बागलुङका होटल भरिभराउ

बागलुङका होटल भरिभराउ

बागलुङ : धौलागिरि अञ्चल सदरमुकाम बागलुङ बजारका होटल अहिले भरिभराउ छन् । हिमालपारिको जिल्ला मुस्ताङ, म्याग्दी र बागलुङका विभिन्न स्थानमा भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटकको आगमनसँगै बजारका होटल भरिभराउ भएका हुन् ।

 

दसैं बिदा सदुपयोग गर्दै मुस्ताङको मुक्तिनाथ, लोमान्थाङ, म्याग्दीको गलेश्वर, घोरेपानी, तातोपानी कुण्ड, रुप्से झरना, अन्धगल्छी, बागलुङको प्रसिद्ध बागलुङ कालिका मन्दिर, सर्वसिद्धिधाम पञ्चकोट, ढोरपाटनलगायत क्षेत्रमा पर्यटकको आगमन बाक्लिएपछि होटल व्यवसायी उत्साहित भएका छन् । दसैंदेखि कोजाग्रत पूर्णिमासम्म कालिका भगवती मन्दिरको दर्शन गर्न लाखौं भक्तजन आएको कालिका भगवती गुठीले जनाएको छ । पछिल्लो समय आकर्षक धार्मिक पर्यटकीय गन्तव्य स्थल बन्न थालेको सर्वसिद्धिधाम पञ्चकोट र नेपालकै एक मात्र ढोरपाटन सिकार आरक्ष पनि आकर्षण केन्द्र बनेको छ ।

दसैं टीकाको भोलिपल्टदेखि होटलमा पर्यटकको बाक्लो उपस्थिति हुन थालेको होटल शीतल पार्टी प्यालेसका सञ्चालक तालबहादुर कँवरले बताए । मुस्ताङ जाने र गएकाहरू फर्किने क्रममा बागलुङ कालिका मन्दिर र पञ्चकोट पुग्ने भएका कारण होटलमा क्षमताभन्दा बढी पाहुना आउन थालेपछि व्यवस्थापन गर्न मुस्किल परेको उनले बताए ।

दसैं बिदामा भम्रण गर्ने समूहले बास बस्न होटलमा अग्रिम बुकिङ गर्न थालेका छन् । पर्यटकको चाप बढेपछि जिल्लाका ठूला तथा साना होटल पाहुँनाले दैनिकजसो भरिभराउ हुन थालेका हुन् । अघिल्ला वर्ष मुस्ताङ, म्याग्दी जाने पर्यटक सीधै जाने गरेकोमा अहिले कालिका मन्दिर र पञ्चकोट दर्शन गर्न आउनाले बागलुङ पर्यटकको गन्तव्य बन्न थालेको बागलुङ होटल व्यवसायी संघका अध्यक्ष नीलेश राजभण्डारीले बताए । नेपालका विभिन्न क्षेत्रबाट दर्जनौंको संख्यामा मोटरसाइकल र अन्य सवारीसाधनमार्फत आन्तरिक पर्यटकको उपस्थितिले होटल व्यवसायी उत्साहित भएको उनको भनाइ छ ।

सिजनमासमेत सुनसान रहने बागलुङमा होटल पर्यटक आगमनले भरिभराउ भएको बागलुङ उद्योग वाणिज्य संघका महासचिव दयाराम पौडेलले बताए । ‘मुस्ताङ पुग्ने पर्यटक बागलुङ बस्ने सोचका साथ आउन थालेका छन्', उनले भने, ‘आएका पर्यटकलाई सन्तुष्टि दिलाउने र आगामी दिनमा जिल्लाका पर्यटकीय क्षेत्रको प्रचारप्रसार र प्रवद्र्धनमा अझ बढी ध्यान दिने हो भने पर्यटन प्रवद्र्धन गर्न सकिन्छ, मुस्ताङ, म्याग्दीजस्तै गन्तव्यस्थलमध्ये एउटा रोजाइ बन्न सक्छ ।'



प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.