आठ वर्षसम्म बनेन तमोर पुल
ताप्लेजुङ : ठेकेदारले सम्झौताअनुसार काम गरेको भए दोभानस्थित तमोर नदीमा चार वर्षअघि नै पुल बनिसक्थ्यो। तर, ठेकेदारको लापर्बाहीका कारण सम्झौता भएको आठ वर्षसम्म पनि पुल निर्माण हुन सकेको छैन। २०७० चैतमा सम्झौताको अवधि सकिएयता ठेकेदार कम्पनीले तीनपटक म्याद थप गराएको छ।
ठेकेदारले काममा ढिलासुस्ती गरे पनि सरकारी निकायले ताकेता गरेको छैन। सडक डिभिजन कार्यालयले ठेकेदारको कुरा सुनेर म्याद थप गर्ने अनि समस्या देखाएर पन्छिने ठेकेदारका कारण बजेट भए पनि पुल बन्न नसकेको हो। १० करोड लागतमा निर्माण गर्ने गरी २०६६ सालमा कन्काई, मैनाचुली र याक्थुङहाङ गरी तीन कम्पनीले सडक डिभिजन कार्यालय इलामसँग सम्झौता गरेका थिए।
‘साविकका २५ गाविसका बासिन्दालाई प्रत्यक्ष लाभ पुर्याउने र छोटो दूरीको सडकले तराई जोड्ने पुल निर्माणमा सरकारी निकायको बेवास्ता र ठेकेदारको लापर्बाहीका कारण ढिलाइ भएको हो', स्थानीय मानबहादुर मोक्तान भन्छन्, ‘काम नगर्ने ठेकेदारलाई कारबाही गर्नुपर्छ।'
उनका अनुसार बर्सेनि वर्षायाम सुरु हुन लाग्दा आएर ठेकेदारले खोलामा ढुंगा बिछ्याउन थाल्छन्। ‘अब सामान आइहाल्छ, जडान गर्न मात्र बाँकी हो, धेरै दिन लाग्दैन भनेर आश्वस्त पार्छन्', उनी भन्छन्, ‘बाढीले बगाएपछि क्षति भइहाल्यो, यो वर्ष सकिएन भनेर डेरा उठाएर हिँड्छन्।'
पुलको निगरानी गर्ने उत्तर-दक्षिण लोकमार्ग आयोजनाका इन्जिनियर दानकुमार शाक्यका अनुसार निर्माण कम्पनीले सम्झौताअनुसार काम नसक्दा सरकारलाई जरिवाना तिरिरहेको छ। ‘हामीले नपत्याउँदा पनि उनीहरू औंला भाँचेर कामको विवरण प्रस्तुत गर्दै आश्वस्त पार्छन्', दोभान उद्योग वाणिज्य संघका सदस्य गंगाराम गुरागाईं भन्छन्, ‘तर, एक-दुई दिनमै छोडेर गइहाल्छन्।' अब स्थानीय मिलेर ठेकेदारलाई तत्काल काम गर्न दिबाब दिनुपर्ने उनी बताउँछन्।
गत वर्ष पनि ठेकेदारले वर्षायाम सुरु भएपछि काम थालेका थिए। तर, ९० प्रतिशत काम सकिएपछि साउन १ गते बिहान बाढीले बगाएको थियो। बर्खा लागेपछि खोलो बढ्ने हुँदा काम रोक्न आग्रह गर्दागर्दै पनि अटेर गरेका कारण पुल बगाएको स्थानीयको दाबी छ। यो वर्ष भने पुल कुनै पनि हालतमा बन्ने सांसद डम्बरध्वज तुम्बाहाम्फेको दाबी छ।
भन्छन्, ‘तिहारलगत्तै काम सुरु गर्नुपर्छ भनेर दबाब दिएको छु, ठेकेदारले पनि कात्तिक पहिलो साताभित्र काम थाल्छु भनेको छ।' उनका अनुसार गत वर्ष ल्याएको सामान काम नलाग्ने भएकाले नयाँ ल्याउनुपर्ने हुन्छ। नयाँ सामान सिमरामा बनिसकेकाले अब ढुवानी गरेर जोड्न सुरु गरे फागुनभित्र सम्पन्न हुने उनको भनाइ छ।
अहिले दोभान बजारको वारिसम्म ट्रक, बस तथा ट्याक्सी पुग्छन्। पुलवारि सामान झारेर भरियालाई बोकाएर पारि लैजानुपर्छ। पुल तार्दा ५० किलोको बोरालाई ३० र खुद्रा सामान एक रुपैयाँ किलो ढुवानी लाग्छ। पारिका साविकका २५ मध्ये आधाभन्दा बढी गाविस सडक सञ्जालमा जोडिएका छन्। पुल बने यातायात सञ्चालनमा आउनेछ।
चीन र भारतलाई छोटो दूरीमा जोड्ने निर्माणाधीन तमोर करिडोर पनि यहीं पुल हुँदै जान्छ। तेह्रथुम, संखुवासभा हुँदै धनकुटा, धरान र विराटनगरलगायत पूर्वका प्रमुख सहरसँग ताप्लेजुङको सम्बन्ध जोड्ने यो पुललाई स्थानीयवासीले विकासको मुख्य खुड्किलोका रूपमा लिएका छन्।