ओलम्पिक हलमा हजारौंमाझ नेपथ्य
काठमाडौं : नेपालको चर्चित लोक–रक ब्यान्ड नेपथ्यले दक्षिण कोरियाको राजधानीमा सोलस्थित ओलम्पिक हलमा लाइभ कन्सर्ट दिएको छ । ‘ओलपार्क’का रूपमा चर्चित यो हल सन् १९८८ मा दक्षिण कोरियाले ओलम्पिक आयोजना गर्दा तयार पारेको ओलम्पिक पार्कभित्रै रहेको छ । सन् २०११ मा सो हललाई कोरियाली सरकारले कन्सर्ट आयोजना गर्ने थलोका रूपमा पुनःनिर्माण गरेपछि विश्वविख्यात गायकगायिका एवं ब्यान्डहरू ‘डिप पर्पल’, ‘जुडास प्रिस्ट’, ‘मारिया क्यारे’, ‘एयर सप्लाई’लगायतले कन्सर्ट गरिसकेका छन् ।
नेपथ्यको व्यवस्थापन हेर्दै आएको नेपालयले दिएको जानकारीअनुसार कोरियाको राष्ट्रिय पर्व छुसकको अवसरमा त्यहाँस्थित कास्की परिवारले कन्सर्ट आयोजना गरेको हो । कृषिमा आधारित परम्परागत यस पर्वमा अघिल्ला पुस्ता र मान्यजनसँग भेटघाट गर्ने, आशीर्वाद लिने चलन छ । यो पर्वमा अधिकांश कोरियाली आफ्नो पुख्र्यौली थातथलोमा पुग्ने गर्छन् ।
ईपीएस प्रणाली लागू भएयता दक्षिण कोरियामा ४० हजारभन्दा बढी नेपाली कामदार रोजगारीका निम्ति पुगेका छन् । ‘स्वदेशमै तपाईंहरूलाई रोजगारीको प्रबन्ध गर्न नसकेकै कारण यहाँ आइपुग्नुभएको हो । आफन्त, साथीभाइ र मान्यजनबाट टाढिएर बाँच्नुपर्दाको पीडा म बुझ्दछु’, गीत गाउने क्रममा नेपथ्यका अमृत गुरुङले भने । त्यसपछि अमृतले केही वर्षअघि तयार पारेको आफ्नो प्रिय मानिस छाडेर हिँडेका आप्रवासी कामदारको पीडामा आधारित गीत गाए–
‘मै मरि जाउँला, जीवन छोटो छ
लेखेको सम्झना, चेतेर नफाल
सिरानमा फोटो छ...।’
कन्सर्टमा ‘यो जिन्दगानी’, ‘कोसीको पानी’, ‘गाउँगाउँबाट उठ’, ‘रेशम’, ‘तालको पानी’, ‘रातो र चन्द्रसूर्य’जस्ता चर्चित गीत प्रस्तुत गर्ने क्रममा अमृतले भने, ‘ओलम्पिक पार्कमा उभिएर गीत गाइरहँदा मलाई विधान लामाको याद आइरहेको छ जसले १९८८ को ओलम्पिकमा नेपालका निम्ति पदक हासिल गरेका थिए । तर, दुर्भाग्य ! त्यस्ता प्रतिभाशाली खेलाडीलाई मुलुकले रोकेर राख्न सकेन र अहिले उनी पनि बिदेसिएका छन् । म हाम्रा नेताहरूलाई मुलुकभित्रै राम्रो अवसर सिर्जना गरेर यस्ता प्रतिभालाई स्वदेशमै आकर्षित गर्न आह्वान गर्छु ।’
कन्सर्टमा सधैंझैं अमृतलाई ध्रुव लामाले ड्रमसेटमा, सुरज थापाले किबोर्डमा, सुविन शाक्यले बेस गितारमा, निरज गुरुङले गितारमा र शान्ति रायमाझीले मादलमा सघाएका थिए । सोलमा नेपथ्यको यो पाँचौं प्रस्तुति हो । कार्यक्रम सफलताका साथ सम्पन्न भएकामा कास्की परिवारका तर्फबाट खोम गुरुङले कोरियावासी नेपालीप्रति आभार प्रकट गरेका छन् ।