सबल र साझा विदेश नीति

सबल र साझा विदेश नीति

गत बिहीबार संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले ‘नेपालको परराष्ट्र नीतिमा समयानुकूल सुधारको लागि विशेष छलफल कार्यक्रम’ गरेपछि फेरि एकचोटि विदेश नीतिमाथिको विमर्श छेडिएको छ । कार्यक्रममा भारत, चीन र अमेरिकाका लागि नेपाली राजदूतहरूले नेपालको विदेश नीतिलाई समायनुकूल परिवर्तन गर्नुपर्ने सुझाव दिएका छन् ।

राजदूत विदेश नीति कार्यान्वयन गर्ने महत्वपूर्ण व्यक्ति हुन् । सम्बन्धित मुलुकहरूसँग नेपालको सम्बन्धको अवस्था, नेपालले हासिल गर्नसक्ने सहयोग, नेपालसँग उनीहरूले राखेका अपेक्षा र सम्बन्धमा देखिने परिवर्तनबारेमा उनीहरूबाट पाइने जानकारी महत्वपूर्ण हुन्छ । उनीहरूका सुझावअनुसार नेपालको राष्ट्रिय हितअनुरूप ती मुलुकसँगका हाम्रा नीति र रणनीतिहरू परिवर्तन हुन सक्छन् । तर विदेश नीति राजदूतहरूले बनाउने होइन, उनीहरू विदेश नीति कार्यान्वयन गर्ने ‘एजेन्ट’ मात्र हुन् ।

 

अध्ययन र अनुभवबाट खारिएका राजदूतले भने विदेश नीति निर्माणमा महत्वपूर्ण सुझाव दिन सक्छन् । कार्यक्रममा राजदूतहरूबाट आएका सुझाव मननीय छन् ।

नेपालको बौद्धिक वृत्तमा नेपालको विदेश नीति नै छैन भन्ने गरिन्छ, जसमा केही सत्यता पनि छ । त्यसो त नेपालले जहिले पनि आफ्नो विदेश नीति असंलग्नता, पञ्चशीलका सिद्धान्त र विश्व शान्तिमा केन्द्रित रहेको बताउँदै आएको छ । यस्तै रटान लगाएर मात्रै वर्तमान जटिल र विश्वव्यापीकरणको समयमा हाम्रा राष्ट्रिय हित संरक्षण गर्न र हासिल गर्न सकिँदैन । यसलाई प्रभावकारी विदेश नीति मान्न सकिँदैन ।

विदेश नीति निर्माण हलुका विषय होइन । त्यसनिम्ति विभिन्न पक्षमा विचार पुर्‍याइनुपर्छ । पहिलो- विदेश नीतिका सैद्धान्तिक पक्षहरूबारेमा गहिरो ज्ञान जरुरत पर्छ । दोस्रो- विदेश नीति राष्ट्रिय हित हासिल गर्न लक्षित हुने मान्यताअनुरूप हाम्रा राष्ट्रिय हित स्पष्ट रूपमा परिभाषित हुन आवश्यक छ । राष्ट्रिय हितको स्पष्ट व्याख्याले विदेश नीतिबाट हामीले चाहेका कुरा स्पष्ट रूपमा निर्दिष्ट गर्नेछ । तेस्रो- सैद्धान्तिक ज्ञानमा टेकेर हाम्रो अवस्थिति, आर्थिक र राजनीतिक क्षमताको यथार्थपरक मूल्यांकनमा आधारित व्यावहारिक विदेश नीति बनाइनुपर्छ । त्यस्ता नीति कार्यान्वयनका लागि सूक्ष्म रणनीतिहरू पनि बनाइनुपर्छ । यसनिम्ति बौद्धिक व्यक्ति, नीतिनिर्माता, राजनीतिज्ञ र सञ्चारमाध्यमका बीचमा अर्थपूर्ण अन्तरसंवाद उत्तिकै जरुरी छ । राजनीतिक दल र व्यक्तिपिच्छे फरक-फरक ‘विदेश नीति’ हुनुहुँदैन ।

विदेश नीतिका सैद्धान्तिक पक्ष र नीति निर्माणमा गहन छलफल विश्वविद्यालय र सरकारको नियन्त्रणमा रहेका ‘थिंक ट्यांक’ मा हुनुपर्छ । यसनिम्ति चाहिने ज्ञानमा राज्यकै लगानी हुनुपर्छ । राष्ट्रको स्वतन्त्रता, सार्वभौमसत्ता, मुलुकको प्रतिष्ठा जस्ता राष्ट्रिय हित र राष्ट्रिय स्वार्थ हासिल गर्न चाहिने विदेश नीतिका लागि चाहिने ज्ञान उत्पादनमा गैरसरकारी र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा भर पर्नु हुँदैन ।

त्रिभुवन विश्वविद्यालयलगायत अरू विश्वविद्यालय, ती विश्वविद्यालयका अनुसन्धान केन्द्रहरू, परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र सरकारी लगानीका अन्य थिंक ट्यांकहरू अति राजनीतीकरणले थलिएका छन् । ती संस्थाबाट अहिलेको सन्दर्भमा हाम्रो विदेश नीतिका लागि चाहिने ज्ञान उत्पादन हुन सकेको छैन । ती संस्थाहरूको व्यापक पुनर्संरचना नगरी त्यस्तो गर्न सम्भव देखिँदैन ।

नेपालमा राजनीतिक अस्थिरता हुँदा बाह्य शक्तिहरूको चलखेल बढेको छ । व्यावहारिक र ज्ञानमा आधारित विदेश नीतिले धेरै हदसम्म नेपालको आन्तरिक राजनीतिमा बाह्य शक्तिको हस्तक्षेप कम गर्न सक्छ र मुलुकमा राजनीतिक स्थिरता दिन सक्छ । त्यसनिम्ति अहिले उचित समय छ । विगतका उग्र वामपन्थी र दक्षिणपन्थीहरू लोकतान्त्रिक मूलधारमा आइसकेको सन्दर्भमा हाम्रा विदेश नीतिमा महत्व राख्ने मुलुकहरू, मुलुकको भूराजनीतिक अवस्था र त्यसले सृजना गरेका सीमितता, महत्वपूर्ण अन्तर्राष्ट्रिय संघसंस्थामा नेपालको भूमिकाबारेमा दलहरूका बीचमा खासै विमति छैन । यस्तो अवस्थामा सबल र साझा विदेश नीति बनाउन सम्भव छ । त्यसतर्फ ध्यान केन्द्रित हुनु आवश्यक छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.