६ गाउँपालिका बैंकविहीन

६ गाउँपालिका बैंकविहीन

खनियाबास (धादिङ): गाउँपालिका र नगरपालिकाबाट हुने वित्तीय कारोबार पारदर्शी र सहज बनाउन नवगठित सबै गाउँ÷नगरपालिकामा बैंकिङ शाखा खोल्ने भनिए पनि धादिङका ६ वटा गाउँपालिका अझै पनि बैंकविहीन छन्। सरकारले गत चैत २९ देखि सबै स्थानीय तहमा शाखा खोल्न बैंकलाई निर्देशन दिएको भए पनि सरकारको निर्देशन लागू हुन सकेको छैन। जिल्ला सदरमुकाम धादिङबेसीमा दुई सरकारीसहित एक दर्जनभन्दा बढी निजी क्षेत्रका बैंक सञ्चालनमा रहे पनि बैंकहरूको सेवा विकट क्षेत्रका गाउँपालिकामा पुग्न सकेको छैन।

धादिङका १३ स्थानीय तहमध्ये ६ वटा गाउँपालिकामा अझै बैंकहरू पुग्न सकेका छैनन् । यसले स्थानीय तहलाई बैंकिङ कारोबार गर्दा सदरमुकाम नै आउनुपर्ने बाध्यता छ । धादिङको उत्तरी क्षेत्रका रुवीभ्याली, खनियाबास, नेत्रावती, गंगाजमुना, गाउँपालिकामा कुनै पनि बैंकका शाखा छैनन् । विकट गाउँपालिका मात्र होइन सदरमुकामसँगै जोडिएको सिद्धालेक र ज्वालामुखी गाउँपालिकामा समेत कुनै पनि बैंकको शाखा छैन।

सबै स्थानीय तहमा बैंकको शाखा विस्तार गर्न नसक्दा स्थानीय तहले आर्थिक गतिविधि गर्न सदरमुकामसम्म आउनुपर्ने बाध्यता छ । खनियाबास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङले भने, ‘स्थानीय तहको निर्वाचन भई केन्द्रको सबै अधिकार गाउँमा दिइएको भनिएको छ तर एउटा चेक साट्न पनि सदरमुकाम नगई हुँदैन । सबै बैंकहरू राजमार्ग क्षेत्र र सदरमुकाम आसापास मात्रै रहेकाले सदरमुकामदेखि भौगोलिक रूपमा टाढा रहेका हामीजस्ता गाउँपालिकालाई समस्या परेको छ।'

चालू आर्थिक वर्षको बजेट वक्तव्यमार्फत सरकारले वृद्धभत्ता, पेन्सनलगायत स्थानीय तहमा जाने सबै प्रकारका भुक्तानी बैंकमार्फत गर्नुपर्ने व्यवस्था छ । तर, हाल सबै स्थानमा बैंक नपुगेकाले स्थानीयले समयमै भुक्तानी पाउन सकेका छैनन् भने कर्मचारी र जनप्रतिनिधिले सास्ती खेप्न परिरहेको छ । गाउँपालिकामा बैंकको असुविधा भएपछि कर्मचारी र जनप्रतिनिधि जिल्लामै रहनु पर्ने बाध्यता हुन थालेपछि सेवाग्राहीलाई असुविधा भएको छ।

जिल्लामा सरकारी बैंकको रूपमा राष्ट्रिय वाणिज्य बैक र कृषि विकास बैंक छन् भने निजी क्षेत्रका बैंकको संख्या धेरै छ । सरकारको निर्देशनपछि धादिङका गाउँपालिकामा शाखा खोल्न निजी बैंकले चासो देखाए पनि सरकारले सुरक्षाको प्रत्याभूति गराउन नसकेकाले गाउँगाउँमा बैंकका शाखा लैजान नसकिएको निजी बैंक सञ्चालकले बताएका छन्।

साबिकको कटुञ्जे गाविस (हालको नेत्रावती गाउँपालिका) रहने गरी सञ्चालनमा रहेको कृषि विकास बैंकको कटुञ्जे शाखा सदरमुकामबाटै चलिरहेको दुई दशक भइसकेको छ । सुरुमा द्वन्दका कारण देखाएर सदरमुकाममा बसेको बैंक अहिले विभिन्न प्राविधिक कारण देखाएर गाउँ फर्कन मानिरहेका छैनन् ।
धादिङको विकटमा गाउँपालिका रुवीभ्यालीबाट बैंकिङ कामका लागि सदरमुकाम आएर गाउँ फर्कदा कम्तीमा चार दिन लाग्छ।

रुवीभ्यालीका वडा सचिव इन्द्रप्रसाद काफ्लेले भने, ‘हाम्रोमा मात्रै होइन छिमेकी गाउँपालिकामा समेत कुनै बैंकको शाखा छैन। त्यसैले हामीलाई सदरमुकाम जानुको विकल्प छैन।'सरकारले स्थानीय तहबाटै शिक्षक, सबै क्षेत्रका कर्मचारी स्वास्थ्यकर्मीलगायत तलब, सामाजिक सुरक्षा भत्ता गाउँपालिकाको खातामा पठाएको छ।

तर बैंक नहँुदा तलब निकाशा गर्नसमेत झन्झट थपिएको शिक्षकहरूले बताए । गंगाजुमना गाउँपालिकाका शिक्षक हरिप्रसाद रिजालले भने, ‘यसअघि विद्यालयको पत्र लिएर जिल्ला शिक्षा कार्यालय गएपछि सबै काम सदरमुकाममै हुन्थ्यो, अहिले त शिक्षाबाट पत्र लिन पर्‍यो, कागजपत्र मिलाउन कार्यालय आउन पर्‍यो अनि फेरि पैसा लिन सदरमुकाम जान पर्छ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.