दसैंमा ४४ अर्ब रेमिटेन्स
काठमाडौं : दसैंमा विभिन्न मुलुकबाट ४३ अर्ब ६८ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको छ। दसैंको फूलपातीको एक महिनाअघि वाणिज्य बैंकहरूले राष्ट्र बैंकमा ४२ करोड अमेरिकी डलर बिक्री गर्न ल्याएका थिए। यही डलरलाई आधार मान्दै ४३ अर्ब ६८ करोड रेमिटेन्स भित्रिएको राष्ट्र बैंकले अनुमान गरेको हो। गत वर्ष यसै अवधिमा बैंकहरूले ५५ करोड अमेरिकी डलर राष्ट्र बैंकमा बिक्रीका लागि ल्याएका थिए।
राष्ट्र बैंकको प्रारम्भिक तथ्यांकअनुसार गत आव र यस आवको यसै अवधिमा आएको अमेरिकी डलर बिक्री प्रवृत्ति हेर्दा रेमिटेन्स १३ करोड अमेरिकी डलरले घटेको छ। राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले दसैंमा अन्य समयभन्दा बढी रेमिटेन्स भित्रने भए पनि यस वर्ष वृद्धिदर घट्ने अनुमान गरिएको जानकारी दिए। ‘त्यसै त विभिन्न कारणले अघिल्लो आवदेखि नै रेमिटेन्स वृद्धिदर घट्दै गएको थियो', उनले भने, ‘यस वर्ष अझ वृद्धिदर घट्ने देखिएको छ।
गत साउनमा ५५ अर्ब ५५ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको थियो। साउनमा भित्रिएको रेमिटेन्स गत आवको सोही अवधिको तुलनामा सात प्रतिशतले बढी हो। अघिल्लो वर्षको साउनमा भने यस्तो वृद्धिदर दुई दशमलव पाँच प्रतिशतमात्र थियो। गत आवको साउनभन्दा यस वर्षको साउनमा रेमिटेन्स वृद्धिदरमा सुधार आए पनि दसैं अघिको एक महिना घटेको राष्ट्र बैंकले जनाएको छ। गत वर्षको असार मसान्तसम्म करिब चार लाख कामदारबाट ६ खर्ब ९५ अर्ब रेमिटेन्स नेपाल भित्रिएको थियो।
गत साउनको तथ्यांक हेर्ने हो भने ५५ अर्ब ५५ करोड रुपैयाँ रेमिटेन्स नेपाल भित्रिएको हो। अन्य समयभन्दा दसैंमा रेमिटेन्स वृद्धि हुने गरेको रेमिटेन्स एसोसिएसनका अध्यक्ष दिवाकर थापाले बताए। ‘अन्य समयभन्दा दसैंमा रेमिटेन्स बढ्छ', उनले भने, ‘राष्ट्र बैंकले घटेको तथ्यांक देखाए पनि रेमिटेन्स बढेको छ।'
नेपालमा सबैभन्दा बढी ४० प्रतिशत हिस्सा ओगटेको आईएमई रेमिटको बिजनेस अन्य समयभन्दा दसैंमा ३५ देखि ४० प्रतिशतसम्म वृद्धि हुने गरेको ग्लोबल आईएमई ग्रुपका सञ्चार संयोजक राजु पौडेलले जानकारी दिए। ‘भदौ १२ देखि असोज १२ गतेसम्म २५ प्रतिशतले रेमिटेन्स वृद्धि भएको छ', उनले भने। घरेलु बजारमा भने आईएमई रेमिटले ६० प्रतिशत हिस्सा ओगटेको पौडेलले बताए।
गत आव र यस आवको यसै अवधिमा आएको अमेरिकी डलर बिक्री प्रवृत्ति हेर्दा रेमिटेन्स १३ करोड अमेरिकी डलरले घटेको छ।
नेपालमा रेमिटेन्स भित्र्याउने पहिलो कम्पनी आईएमई रेमिटले २५ वटा देशमा कार्यालय स्थापना गरेर सेवा प्रदान गरिरहेको छ। मनिग्रामसँगको सहकार्यमा करिब ८५ वटा देशबाट नेपालमा रेमिटेन्स भित्र्याउने काम यसले गरिरहेको छ। नेपालमा मलेसिया, कतार, साउदी अरब, अमेरिका, अस्ट्रेलियालगायत २० देशबाट बढी मात्रामा रेमिटेन्स भित्रिन्छ।
चार दर्जन कम्पनीले नेपालमा रेमिटेन्स भित्र्याउँदै आएका छन्। तीमध्ये वेस्टर्न युनियन मनी ट्रान्सफर, प्रभु रेमिट, सिटी एक्सप्रेस, संसारा, मनिग्राम, बेस्ट रेमिटलगायत कम्पनीले बढी रेमिटेन्स भित्र्याउने कम्पनी हुन्। यसका साथै २८ वटै वाणिज्य बैंकले पनि रेमिटेन्स भित्र्याउँदै आएका छन्।
पछिल्लो समय रोजगारीका लागि बिदेसिनेको संख्या घटेसँगै रेमिटेन्स वृद्धिमा कमी आएको छ। नेपालको आर्थिक उन्नतिमा विशेष भूमिका खेलेको रेमिटेन्सले रकम बचत हुन भने सकेको छैन। वैदेशिक रोजगारीबाट आएको रकममध्ये एक दशमलव एक प्रतिशत मात्र उत्पादनमूलक क्षेत्रमा लगानी भएको देखिएको छ। ७८ प्रतिशत रेमिटेन्स खान-लाउन, छोराछोरी पढाउन, स्वास्थ्य उपचार र साहुको ऋण तिर्नमै सकिएको राष्ट्र बैंकको पछिल्लो अध्ययनले देखाएको छ।
‘रेमिटेन्स प्राप्त गर्ने घरपरिवारको बचत र लगानी प्रवृत्ति' नामक अनुसन्धान प्रतिवेदनअनुसार रेमिटेन्स आप्रवाहको २८ प्रतिशत मात्रै बचत हुने गरेको छ।
बाँकी रकममध्ये २५.३ प्रतिशत ऋण तिर्न र २३.९ प्रतिशत खाद्यान्न तथा लत्ता कपडालगायत दैनिक उपभोग्य वस्तुमा खर्च हुँदै आएको छ। नौ दशमलव सात प्रतिशत शिक्षा तथा स्वास्थ्यमा, तीन दशमलव पाँच प्रतिशत विवाह, व्रतबन्धलगायत सामाजिक तथा धार्मिक कार्य र तीन प्रतिशत घरायसी सम्पत्तिको खरिदमा प्रयोग भएको अध्ययनले देखाएको छ। अध्ययनअनुसार अन्यमा साढे पाँच प्रतिशत खर्च हुँदै आएको छ।