खेतबारीबाट विस्थापित हुँदै हलगोरु

खेतबारीबाट विस्थापित हुँदै हलगोरु

 

हेटौंडा : खेतबारी जोत्न गोरुको साटो हाते ट्र्याक्टरको प्रयोग बढ्न थालेको छ । अधिकांशले हाते ट्र्याक्टर प्रयोग गरी खेतबारी जोत्न थालेपछि उत्तरी मकवानपुरमा गोरु प्रयोग गर्नेहरू न्यून मात्र रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

२०७२ सालको विनाशकारी भूकम्पले गोठ भत्किनुका साथै गोरु पुरिएपछि जिल्लाको उत्तरी क्षेत्रका अधिकांश कृषकले खेतबारी जोत्न ट्र्याक्टर प्रयोग गर्न थालेका हुन् । ‘गोरुको विकल्पमा अहिले गाउँ-गाउँमा हाते ट्र्याक्टर छ्यापछ्याप्ती छ’, थाहा नगरपालिका-३ का वडाध्यक्ष राजेश केसीले भने, ‘गोठमा भैंसी र गाई मात्र छन्, जोत्नका लागि गोरु छैन ।’

 

गोरुले गर्ने काम हाते ट्र्याक्टरले गर्न थालेपछि उत्पादन खर्च पनि घटेको किसानले बताएका छन् । ‘भूकम्पपछि धेरैको गोठ भत्किएर गोरु पनि मर्‍यो’, थाहा नगरपालिकाका किसान नरोत्तम कार्कीले भने, ‘गोरुको सट्टा धेरैले हाते ट्र्याक्टर किनेका छन् ।’

हलगोरु बेचेर सिस्नेरीका रमेशसिंह ठकुरीले हाते ट्र्याक्टर किनेका थिए । ‘१८ रोपनी खेतबारी ट्र्याक्टरले खनजोत गर्छु’, उनले भने, ‘भाडामा गाउँलेको पनि खेतबारी जोत्ने गरेको छु ।’ एक घन्टा ट्र्याक्टरले जोतेको उनले ६ सय रुपैयाँ लिने गरेका छन् । एक घन्टामा ट्र्याक्टरले झन्डै पाँच रोपनी जग्गा जोत्ने गर्छ ।

ठकुरीजस्तै यस क्षेत्रका दुई सयभन्दा बढी किसानले हाते ट्र्याक्टर खरिद गरेका छन् । जिल्ला कृषि विकास कार्यालयले अनुदान उपलब्ध गराएपछि उनीहरूले हाते ट्र्याक्टर किनेका हुन् । गोरुजस्तो गोठमा बाँधेर पाल्न नपर्ने र ट्र्याक्टरले एकै दिन धेरै जमिन जोत्ने भएकाले ट्र्याक्टरको प्रयोग बढेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख निर्मल गदालले बताए ।

‘२०७२ को भूकम्पपछि हामीले ट्र्याक्टर खरिदमा अनुदान वितरण गर्‍यौं’, उनले भने, ‘त्यसपछि किसानहरू धमाधम गोरु छाडेर ट्र्याक्टरतर्फ आकर्षित भएका छन् ।’ कृषिलाई आधुनिकीकरणसँगै यान्त्रिकीकरण गर्न सके उत्पादन लागत घट्ने र त्यसको फाइदा किसानलाई हुने उनले बताए । ‘त्यसका लागि हामीले विभिन्न तालिम र सीपसँगै कृषि सामग्रीमा अनुदान दिँदै आएका छौं ।’

गाउँघरमा ट्र्याक्टर प्रयोग बढेपछि महँगोमा खरिद-बिक्री हुने गोरुको मूल्य पनि घटेको छ । ‘पहिले एक हल गोरु खरिद गर्न कम्तीमा पनि २० हजार रुपैयाँ खर्च गर्नुपथ्र्यो’, राक्सिराङ गाउँपालिकाका धनसिंह लामाले भने, ‘आजभोलि १० हजार रुपैयाँमा नै राम्रो जोडी गोरु पाइन्छ ।’
कृषि विकास कार्यालयले किसानलाई यान्त्रिकीकरण गर्न सीप र तालिम दिँदै आएको छ । यसका साथै उपकरण पनि अनुदानमा उपलब्ध गराउँदै आएको कार्यालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.