अन्नपूर्ण बेस क्याम्पको छायाँमा नर्थ क्याम्प
पोखरा : फ्रान्सेली नागरिक मौरिस हर्जाेगले आठ हजार मिटर माथिका हिमालको पहिलोपटक आरोहण गर्दा प्रयोग गरेको अन्नपूर्ण नर्थ बेसक्याम्पलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न म्याग्दी नारच्याङका स्थानीयले माग गरेका छन् । कास्कीको अन्नपूर्ण बेसक्याम्पमा सिजनमा बस्ने कोठा नपाउने र अन्य मौसममा पनि बाक्लो संख्यामा पर्यटक पुग्ने भए पनि म्याग्दीको अन्नपूर्ण प्रथम हिमालको नर्थ बेसक्याम्पतर्फ पर्यटक पुग्ने पदमार्ग व्यवस्थित नभएकाले स्थानीयले अन्नपूर्ण नर्थ बेसक्याम्पसम्म पुग्ने मार्गको पूर्वाधार विकास र पर्यटन प्रवद्र्धन गर्न सरकारसँग माग गरेका हुन् ।
२००७ साल जेठ २१ गते मौरिस हर्जाेगले आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथमको अन्नपूर्ण नर्थ बेसक्याम्प हुँदै सफल आरोहण गरेपछि पोखरा र नेपालले चर्चा पाए । तर अन्नपूर्ण नर्थ बेसक्याम्पको पर्यटन पूर्वाधार अहिलेसम्म हुन नसकेको अन्नपूर्ण संरक्षण क्षेत्र व्यवस्थापन समिति नारच्याङका अध्यक्ष तेजबहादुर गुरुङले बताए । अन्नपूर्ण नर्थ बेसक्याम्पलाई पदमार्गको रूपमा विकास गरी पर्यटन प्रवद्र्धन गर्न उनले सरकारसँग माग गरेका छन् ।
यस पदमार्गको पूर्वाधार विकास, पर्यटन प्रवद्र्धनका साथै समुद्री सतहदेखि ४१ सय मिटर उचाइमा अन्नपूर्ण नर्थ बेसक्याम्प क्षेत्र रहेको नारच्याङ हिमतालको संरक्षण गर्न अन्नपूर्ण गाउँपालिका ४ नारच्याङका स्थानीयले माग गरेका हुन् । म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिकास्थित अन्नपूर्ण नर्थ बेसक्याम्प म्याग्दीको तातोपानी, नारच्याङ हँदै नीलगिरि छेउबाट ७ देखि ८ दिनमा आउँजाउँ गर्न सकिने गुरुङले सुनाए ।
सुन्दर झरना, लालीगुँरास, धुपीको जंगल हुँदै नाउर, झारल, डाँफेलगायत वन्यजन्तु र विभिन्न प्रजातिका वनस्पतीको अवलोकन गर्दै बेसक्याम्प पुग्न सकिन्छ ।
अन्नपूर्ण गाउँपालिकास्थित अन्नपूर्ण बेसक्याम्प कास्कीको धम्पुस, लान्दु्रक, छोमरुङ, बम्बो, माछापुच्र्छे बेसक्याम्प हुँदै ७ देखि ८ दिनमा आउजाउ गर्न सकिन्छ । अन्नपूर्ण नर्थ आधार शिविर जाने पदमार्गको ट्र्याक खोल्ने काम २०६८ सालमा सुरु भएको भए पनि खाने बस्ने पूर्वाधारसमेत नभएको म्याग्दीको नारच्याङका स्थानीय यामनारायण पाइजाले बताए । नर्थ बेसक्याप्सको पदयात्राका क्रममा नारच्याङ गाउँमा मगर जातिको प्राचीन संस्कृतिको अनुभव लिन सकिन्छ । सुन्दर झरना, लालीगुँरास, धुपीको जंगल हुँदै नाउर, झारल, डाँफेलगायत वन्यजन्तु र विभिन्न प्रजातिका वनस्पतीको अवलोकन गर्दै बेसक्याम्प पुग्न सकिने उनले सुनाए।
पछिल्लो समय पर्यटन मन्त्रालय, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना र तत्कालीन जिल्ला विकास समिति म्याग्दीको आर्थिक सहयोगमा पदमार्ग निमार्णको काम भए पनि पर्यटकीय पूर्वाधार नभएको उनले बताए । नारच्याङ गाउँभन्दा माथि मानव बस्ती नहुनु र सरकारी वन जंगल मात्र भएकाले पर्यटकीय पूर्वाधार बन्न नसकेको उनको भनाइ छ । नर्थ बेसक्याम्पसम्म पुग्न आठवटा पुलको आवश्यकता रहे पनि अहिलेसम्म एउटा मात्र पुल बनेको र अन्य ठाउँमा काठे पुलबाट जसोतसो पर्यटक पुग्न सकिने पदमार्ग निर्माण गरिएको अन्नपूर्ण संरक्षण क्षेत्र व्यवस्थापन समिति नारच्याङका अध्यक्ष गुरुङले सुनाए ।
अन्नपूर्ण नर्थ बेसक्याम्प हुँदै जाने पदमार्ग रोमाञ्चक भएकाले पर्यटन प्रवद्र्धन गर्न सके अन्नपूर्ण पदयात्रा क्षेत्रमा पर्यटकका लागि नयाँ आकर्षक गन्तब्य बन्ने उनले बताए । अन्नपूर्ण आधार शिविरमा रहेको नारच्याङ हिमताल (टुकुचे हिमताल) पर्यटकका लागि मुख्य आकर्षण रहेको गुरुङले सुनाए । मौरिस हर्जाेगले पहिलोपटक अन्नपूर्ण आरोहण गर्न जाँदा मुस्ताङ हुँदै म्याग्दीको अन्नपूर्ण नर्थ बेसक्याम्प भएर गएकाले तालको नाम टुकुचे हिमताल राखिए पनि स्थानीयले उक्त तालको नाम नारच्याङ राखेको गुरुङले सुनाए ।
पर्यटन पूर्वाधार नहुँदा म्याग्दी जिल्लाको नर्थ बेसक्याम्प क्षेत्रमा पर्यटक फाट्टफुट्ट जाने गरेको अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) की पर्यटन अधिकृत रश्मि आचार्यले बताइन् । एक्यापले पछिल्लो समय अन्नपूर्ण नर्थ बेसक्याम्प क्षेत्रको पदमार्ग निर्माणका लागि सघाएको सुनाउँदै आचार्यले पूर्वाधार विकासले पर्यटकको आगमन बढ्ने विश्वास गरिन् । अन्नपूर्ण नर्थ बेसक्याम्प क्षेत्रको पूर्वाधार विकास गर्न सके सडक सञ्जालका कारण छोटिदै गएको अन्नपूर्ण क्षेत्रमा यो पदमार्ग नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास हुने एक्यापका संरक्षण अधिकृत ऋषि बरालले बताए ।
पूर्वाधार विकास र पर्यटन प्रर्वद्धन हुन नसक्दा पछि परेको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराका अध्यक्ष दीपक अधिकारीले बताए । म्याग्दीको अन्नपूर्ण गाउँपालिकास्थित अन्नपूर्ण नर्थ बेसक्याम्प कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित अन्नपूर्ण बेसक्याम्पभन्दा फरक प्राकृतिक भूवनोट र सुन्दरता रहेको उनले बताए ।
२१ दिनको राउन्ड अन्नपूर्ण पदमार्गमा मोटरबाटो बनेपछि पाँच दिनमा खुम्चिएको नर्थ बेसक्याम्प बैकल्पिक पदयात्राका लागि महत्वपूर्ण हुने उनको भनाइ छ । अन्नपूर्ण पदमार्गमा सडक बाटो बनेपछि त्यसको बिकल्पमा एक्याप र टानले आठभन्दा बढी नयाँ पदमार्गको अध्ययन गरेर सञ्चालनको प्रयास गरे पनि पूर्वाधार अभावमा सञ्चालनमा आउन नसकेको अधिकारीले सुनाए । अन्नपूर्ण क्षेत्रमा मात्र होइन पोखरामा पर्यटकको आगमन बढाउन नयाँ पदमार्गको विकास गरी पर्यटकीय गतिविधि बढाउनुपर्ने टानका अध्यक्ष अधिकारीले बताए ।