अब भेरीबाट पनि ‘स्मार्ट' लाइसेन्स
नेपालगन्ज : यातायात व्यवस्था कार्यालय भेरीले पनि अब मेसिन रिडेबल (स्मार्ट) लाइसेन्स वितरण सुरु गरेको छ । पहिलो चरणमा बस, मिनीबस, ट्रक, लहरी, लोडरजस्ता लाइट तथा हेभी सवारीसाधनको समार्ट लाइसेन्सका लागि आवेदन खुलाएको छ ।
सबै लाइसेन्स स्मार्ट बनाउने अभियान स्वरूप बाँकेमा पनि यसको वितरण सुरु गरिएको यातायात व्यवस्था कार्यालय राप्तीका कार्यालय प्रमुख विनोदकुमार पोख्रेलले जानकारी दिए । उनका अनुसार अहिले त्यसका लागि कार्यालय आफैंले कर्मचारी खटाएर फोटो खिच्ने काम भइरहेको छ । ‘बायोमेट्रिक प्रणालीबाट फोटो खिच्नुपर्ने भएका कारण अहिले जनशक्तिको व्यवस्थापन गर्न गाह्रो भएको छ', उनले भने, ‘यसपालि दुःख गरियो भने अरटक सजिलो हुन्छ ।'
उनका अनुसार लामो समयपछि परीक्षा खुलेपछि निवेदन दिनेहरू पनि सोचेभन्दा धेरै नै आएका छन् । अहिले कार्यालय परिसर भीडभाडले अस्तव्यस्त छ । ‘एकातिर लामो समयपछि परीक्षा खुलेको छ अर्कोतिर नयाँ तरिकाबाट काम सुरु गर्दैछौँ त्यसैले यस्तो अस्तव्यस्तता छ । यसलाई सहज गराउन टोकन प्रणाली पनि सुरु गरेका छौँ', उनले भने ।
मेसिन रिडेबल लाइसेन्स प्रिन्ट गर्ने प्रविधि यहाँको कार्यालयमा नभएपछि प्रयोगात्मक परीक्षा उत्तीर्ण भएकाहरूको लाइसेन्स विभागबाटै प्रिन्ट भएर आउनेछ । त्यसका लागि परीक्षार्थीको हातमा स्मार्ट लाइसेन्स पुग्न कम्तीमा पनि तीन महिना जति लाग्ने छ । ‘परीक्षामा उत्तीर्ण भएकाहरूको सबै रेकर्ड अनलाइनमै विभागमा पठाउँछौँ', कार्यालय प्रमुख पोख्रेलले भने, ‘हामीसँग त्यस्तो कार्ड प्रिन्ट गर्ने प्रविधि छैन, त्यही भएर कम्तीमा तीन महिना कुर्नुपर्छ भनेर पहिला नै भनिसकेका छौँ ।' यो स्मार्ट लाइसेन्समा चालकका बारेमा धेरै कुराको रेकर्ड राखिन्छ ।
‘इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स' पोलिकार्बोनेट पेपर (कार्बन एसिड र फिनोलको मि श्रणबाट बनेको पोलिस्टर पेपर) बाट बनेको एक प्रकारको विद्युतीय कार्ड हो जसलाई आगो र पानीले हानी पुर्याउँदैन । यसमा चालकसँग सम्बन्धित फोटोसहितका सबै विवरण हुन्छन् । त्योबाहेक मोबाइल फोनको सिमकार्डमा जस्तै गरी कार्डमा जडान गरिएको धातुको ‘चिप्स' मा चालकको ‘बायोमेट्रिक्स डिटेल' सहितका विवरण र सवारीसाधनसँग सम्बन्धित डाटा स्टोर गरिएका हुन्छन् । चालक ट्राफिक कारबाहीमा परेको विवरणसमेत त्यहाँ रेकर्ड रहन्छ ।
सबै लाइसेन्स स्मार्ट बनाउने अभियान स्वरूप बाँकेमा पनि यसको वितरण सुरु गरिएको यातायात व्यवस्था कार्यालय राप्तीका कार्यालय प्रमुख विनोदकुमार पोख्रेलले जानकारी दिए ।
कार्यालयले यसपालि लाइसेन्सका लागि फाराम भर्न आएका सबैको ‘बायोमेट्रिक प्रणाली' बाट फोटो खिचेर राखेको छ । यसो गर्दा अहिले फेल भए पनि अर्काेपटक परीक्षा दिन आउँदा अब उनीहरूले फोटो खिच्नुपर्ने झन्झट हुँदैन । ‘यसपटक हामीलाई नै झन्झट हुने हो तर अर्काेपटकदेखि उहाँहरूले फोटो खिच्नु पर्दैन', कार्यालय प्रमुख पोख्रेलले भने, ‘एकपटक फोटो खिचेर राख्छौँ अनि त्यो पटकपटक काम लाग्छ, फेरि फोटो खिच्न भीड पनि नहोला ।'
भेरी यातायात व्यवस्था कार्यालयमा करिब एक वर्षपछि लाइसेन्सका लागि आवेदन खोलिएको हो । गत वर्ष यहाँका कार्यालय प्रमुखसहित अन्य कर्मचारीलाई समेत यातायात व्यवस्था विभागले कारबाही गरेपछि लाइसेन्सको परीक्षा हुन सकेको थिए । त्यो बेला परीक्षा लिइएका कार, जिप तथा मोटरसाइकलको लाइसेन्ससमेत वितरण हुन सकेको छैन । ती सबै कागजपत्र अहिले अख्तियारले नियन्त्रणमा लिएर छानबिन गरिरहेको छ । ‘त्यो बेलाका कागजपत्र अनुसन्धानकै सिलसिलामा होलान्, अख्तियारले हामीलाई निर्णय नदिएसम्म पुरानो लाइसेन्स वितरण गर्न मिल्दैन', उनले भने ।
यसपटक कार, जिप र मोटरसाइकलबाहेक अन्य धेरैजसो सवारीको लाइसेन्स परीक्षा खुलेको हो । ट्र्याक्टरको प्रयोगात्मक परीक्षासमेत भइसकेको छ भने अब केही दिन ‘ई-रिक्सा' का लागि आवेदन खुल्नेछ । यहाँ सञ्चालनमा आएका हजारौं ई–रिक्सामध्ये धेरैजसोसँग चालक अनुमतिपत्र छैन ।