सौराहामा पर्यटक चहलपहल बढ्यो
सौराहा : चाडपर्व सुरु भएपछि चितवनको सौराहामा पर्यटकको चहलपहल बढेको छ । अहिले सौराहाका अधिकांश होटल पर्यटकले भरिएका छन् । आन्तरिक र बाह्य पर्यटकको आगमन बढेको छ । बाढीको डुबानले पर्यटन क्षेत्रमा नकारात्मक प्रभाव पर्ने डरमा रहेका व्यवसायीलाई अहिले राहत मिलेको छ ।
साँझपख सौराहाको राप्ती किनारमा रहेका रेस्टुरेन्टमा भीड लाग्ने गरेको छ ।
पर्यटक आगमनका कारण सौराहाको चलहपहल बेग्लै भएको छ । डेढ महिनाअघि बाढीले राप्तीकिनारका रेस्टुरेन्ट बगाएको थियो । लाखौँ रुपैयाँ नोक्सान भए पनि व्यवसायीले तुरुन्तै पुनर्निर्माण गरेका छन् । ‘अहिले यहाँका होटल र रेस्टुरेन्ट सबैमा पर्यटक भरिभराउ छन्', राप्ती किनारमा रहेको सनसेट रेस्टुरेन्टका सञ्चालक गणेश खतिवडाले भने, ‘पर्यटकको चहलपहलले बेग्लै रौनक देखिएको छ ।'
दसैँ लागेपछि होटलमा ५० प्रतिशतसम्म बुकिङ भएको छ । यहाँ नेपालीसँगै अस्ट्रेलियन, चिनियाँ र युरोपियन आउन लागेका छन् । अक्टोबर लागेपछि विदेशी पर्यटकको संख्या बढ्न लागेको सेन्ट्रल पार्क होटलका सञ्चालक श्याम महतले बताए । ‘पर्यटक आउन थालेपछि उत्साहित छौँ', उनले भने, ‘ मार्च-अप्रिलसम्मका लागि बुकिङ भएको छ ।' उनको होटलमा दैनिक ६० जनाको हाराहारीमा पर्यटक छन् ।
बाढीको डुबानले पर्यटन क्षेत्रमा नकारात्मक प्रभाव पर्ने डरमा रहेका व्यवसायीलाई अहिले राहत मिलेको छ ।
चितवन राष्ट्रिय निकुञ्जको तथ्यांकले पनि असोजमा बढी पर्यटक भित्रिएको देखाउँछ । भदौमा करिब तीन हजार पाँच सय जनाले निकुञ्ज प्रवेश गरेका थिए । साउनमा भने सात हजार ७१ जनाले निकुञ्ज घुमेका थिए । असोज २२ सम्म ६ हजार आठ सय ८९ जना पर्यटकले सौराहा क्षेत्रबाट चितवन राष्ट्रिय निकुञ्ज प्रवेश गरेको निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकले जानकारी दिए ।
भूकम्प र नाकाबन्दीको प्रभावमा परेको सौराहाको पर्यटन व्यवसाय नारायणगढ-मुग्लिङ सडकका कारण पनि उकासिन सकेको छैन । सडक पुनर्निर्माण गर्दा बाटोको अवस्था खस्किएको छ । यसले पनि अपेक्षाकृत रूपमा पर्यटक आउन सकेका छैनन् । सबै पर्यटकले हवाई यात्रा नगर्ने भएका कारण चितवन आउने पर्यटक अन्यत्र जाने गरेको क्षेत्रीय होटल संघ नेपालका अध्यक्ष सुमन घिमिरेले बताए । ‘बाटोका कारण सोचेअनुसार पर्यटक आउन सकेका छैनन्', उनले भने, ‘बाटो राम्रो हुने हो भने चितवनको पर्यटक प्रवद्र्धन धेरै हुन्छ ।'