछन् ।
कथाको माध्यमबाट मनका बह पोख्न, चित्तका घाउमा मल्हम लगाउन र जगत्सित आफ्नै भाषामा अन्तक्रिया गर्न रुचाउने भावुक कथाकारको कथाको शक्तिमाथि प्रगाढ आस्था छ, ममता छ, संवेदना छ र आफ्नै पृथक् भाषा र अभिव्यक्त गर्ने शैली छ । उनको दृष्टिमा कथाका लय, भाव र दृष्टिकोण अभिव्यक्तिका अस्त्र हुन्, जसमा जीवनका विविध रङ र भाव अत्यन्त जीवन्त लयमा एकाकार भएका छन् ।
त्यसैले त कथाकार कथाभित्र आफ्नो आत्मबोधी सत्यको खोजीमा निस्किएका छन् जस्तो प्रतीत हुन्छ । हामीले यो बुझ्नु पनि जरुरी छ कि आ श्रमलाई आमा दान दिएर धर्म कमाउनेको भीडमा सत्य लेख्ने र बोल्ने मान्छे सधैं एक्लो हुन्छ । नेपाली समाजमा भेदभाव छ, वाञ्छना छ, उत्पीडन छ, बहिष्करण छ, अपमान छ, विभेद छ । यसै समाजमा अमानवीय तत्वहरू पनि सदैव चलायमान छन् । यी सबै कुराहरू कथाभित्र कहीँ न कहीँ समेटिएका छन् ।
कथाहरूले देश र समाजलाई बिउँझाइरहेका छन् । र, बिउँझाउने अथक प्रयास पनि गरिरहेका छन् । यो कथासंग्रह नेपाली साहित्यले यस दशकमा पाएको एउटा सुन्दर उपहार हो भन्न सकिन्छ । त्यसैले पनि यस संग्रहले पाठकबीच ठूलो छाप छोड्न सफल हुने विश्वास गर्न सकिन्छ । संग्रहले पक्कै पनि हाम्रो समाजको संवेदनालाई मज्जैसँग उजागर गरेको छ । कथाकारले हामी र हाम्रै समाजमा घटिआएका परिघटनालाई टपक्क टिपेर कथामा जीवन्त ढंगले टाँसेका छन् । यो उनको अर्को खुबी हो ।
यी तमाम शक्ति हुँदाहुँदै पनि कथाकारले केही कुरामा भने थप ध्यान दिनु आवश्यक देखिन्छ । आगामी दिनमा उनले कथाको परिमाणमा नभई गुणवत्तामा बढी जोड दिनुपर्ने देखिन्छ । ‘छिमेकी’ र ‘दोषी चस्मा’जस्ता दुईचार कथा लेख्न सकियो भने कथाको हुल जति ठूलो भए पनि कद र दृष्टिकोण यिनैको जस्तो उच्च र सम्मानित हुनेछ भन्ने कुरा नेपाली कथा-साहित्य इतिहासले स्थापित गरेको सत्य हो । कथाकारले अब यो कुरा बुझ्न र प्रयोगमा ल्याउन जरुरी देखिन्छ । कथालाई भावको विरेचन र विस्तार गर्ने साधानमात्रै बनाउनुभन्दा समाजका मूल्य, मान्यता, विचार अथवा दृष्टिकोणको सम्यक प्रक्षेपणको माध्यम बनाउन सकेको खण्डमा उनको लेखन थप स्तरीय बन्न सक्नेछ ।
लेखक : महेश पौड्याल
प्रकाशक : ऐश्वर्य प्रकाशन प्रालि
पृष्ठ : २११
मूल्य : रु. ३०५