सल्यानी खुकुरी जोगाउने चिन्ता
दाङ : सल्यानमा जन्मिएका मणिराम विश्वकर्मा १२ वर्षको उमेरदेखि बाबुबाजेले अँगालेको आरन पेसामा लागे । त्यही क्रममा उनले सल्यानी खुकुरी बनाउने सीप सिके । पुख्र्यौली पेसालाई स्थायित्व दिन ४० वर्षअघि उनी सल्यानी कुखुरीको व्यावसायिक उत्पादनमा लागिपरे । केही वर्ष सल्यानमै व्यवसाय गरेर दाङ झरेका ६० वर्षीय उनी सल्यानी खुकुरी चिनाउन अझै तल्लीन छन् ।
उनी यो पेसाको निरन्तरतामा भने चिन्तित छन् । आफूभन्दा पछिको पुस्ताले यसलाई निरन्तरता नदिए खुकुरीको पहिचान नै मेटिने डर रहेछ उनमा । ‘नयाँ पुस्ताले साथ दिएन भने हामीले बचाई राखेको सल्यानी खुकुरीको पहिचान मेटिनेछ', उनी भन्छन्, ‘युवा पुस्तालाई यसमा ल्याउन प्रयासरत छु तर आउन मानिरहेका छैनन् ।'
४६ वर्षीय यादव विक पनि खुकुरी लोप हुने चिन्तामा छन् । तुलसीपुर सब्जीमन्डीको एक कुनामा आरन राखेर खुकुरी बनाउँदै आएका उनी १४ वर्षको उमेरदेखि यो पेसामा छन् । ‘बाबुबाजेले यही पेसा अँगाले, म पनि यसमै लागेर यहाँसम्म आएको छु । तर, मेरा छोराहरू यसलाई अँगाल्न मान्दैनन्', उनी भन्छन्, ‘यो पेसाले सम्मान नदिँदा युवा पुस्ता यसमा आउन सकेको छैन ।' सम्मान आवश्यक रहे पनि व्यवहारमा घृणा गर्दा पेसालाई निरन्तरता दिन गाह्रो भएको उनको ठम्याइ छ ।
सम्मान आवश्यक रहे पनि व्यवहारमा घृणा गर्दा पेसालाई निरन्तरता दिन गाह्रो ।
‘काम गर्न सके राम्रो छ । आम्दानी टन्न गर्न सकिन्छ', मणिराम भन्छन्, ‘म वार्षिक २ लाख रुपैयाँसम्म बचत गर्न सक्ने भएको छु ।' तुलसीपुरमा राप्ती खुकुरी उद्योग सञ्चालन गरेका मणिराम सल्यानी खुकुरीको माग अत्यधिक रहेको सुनाउँछन् । मागअनुसार खुकुरी पुर्याउन नसकेको उनको भनाइ छ । भन्छन्, ‘अहिले त विदेशका लागि पनि सल्यानी खुकुरीको माग छ । उनका अनुसार उपहारका लागि डाँफे र माछे खुकुरी बढी बिक्ने गरेको छ भने सादा खुकुरी सुरक्षा निकायहरूमा खपत हुन्छ । खासगरी सल्यानी, सिरुपाते, टोरा ओखोला, टोरा दुईचिरा, हवल्दार, क्षेत्री, जीडब्लू, डब्लूडब्लू वान, टु नामका खुकुरी प्रख्यात छन् ।
सल्यानी खुकुरी उपहारका रूपमा काठमाडौं, नेपालगन्ज, बुटवल, विराटनगर, झापादेखि अमेरिका, अस्टे«लिया, युरोप, जापानलगायत देशमा पठाउने गरिएको छ । एउटा खुकुरी तथा खुडाको मूल्य एक हजारदेखि सात हजार पाँच सय रुपैयाँसम्म पर्छ । जिल्लामा ३० भन्दा बढी व्यवसायीले सल्यानी खुकुरी उत्पादन गरिरहेका छन् । सल्यानमा पनि यो व्यवसाय सञ्चालन भइरहेको उनीहरूको भनाइ छ । युवा पुस्ता संलग्न नभए पनि पहिलेदेखि गर्दै आएकाहरूले सल्यान खलंगा क्षेत्रसहित अन्य स्थानमा व्यावसायिक रूपमै सल्यानी खुकुरी बनाउने गरेको खलंगाका ६४ वर्षीय जुद्धवीर विक सुनाउँछन् ।
‘जिल्लामा मात्र होइन, अरू-अरू देशमा जाने हो भनेर पनि खुकुरी किन्न आउँछन्', उनी भन्छन्, ‘यही पेसाले गुजारा चलिरहेको छ ।' तर, युवा पुस्ता यो पेसाप्रति आकर्षण नहुँदा व्यवसायीलाई चिन्ता लागेको छ । ‘हामीसँगै सल्यानी खुकुरीको पहिचान मेटिन्छ कि भन्ने चिन्ता छ', व्यवसायी इन्द्रबहादुर विक भन्छन्, ‘यसको निरन्तरताका लागि राज्यले सोचिदिनुपर्छ ।'
कोइला र श्रमिक अभाव
आरनमा प्रयोग गर्ने कोइला अभावले खुकुरी उत्पादनमा समस्या देखिएको छ । ‘सहरमा कोइला पाइँदैन, नियमित विद्युत् आउँदैन, फलाम पिट्ने युवा श्रमिक पाउँदैन, कसरी पेसा टिकाउने हो ? ', मणिराम भन्छन्, ‘मेरो उद्योगलाई केही आधुनिक बनाऊँ भनेर आठजना श्रमिकसँग जुटेको छु तापनि यी समस्याले सताउँछ ।' दैनिक एउटा खुकुरी बनाउन सकिने भए पनि लोडसेडिङका कारण समस्या भएको इन्द्रबहादुर बताउँछन् । ‘फलाम तताएर आकार निकाल्न कोइला र खुकुरी चम्किलो बनाउन लगाइने सानका लागि विद्युत् आवश्यक पर्छ', उनी भन्छन्, ‘यी दुवै नभएपछि कसरी खुकुरी निर्माण गर्नु ? '