असुरक्षित राजधानी
दिनदहाडै राजधानीको केन्द्र बानेश्वरमा भएको निर्माण व्यवसायी शरदकुमार गौचनको हत्याले व्यावसायीहरू मात्रै होइनन्, सर्वसाधारणसमेत त्रस्त छन् । बानेश्वरजस्तो सुरक्षा संयन्त्रको सहज पहुँच भएको स्थानमा मध्यदिनमै हत्या हुनुले जोकोही असुरक्षित रहेको सन्देश दिन्छ । त्यसमाथि हत्यारा सहजै भाग्नुले सुरक्षा संयन्त्रको कमजोरी पनि प्रस्टै हुन्छ ।
व्यवसायीको मात्र होइन, प्रत्येक व्यक्तिको बाँच्न पाउने हकको सुरक्षा गर्नु राज्यको दायित्व हो । गौचन हत्याले व्यक्तिको सुरक्षा गर्न राज्य निष्फल रहेको देखिन्छ । केही वर्षपहिले सुरक्षा र यातायात सुरक्षालाई समेत ख्याल गर्दै राजधानीका चोक र गल्लीमा सीसीटीभी क्यामेरा जडान गरेको बताइएको थियो । तर ती सबै ठाउँमा जडान गरिएका छैनन् । घटनाको खोजी र छानबिन गर्न यस्ता प्रविधि जडान गरिएको हुन्थ्यो भने अझ सहज हुन्थ्यो । घटनाले सीसीटीभीलगायतका सुरक्षाको दृष्टिले सहयोगी पूर्वाधारको व्यवस्थापन जरुरी देखिएको छ ।
आपराधिक प्रवृत्तिका व्यक्तिहरूको बन्दुक पहुँच सहजै हुँदै गएको पनि यस घटनाले देखाएको छ । घटना हुनु केही घन्टाअघि राजधानीकै अर्को स्थानबाट प्रहरीले पेस्तोल र गोलीसहित केही व्यक्ति पक्राउ गरेबाट पनि यसको पुष्टि हुन्छ । पछिल्ला महिनामा भएका आपराधिक घटनामा उल्लेख्य रूपमा बन्दुकको प्रयोग हुनुले बन्दुक सहज हुँदै गएको थप पुष्टि गर्छ । खुला सिमानाको फाइदा उठाउँदै साना हतियार भित्रिने प्रवृत्ति बढेकाले त्यस्तो सहजता भएको हो । बन्दुकको बढ्दो पहुँचसँगै बढेको अपराध नियन्त्रण गर्ने क्रममा प्रहरीले केही पेसेबर अपराधीहरूलाई पक्राउ पनि गरेको छ तर कतिपय त्यस्ता पेसेबर अपराधीले आफ्नो सञ्जाल जेलभित्रैबाट सञ्चालन गरिरहेको पनि खबर आएको छ । जेलभित्रैबाट अपराध धन्दा सञ्चालन गर्दासमेत जेल प्रशासन, गृह मन्त्रालय र सरकार के हेरेर बसेको छ ? अचम्मलाग्दो छ ।
त्यतिमात्रै होइन, विदेशबाटै नेपालमा अनेक व्यक्ति परिचालन गरी, धम्की दिई व्यवसायीबाट पैसा उठाउने कार्यमा पनि अपराधी सक्रिय देखिएका छन् । तिनीहरूलाई पक्राउ गरेर कारबाही गर्ने काममा समेत किन सुस्ताएको छ प्रशासन ? गौचनको हत्यालगत्तै अर्का व्यवसायी जिपछिरिङ लामालाई 'नदेखिने नम्बर' बाट कल गरेर धम्क्याएको घटना सामान्य होइन । 'हाइ प्रोफाइल' व्यक्तिको हत्या गरी त्यसकै आडमा अन्यलाई समेत धम्क्याएर करोडौं असुल्ने योजना पनि हुन सक्छ, जसरी केही वर्ष पहिले युवा संघ रूपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यापछि बुटवल आसपासबाट अपराधीहरूले करोडौं उठाएका थिए । यसर्थ उपलब्ध सबै प्रविधिको प्रयोग गरेर कल गरिएको स्थान र व्यक्ति ट्र्याक गरी अपराधीसम्म पुग्ने गम्भीर प्रयासमा प्रहरी तत्काल लाग्नुपर्छ ।
गौचन हत्या भएको स्थाननजिकै रहेको एक न्यायाधीशको निवासमा पहरा दिइराखेका प्रहरीले समेत घटनाबारे चासो नराखेको भन्ने खबर छ । त्यसो हो भने त्यो गम्भीर हो । बर्दी लगाएपछि त्यो सुरक्षाकर्मी देश र नागरिकको साझा हो । जहाँसुकै खटिएको अवस्थामा समेत यसरी ज्यानै जाने गरी भएको घटनामा प्रहरीले आफू स्वतस्फूर्त रूपमा परिचालन हुनुपर्दछ । त्यस्तै देशमा राजनीतिक धु्रवीकरण हुँदै गर्दा र सम्मुखमा महत्वपूर्ण चुनाव हुँदै गर्दा यो तहको व्यक्तिको हत्याले दिने सन्देश गम्भीर हुन सक्छ । कतै यो घटनाको बहुआयामिक अर्थ त छैन भन्नेबारे पनि प्रहरी अनुसन्धान हुनुपर्छ । गौचनको हत्यारा पक्रिई अपराधीलाई कारबाही गर्नेबारे कुनै कसुर बाँकी राखिनु हँदैन । व्यक्तिको बाँच्न पाउने अधिकारको रक्षा गर्ने दायित्व सरकारको हो । यसमा सुरक्षा संयन्त्र चुकेको छ ।