बैतडीका किसान बेमौसमी टमाटर खेतीमा

बैतडीका किसान बेमौसमी टमाटर खेतीमा

बैतडी : जिल्लाको दशरथचन्द नगरपालिका १ सतबाँझका किसान कृष्णदत्त भट्ट हिजोआज निकै व्यस्त देखिन्छन्। प्लास्टिक हाउसभित्र बेमौसमी टमाटर खेती लगाउन उनी बिहानैदेखि तल्लीन हुन्छन्। दुई दशकदेखि व्यावसायिक तरकारी खेती गरिरहेका भट्ट पछिल्लो समय बेमौसमी तरकारी खेतीतर्फ आकर्षित भएका छन्। ‘प्लास्टिक हाउसभित्र बेमौसममा लगाएको टमाटरको भाउ पनि पाइन्छ। बजारको पनि समस्या हुँदैन। एकपटकमा तीन लाख रुपैयाँसम्म कमाइ गर्न सकिन्छ', उनले भने।

 

करिब २० रोपनी जमिनमा तरकारी खेती गरिरहेका भट्टले सात रोपनीमा बेमौसमी टमाटर खेती गर्ने तयारी गरेका छन्। ‘अहिले सबै घरपरिवार टमाटरको बेर्ना लगाउने काममा व्यस्त छौं। प्लास्टिक हाउसभित्र टमाटरका बोट लगाइरहेका छौं', उनले भने। कृष्णदत्त भट्टजस्तै दशरथचन्द नगरपालिका जर्गका किसान किसनसिंह माललाई पनि हिजोआज खाना खाने फुर्सदसमेत छैन्। बेमौसमी टमाटर लगाउने बेला भएकाले दिनभर खेतमै व्यस्त हुने गरेको उनले बताए। ‘मैले तरकारी खेतीबाटै आफ्नो परिवार पालेको छु। राम्रो आम्दानी गर्न सफल भएको छु। बेमौसमी तरकारीको बजार राम्रो हुने भएकाले बेमौसमी टमाटर लगाउने तयारीमा छु', उनले भने।

दशरथचन्द नगरपालिका ग्वाल्लेकका भुवनराज पाण्डेयले पनि बेमौसमी टमाटरका लागि सात रोपनी जमिनमा प्लास्टिक हाउस राखेका छन्। ‘प्लास्टिक हाउस बनाएर तयार गरेको छु। अब टमाटरका बिरुवा रोप्न मात्र बाँकी छ। बेमौसमी टमाटर खेतीबाट राम्रो फाइदा हुन्छ', उनले भने।

जिल्लामा करिब चार सय २८ हेक्टर जमिनमा बेमौसमी तरकारी खेती हुने गरेको जिल्ला कृषि विकास कार्यालय बैतडीका सूचना अधिकृत कर्णबहादुर चन्दले जानकारी दिए। मौसमी तरकारीको तुलनामा बेमौसमी तरकारीबाट बढी फाइदा हुने भएकाले यसमा किसानको आकर्षण बढेको उनले बताए। ‘तरकारीको पकेट क्षेत्रका व्यावसायिक किसान हिजोआज बेमौसमी टमाटर खेतीमा व्यस्त छन्। दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, डिलासैनी गाउँपालिकाको गोकुलेश्वर, मेलौली नगरपालिकाको महारुद्रका किसान बेमौसमी टमाटरमा बढी आकर्षित भएका छन्', उनले भने।

बेमौसमी टमाटरको बजार भाउ राम्रो हुने भएकाले किसानको आकर्षण बढेको जिल्ला कृषि विकास कार्यालय बैतडीका जेटीए महेश अवस्थीले बताए। ‘किसानले व्यावसायिक रूपमा बेमौसमी तरकारी खेती गर्न थालेपछि बाहिरबाट आयात गर्नुपर्ने तरकारी कम आउन थालेको छ', उनले भने, ‘यसले जिल्लाका किसानको आयस्रोत बढेको छ।'

पकेट क्षेत्रमा गठित कृषि समूहमा आबद्ध किसान धेरैजसो बेमौसमी तरकारी खेतीमा लागेको जिल्ला कृषि विकास कार्यालयले जानकारी दिएको छ। कार्यालयका सूचना अधिकृत कर्णबहादुर चन्दका अनुसार जिल्लामा दुई सय सातवटा कृषि समूह छन्। ती समूहमा आबद्ध किसान बढीजसो व्यावसायिक तरकारी खेती गरिरहेका छन्। व्यावसायिक तरकारी खेतीमा लागेका किसानलाई जिल्ला कृषि विकास कार्यालयले पनि विभिन्न सहयोग गर्दै आएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.