चरालाई हृदयाघात
अचानक !
उड्दा उड्दै
आकाशबाट कुनै चरा
जमिनमा छटपटायो भने,
सोचिरहेछु-
कसो गर्ने होला ?
धड्किएको बेस्कन, उसको मुटु
कसले समाल्ने ?
नजिकै
चिकित्सक कोही छैन, चराको समाजमा ।
हात छैन आफ्नो
खुट्टा पुग्दैन मुटुसम्म
केवल पखेटा छ एक जोडी,
फटफटाइरहेछ ।
केही समय अघिसम्म
हावा थियो स्वच्छ, आकाशमा
बादलसँगै लुकामारी थियो,
कति रोमाञ्चक समय !
उडान नभएको बेला,
आफ्नै पसिनाले बनाएको
निजी गुँड थियो एउटा रूखमा
र, त्यो गुँडमा
उन्मुक्त एउटा खुसी थियो ।
अचानक !
हावा चल्न छाड्यो
अचानक !!
बादलको खेल समाप्त भयो
र गुँडको त्यो खुसी
अचानक
जमिनका आएर छटपटायो ।
साँच्चै !
हेरिरहेछु-
रूख उभिएको ठाउँमा
यतिखेर
बाढीले ल्याएको बालुवाको थुप्रो ।
(बाढीग्रस्त इलाकाका पीडितहरूलाई समर्पित)