चुनाव मात्रै विकल्प
मुलुकमा अकस्मात विकसित राजनीतिक धु्रवीकरणले उत्साहसँगै आशंका पनि जन्मिन थालेको छ । एकातिर दलहरू चुनावी तालमेल गरेर एकले अर्कोलाई कडा टक्कर दिने तयारी गर्दैछन् भने अर्कोतर्फ चुनाव नै नहुने हो कि भनेर संशय पनि प्रकट गर्न थालेका छन् । तीन चरणमै भए पनि स्थानीय निकाय निर्वाचनले मुलुकको राजनीतिमा नयाँ उत्साह सिर्जना गरेको थियो । अब मंसिर १० र २१ मा हुने प्रदेश तथा प्रतिनिधि सभा चुनावले संविधान पूर्ण कार्यान्वयन हुँदै संस्थागततर्फ बढिरहँदा आशंका जन्मिनु शुभसंकेत होइन ।
यसले संस्थागत हुँदै गएको राजनीतिक उपलब्धि गुम्ने जोखिम बढाउँछ । त्यसकारण यतिबेला चुनावबाहेक अर्को विकल्प छैन । यसको सफलतासँगै नयाँ संविधान र मुलुकको राजनीतिक भविष्य निर्भर भएकाले सबै चुनावमै केन्द्रित हुनुपर्छ ।
संवैधानिक व्यवस्थाअुनसार ७ माघभित्र तीन तहको निर्वाचन हुनुपर्छ । अहिले भएको संसद्को आयु कात्तिक ४ मा सकिँदैछ । त्यसपछि एक प्रकारको राजनीतिक र संवैधानिक रिक्तता हुनेछ ।
त्यसबेला कदाचित सरकारले चुनावको तिथि सार्यो भने त्यसमाथि प्रश्न गर्ने वा सच्याउने संवैधानिक बाटो बन्द हुनेछ । वाम गठबन्धनको तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चुनावमै केन्द्रित हुन आग्रह गर्नुले कतै न कतै शंका छ भन्ने देखिन्छ । त्यसो त कांग्रेसले पनि लोकतान्त्रिक मोर्चाबन्दी गरेर चुनावमा जाने तयारी गरेको छ । तर वाम गठबन्धन कसिलो हुँदै जाँदा चुनावी परिणाम प्रतिकूल हुने अनुमानका आधारमा देउवा कतै चुनावबाट विमुख हुने त होइनन् ? आशंका मिश्रित प्रश्न खडा भएका छन् । यस्तो संशय निवारण गर्दै सरकारले सबैलाई निर्वाचन हुने विषयमा आश्वस्त पार्न सक्नुपर्छ ।
यतिबेला चुनाव मात्रै हाम्रो लागि उपयुक्त विकल्प हो । त्यसकारण दायाँबायाँ सोच्नु मुलुकको राजनीतिक भविष्यको दृष्टिले प्रत्युत्पादक हुनेछ । उसै त नेपाली राजनीति घरेलु शक्तिहरूका हातबाट फुत्किँदै गएको छ । यहाँ हुने राजनीतिक घटनाक्रममा कहीं न कहीं छिमेकीहरू र अन्य शक्तिराष्ट्रहरूका प्रभाव र चासो बढ्दै गएको छ । शक्ति राष्ट्रहरूको सामरिक र रणनीतिक चासोमा पिसिने कि संवैधानिक÷राजनीतिक स्थायित्वसहित अघि बढ्ने भन्ने प्रश्न हाम्रासामु खडा भएको छ । यसर्थ पनि राजनीतिक नेतृत्व सचेत हुन आवश्यक छ ।
यतिबेला चुनावमा हुन सक्ने सम्भावित परिणामबाट भयभीत हुने होइन । लोकतान्त्रिक पद्धतिमा जनताले आफ्नो अभिमत प्रकट गर्ने माध्यम चुनाव हो । यो पद्धतिको ठूलो आधारस्तम्भ नै चुनाव हो । स्वच्छ र निष्पक्ष चुनावको नतिजा स्विकार्नुको विकल्प छैन । लोकतान्त्रिक संस्कार र पद्धति विकासको नेतृत्व लिएका दलहरूले पद्धतिमा विश्वास गर्नुपर्छ, परिणाम आकलन गरेर हतास हुने होइन । पटकपटक राजनीतिक आन्दोलन गर्दै लोकतन्त्रको लागि लडेका दललाई यो सुहाउने प्रवृत्ति होइन।
लामो संघर्ष र बलिदानपछि मुलुकले अहिलेको राजनीतिक उपलब्धि प्राप्त गरेको छ । संघर्ष गर्ने, उपलब्धि हासिल हुने र फेरि गुम्ने गोलचक्करपछि मुलुक नयाँ व्यवस्थामा प्रवेश गरेको छ । संक्रमण अझै छ तर स्थानीय निकाय हुँदै प्रदेश र केन्द्रको चुनाव सम्पन्न हुन सके नयाँ संविधानको पूर्ण र संस्थागत कार्यान्वयनको चरणमा मुलुक अगाडि बढ्नेछ ।
यो संवेदनशील अवस्थामा राजनीति अघि बढिरहँदा प्रमुख शक्तिहरू धु्रवीकृत भएका छन् । चुनावी तालमेल वा एकता नै भए पनि त्यसलाई लोकतन्त्रभित्रकै अभ्यास मानेर दलहरू अघि बढ्नुको विकल्प छैन । सत्ता, हारजित वा इगोलाई केन्द्रमा राखियो भने राजनीतिक स्थायित्व, विकास र समृद्धिको ढोका खुल्ने जुन सम्भावना यतिबेला देखिएको छ, त्यो त गुम्छ नै, सँगसँगै फेरि अतिवाद र प्रतिगमनले टाउको उठाउने अवसर पाउनेछ । यसतर्फ गम्भीर हुँदै चुनावमा होमिनुको विकल्प छैन।