ठेकेदारले तिरे ५५ लाख क्षतिपूर्ति
पोखरा : ठेक्का सम्झौताअनुसार सडक निर्माणको काम पूरा नगरेपछि सन्तोषी निर्माण सेवालाई सडक डिभिजन कार्यालय पोखराले ५५ लाख रुपैयाँ क्षतिपूर्ति (हर्जाना) तिराएको छ। स्याङ्जा जगत भञ्ज्याङबाट केउरे चापाकोट सडक निर्माण समयमा पूरा नगरेपछि सन्तोषी निर्माण सेवाले क्षतिपूर्ति तिर्नुपरेको हो।
२०६९ चैत २९ गते निर्माण कम्पनीसँग पाँच किलोमिटर सडक निर्माण, पिच गर्ने, चौडा पार्ने, नाली बनाउनेलगायत ७ करोड चार लाख रुपैयाँ ठेक्का सम्झौता भएको थियो। सडक डिभिजन कार्यालय प्रमुख इन्जिनियर प्रेमप्रकाश खत्रीका अनुसार २०७१ असार ३० गतेसम्ममा काम पूरा गर्ने गरी सम्झौता भएको हो। तर, सम्झौताअनुसार काम पूरा नभएपछि २०७२ साउन ३० गतेसम्मका लागि म्याद थप गरेको थियो। फेरि २०७३ असारसम्मका लागि म्याद थप भएको थियो।
पटक-पटक म्याद थप्दा पनि काम पूरा नगरेका कारण ठेक्का सम्झौता रकमको १० प्रतिशत अर्थात् ५५ लाख रुपैयाँ हर्जाना लगाइएको खत्रीले जानकारी दिए। उनका अनुसार सार्वजनिक खरिद ऐनको व्यवस्थाअनुसार ठेक्का रकमको १० प्रतिशत हर्जाना भएको हो। ठेकेदार कम्पनीले काम गरेबापत भुक्तान गर्नुपर्ने रकमबाटै उक्त हर्जानाको ५५ लाख रुपैयाँ कट्टा गरेको जानकारी पनि उनले दिए।
‘भूकम्प र नाकाबन्दीलगायत कारण समयमा काम पूरा गर्न काबुबाहिर रहेको देखिँदा पटक-पटक म्याद थप भएको थियो', उनले भने, ‘तर, अहिलेसम्म पनि काम सकिएको छैन।' उनका अनुसार ५५ लाख क्षतिपूर्ति भराउँदासम्म ठेकेदार कम्पनीबाट पाँच करोड ५६ लाखको काम भएको थियो। उक्त परिमाणको पैसा भुक्तान गर्दा सडक कार्यालयले हर्जानाबापतको रकम कट्टा गरेको हो। अब उक्त सडकमा डेढ करोड रुपैयाँको काम हुन बाँकी छ। ठेकेदार कम्पनीले सोहीबराबरको काम भने अहिले गरिरहेको छ।
स्याङ्जा जगत भञ्ज्याङबाट केउरे चापाकोट सडक निर्माण समयमा पूरा नगरेपछि सन्तोषी निर्माण सेवाले क्षतिपूर्ति तिर्नुपरेको हो।
‘हामीले हर्जाना पनि लगाएका छौं, त्यो तिरेको हुँदा ठेकेदार कम्पनी कालोसूचीमा भने पर्दैन', उनले भने, ‘बाँकी काम भने पूरा गर्नै पर्छ।' उनका अनुसार उक्त सडकमा दुई किलोमिटर कालोपत्रे गर्न बाँकी छ। पोखराको राष्ट्र बैंक चोकबाट पर्यटकीय केन्द्र लेकसाइड हुँदै हल्लन चोकसम्मको सडकपेटीमा ढुंगा बिच्छ्याउने जिम्मा पाएको ठेकेदार कम्पनीले पनि काममा ढिलाइ गरेको छ। चार करोड ९४ लाख रुपैयाँको उक्त ठेक्का हिन्दू एन्ड ठोकर निर्माण सेवाले पाएको हो। सम्झौताअनुसार गत चैतसम्ममा काम पूरा गर्नुपथ्र्यो। तर, अहिलेसम्म पनि कम्पनीले काम जारी नै राखेको छ।
बीचमा लामो समय काम नगरेको ठेकेदार कम्पनीलाई ताकेता गर्नुपरेको थियो। इन्जिनियरहरूको स्टिमेटअनुसारका ढुंगा भारतको राजस्थानबाट ल्याउनुपर्दा काममा ढिला भएको कम्पनीले बताउँदै आएको छ।