भारतबाट नेपालमा अवैध नेटवर्किङ धन्दा
काठमाडौं : ‘तालिमपछि आकर्षक रोजगारी’को प्रलोभन देखाउँदै ८ महिनाअघि दर्जनभन्दा बढी नेपालीलाई भारत उत्तर प्रदेशको गोरखपुर लगियो । त्यहाँ जाने टोलीमा अधिकांश युवा तनहुँ, गोरखा, लमजुङ, चितवन, धादिङलगायत जिल्लाका थिए । २ लाख रुपैयाँ चाहिने र तालिम सकेपछि भारतमै राम्रो आम्दानी गर्न सकिने उनीहरूलाई आश्वासन दिइएको थियो ।
त्यही आश्वासनको विश्वासमा ती युवाले केही पैसासमेत बुझाए । गोरखपुरस्थित ड्रिम डेभलपर्स ट्रेडमार्ट प्रालिले उनीहरूलाई एक साता प्रशिक्षण दियो । प्रशिक्षण मूलतः कसरी धनी बन्ने भन्नेमा केन्द्रित थियो । सहभागीलाई कम्पनीले नै कोट पाइन्ट दिएको थियो । पैसा कमाउन सुरुमा व्यक्तित्व राम्रो देखिनुपर्छ भन्दै लत्ताकपडामा ध्यान दिन तालिमका प्रशिक्षकले बारम्बार जोड दिएका थिए । प्रशिक्षण सकिएपछि सहभागी हरेकलाई कम्तीमा ५ जना सदस्य बनाउनुपर्ने भनियो र एक सदस्यबाट १८ हजार ५ सय भारतीय रुपैयाँ कमिसन पाइने आश्वासन दिइयो ।
‘आफूले बनाएका सदस्यबाट सञ्जाल बढ्दै जाँदा आम्दानी पनि बढ्दै जाने भनिएको रहेछ । त्यसपछि मात्र ती नेपालीले आफू नेटवर्किङ धन्दामा ठगिएको थाहा पाएछन्’, महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन कार्कीले भने । ट्रेडमार्टले त्यसो भनेपछि केहीले नेपालमा आएर ग्राहक खोज्ने काम गरे भने केही आफ्नो पैसा डुबेको भन्दै प्रहरी सम्पर्कमा नआई बसे । केही साताअघि पीडितको एक समूह अपराध महाशाखामा पुगेर उजुरी गरेपछि नेपालमा नेटवर्किङ धन्दा गर्न नेपालीहरू भारतीयसँग मिली भारतमा विभिन्न कम्पनी खोलेको खुलासा भएको थियो ।
महाशाखाले ग्राहक बनाउने काममा सक्रिय तनहुँका २५ बर्से लोकबहादुर मगरलाई पक्राउ गरेको छ । ‘कम्पनीको सदस्य खोज्ने र कमिसन पाउने काममा मगर लागेको पाइयो । अन्यको पनि खोजी भइरहेको छ’, डीएसपी कार्कीले भने । कम्पनीका नेपाली साझेदार भने भारतमै रहेको प्रहरीको आशंका छ । ड्रिम डेभलपर्स ट्रेडमार्ट सञ्चालनमा नेपालका दर्पण लामा, प्रणव भुसाल, कुशल चौधरी, प्रेम गोतामे, काजी गुरुङलगायतको लगानी रहेको प्रहरीले जनाएको छ । प्रहरीमा २० जना पीडितले उजुरी दिएका छन् । उनीहरूले आफूबाट १६ लाख ४० हजार रुपैयाँ उठाएको दाबी गरेका छन् ।