प्राङ्गरिक मल बनाउन रासायनिक मल प्रयोग
विराटनगर : मोरङको ग्रामथानस्थित झोराहाटको एउटा उद्योगले रासायनिक मल मिसाएर गरेर प्राङ्गारिक मल उत्पादन गरेको फेला परेको छ। गोविन्द झुनझुनवालाले सञ्चालन गरेको जनकपुर फर्टिलाइजर इन्डस्ट्रिज प्रालिले रासायनिक मलको प्रयोग गरेर प्राङ्गरिक मल बनाउँदै कृषकमाथि ठगी गर्ने गरेको पाइएको छ।
माटो सेवा निर्देशनालयको ५० प्रतिशत अनुदानमा पाँच वर्षदेखि उद्योग सञ्चालनमा छ। रासायनिक मल प्रयोग गरेर प्राङ्गरिक मल बनाउने गरिएको विशेष सूचनाका आधारमा अनुगमन गर्न पुगेको टोलीले सोमबार उद्योग र गोदाम सिल गरेको छ।
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलको निर्देशनमा जिल्ला कृषि विकास कार्यालयको नेतृत्वमा पुगेको कृषि प्राविधिक र विज्ञ सम्मिलित अनुगमन टोलीले उद्योग सिल गरेको हो। उद्योग अनुमगन र सिल गर्न अवरोध हुन सक्ने सम्भावना बढेपछि डीएसपी विष्णुहरि कोइरालाको नेतृत्वमा प्रहरी परिचालन गरिएको थियो।
कृषि विकास कार्यालय मोरङका अधिकृत हृदयराम पोखरेलले मल उत्पादन र बिक्रीवितरणमा रोक लगाउँदै उद्योगमा सिल गरिएको बताए। उनका अनुसार प्राङ्गरिक मल उत्पादन गर्न कुखुराको सुली, खरानी, हड्डीको चूर्ण, थोरै मात्रामा कम्पोष्ट मल, कृषि चुनलगायत प्रयोग गर्नुपर्छ। रासायनिक मल प्रयोग गर्न पाइँदैन। उद्योगको अनुगमनका क्रममा प्राङ्गरिक मल बनाउन रासायनिक प्रयोग गरिरहेको समेत भेटिएकोे पोखरेलले बताए। अनुगमन टोलीले उद्योगबाट प्राङ्गरिक मल बनाउन प्रयोग गर्दै गरेको युरिया मल समेत बरामद गरेको छ। उनले भने, ‘प्राङ्गरिक मल बनाएको भन्दै कामदारले युरिया मल हालिरहेका थिए।'
रासायनिक मल हालेको प्राङ्गरिक मल प्रयोग गर्दा कृषि बाली फस्टाउने भएका कारण कृषकको आकर्षण बढाउन रासायनिक मलको प्रयोग।
‘प्राङ्गरिक मल बनाउन रासायनिक मल प्रयोग नै गर्न मिल्दैन। उद्योगले रासायनिक मल प्रयोग गरेर कृषकलाई ठगी गर्ने गरेको पाइयो', उनले भने, ‘त्यही भएर उद्योगमा सिल गरिएको छ। अनुसन्धान पछि कारबाही प्रक्रिया अघि बढाइनेछ।' पोखरेलले परीक्षणका लागि मलको नमुना समेत संकलन गरिएको जानकारी दिए। उनका अनुसार नमूना परीक्षणका लागि सुनसरीको झुम्कामा रहेको क्षेत्रीय माटो परीक्षण प्रयोगशालामा पठाइनेछ। उनले प्राङ्गरिक मल बनाउन प्रयोग गरिने रासायनिक मल कृषकका लागि घातक हुने बताए। यो उद्योगमा उत्पादन हुँदै आएको मलको मुख्य बजार पश्चिम नेपाल हो।
उद्योगले उत्पादन गरेको मल प्रतिकिलो २० देखि ३० रुपैयाँसम्ममा बिक्री गर्ने गरेको छ। ‘युरिया अर्थात् रासायनिक मल हालेर प्राङ्गरिक मल बनाउँदा कृषि बाली फस्टाउने भएका कारण मलमा कृषकको आकर्षण बढाउन रासायनिक मलको प्रयोग गर्ने गरेको पाइयो', पोखरेलले भने, ‘उत्पादन राम्रो दियो भन्ने छाप कृषकमा छाड्नका लागि यसो गरिएको हो।'
मलको नमुना परीक्षणको रिपोर्ट आइसकेपछि उद्योग र उद्योग सञ्चालकमाथि कारबाही प्रक्रिया अघि बढाइने जानकारी उनले दिए। उनका अनुसार उद्योगको मल उत्पादन गर्ने लाइसेन्स समेत रद्द गर्दै उद्योग नै बन्द गर्न सकिनेछ। सहायक प्रजिअ पौडेलले मल उत्पादन गर्ने नाममा कृषकमाथि ठगी गर्ने उद्योगमाथि कारबाही अघि बढाउन अनुसन्धान सुरु गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकिएको बताए। उनले उक्त उद्योगलाई उपभोक्ता संरक्षण ऐन अनुसार कारबाही अघि बढाउने तयारी पनि थालिएको बताए।