३३ अंकले घट्यो नेप्से
काठमाडौं : सेयर बजार आइतबार उच्च अंकले घटेको छ। नेप्से परिसूचक एकै दिन ३२ दशमलव ६४ अंकले घटेर एक हजार पाँच सय १० अंकमा आइपुगेको छ। देशमा पछिल्लो राजनीतिक समीकरण र वाम एकताका कारण बजार ओरालो लागेको विज्ञहरूले बताएका छन्।राजनीतिक गठबन्धनका कारण बजार बढ्नुपर्नेमा यसको उल्टो असर लगानीकर्तामा देखिएको धितोपत्र बजारका अध्यक्षता ज्योति दाहालले बताए।
‘वाम एकतापछि राजनीतिक स्थिरता आउन सक्नेमा लगानीकर्ता विश्वस्त हुन सकेनन्', उनले भने, ‘लगानीकर्तामा नकारात्मक मनोवैज्ञानिक असर परेको छ।' बैंकको नघटेको ब्याजदर र बजारमा सेयर किन्नेभन्दा बिक्री गर्ने बढी भएकाले पनि बजार माथि उक्लन नसकेको उनीहरूको भनाइ छ। धितोपत्र बोर्डका कारण पनि बजार बिग्रिएको उनको दाबी छ।
बोर्डले सुशासन कायम गर्ने निहुँमा बजार अनुगमनदेखि अनेकौँ बेथिति र विसंगति भित्र्याएको छ', उनले भने, ‘नयाँ स्टक एक्चेसन्ज ल्याउने र ब्रोकर तथा स्टक एक्चेन्जलाई अनावश्यक झन्झट दिएको छ।' सेयर बजारमा ८० प्रतिशत बजार हिस्सा रहेको वाणिज्य बैंकलाई ब्रोकर कम्पनीको कार्य गर्न दिने व्यवस्थाका कारण पनि लगानीकर्ता निरास बनेका उनकोे भनाइ छ। ‘बोर्डको अल्पकालीन, मध्यकालीन र दीर्घकालीन स्पष्ट रणनीतिक कार्ययोजना नहुँदा लगानीकर्ता यसको मारमा पिल्सिनुपरेको हो', उनले भने, ‘लगानीको सुनिश्चितता नहुँदा लगानीकर्ता अन्योलमा परेका छन्।'
बैंकहरूको पुँजी वृद्धि योजनाका कारण लाभांश कम पाउने भएपछि लगानीकर्ता सेयर बजारप्रति आकर्षित छैनन्। आम लगानीकर्ताले नगद लाभांशमा चित्त बुझाउन नसक्दा बजारमा यसको प्रत्यक्ष असर देखिएको हो। लगानीकर्ताको ध्यान हकप्रद र बोसन सयेरमा जाने गरेको छ। यसका साथै तत्काल अनलाइन ट्रेडिङको व्यवस्था हुन नसक्नु, नेप्सेमा नयाँ प्रबन्धक नियुक्तिलगायत कारणले बजार घटेको हो।
देशमा पछिल्लो राजनीतिक समीकरण र वाम एकताका कारण बजार ओरालो लागेको दाबी गरिएको छ।
दसैंअघि पहिलो दिन मंगलबार बजार केही उकालो लागेर एक हजार पाँच सय ५६ दशमलव ३५ अंकमा नेप्से परिसूचक पुगे पनि बुधबार १३ दशमलव सात अंकले नेप्से घटेको थियो। त्यसपछि साताको पहिलो दिन आइतबार एकएक राजनीतिक गठबन्धनसहित नयाँ सिराबाट देशको राजनीतिक समीकरण बनेपछि लगानीकर्ता अन्योलमा परेका छन्।
नेप्से परिसूचक घटे पनि कारोबार रकम भने बुधबारको तुलनामा आइतबार ४८ दशमलव ३४ प्रतिशत बढेको छ। आइतबारको सेयर कारोबारबाट १७ खर्ब ५२ अर्बको कुल बजार पुँजीकरण भएकोे छ। यस दिन एक सय ५२ कम्पनीको चार हजार नौ सय ७९ पटकको कारोबारबाट नौ लाख ७२ हजार ६ सय २४ कित्ता सेयर कारोबारबाट ४१ करोड ४९ लाख किनबेच भएको छ।
कारोबारमा आएका नौ समूहमध्ये तीनवटा समूहको नेप्से परिसूचक दुई प्रतिशतभन्दा बढी घटेको छ। आइतबार व्यापार समूहको परिसूचक सबैभन्दा धेरै (४ दशमलव शून्य ८ प्रतिशत) र विकास बैंकको दुई दशमलव ७८ ले घटेको छ। होटेलको दुई दशमलव ७७, बिमा कम्पनीको दुई दशमलव २८, वाणिज्य बंैकको दुई दशमलव १६ प्रतिशत र जलविद्युत् कम्पनीको परिसूचक दुई दशमलव शून्य चार प्रतिशत घटेको छ। वित्त कम्पनीको परिसूचक एक दशमलव नौ प्रतिशत र उत्पादन तथा प्रशोधन समूह र अन्य समूहको परिसूचक शून्य दशमलव ७१ प्रतिशत घटेको छ।