ओझेलमा फुङफुङ्गे झरना
ताप्लेजुङ: नेपालकै सुन्दर झरनामध्येको ताप्लेजुङको फुङफुङ्गे झरना ओझेलमा परेको छ । प्रचारप्रसार र पूर्वाधार विकासमा ध्यान नदिँदा ताप्लेजुङको मिक्वाखोला गाउँपालिकास्थित फुङफुङ्गे झरनाबारे धेरैलाई जानकारी छैन।
पहाडको कापबाट अटुट रूपमा सङ्लो पानी झरिरहने निकै चित्ताकर्षक छ, फुङफुङ्गे झरना । शिरदेखि कतै नठोक्किई पानी झर्ने हुँदा यसको नाम फुङफुङ्गे रहन गएको स्थानीय बताउँछन् । करिब तीन सय मिटर अग्लो चट्टानी कापबाट पानी तीव्र गतिमा तल झरेको छ । यद्यपि आधिकारिक रूपमा यसको उचाइ मापन गरिएको छैन । पानीको फोहोराका कारण झरनाको फेदमा जानै सकिँदैन । नजिकै अवलोकन गर्ने ठाउँ बनाइएको छ । तलबाट हेर्दा आकासबाटै पानी झरेजस्तो देखिन्छ । धेरैबेर बस्ने हो भने झरनाबाट फरक–फरक आवाज सुनिन्छ।
नजिकै लिम्बू समुदायको बस्ती छ । उनीहरूले यस झरनालाई शक्तिको प्रतीक मान्ने गरेका छन् । झरनाको फेदीमा फुङफुङ्गे देवीको मन्दिर छ । उक्त मन्दिरआसपास गाउँका मानिस गएर पूजा गर्छन् । झरनाको पानी नघटोस् र गाउँमा सुख शान्ति होस् भनेर पूजा गर्ने गरिएको स्थानीय लोकेन्द्र थलङले बताए । मन्दिरनजिकै चौतारा र पार्टीघर निर्माण गरिएको छ । झरनाको पानी बगेर मेवाखोलामा मिसिन्छ । छिमेकी गाउँ नाल्बु र पापुङबाट पनि झरनाको अवलोकन गर्न सकिन्छ।
फुङलिङ बजारबाट झरनास्थल पुग्न ६ घण्टा लाग्छ । स्थानीयस्तरबाटै झरनालाई धार्मिक तथा पर्यटकीय स्थलको रूपमा विकास गरिनुपर्ने स्थानीयको माग छ । केही समयअघि स्थानीय तह निर्वाचन पर्यवेक्षणका क्रममा ताप्लेजुङ आएका उपसचिव नेत्र सुवेदीले यसलाई पूर्वी पहाडकै आकर्षक पर्यटकीय स्थलका रूपमा वर्णन गरेका थिए । प्राकृतिक सुन्दरताले भरिपूर्ण पर्यटकीय र धार्मिक महŒव बोकेको झरनाको प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक बढाउन सकिने उनको भनाइ थियो।
जैविक विविधताले भरिपूर्ण यस स्थानबाट विविध प्राकृतिक सौन्दर्यको अवलोकन गर्न सकिने स्थानीय सदनकुमार साँवा बताउँछन् । हाँसपोखरी, याङ्सी पहरा, वाग्मा पोखरी, मानाभरा हिमाल तथा मानाभरा मन्दिर, भूत पोखरीजस्ता सुन्दर स्थल यही झरना क्षेत्रमा पर्छन् । झरनावरिपरि अलैंची बगान र जंगल छ । यहाँ रेड पान्डा, कस्तूरी, मृग, घोरल, थार, वन कुकुर, वन बिरालो, बँदेल, बाँदर, ढेडुलगायत वन्यजन्तु देख्न सकिन्छ।
पाँचाऔंले, कालो बिख्मा, जटामसी, चिराइतो, पाखनवेत, सुनपाती, भरुनपाती, खोकिमजस्ता बहुमूल्य जडिबुटीसमेत पाइन्छ । यहाँ डाँफे, मुनाल, कालिज, गिद्ध, चिल, वन कुखुरा, पानीहाँस, च्याखुरा, भ्याकुरलगायत चराचुरुंगीको बासस्थान छ । स्थानीय उत्पादन ढिँडो, सिस्नु, उसिनेको आलुबाट बनेका परिकार, भुटेका मकै, जौ, मकैको सातु र फापरको रोटीको स्वाद लिन सकिन्छ । बाटोमा पिठ्यूँभरि भारी बोकेर हिँडेका खच्चड र चौरीको लर्को उस्तै मनमोहक लाग्छ।
हाल झरनासँगै अन्य प्राकृतिक सौन्दर्यको दृश्यावलोकन गर्न पाँचथर र तेह्रथुमका केही स्थानबाट पर्यटक यहाँ आउने गरेका छन् । झरनासम्म जाने बाटोको स्तरोन्नति तथा आवश्यक प्रचारप्रसार नहुँदा वार्षिक रूपमा पाँच सय हाराहारीमा मानिस पुग्ने गरेको झरना संरक्षण समितिका अध्यक्ष रामकुमार साँवाले बताए । २०६७ सालमा तोक्पेगोला सोदुपोखरी तथा फुङफ्ङ्गे झरना महोत्सवको आयोजना गरिए पनि यो क्षेत्र घुम्ने पर्यटकको संख्या वृद्धि हुन सकेन । त्यसपछि यसको प्रवद्र्धन गर्ने कुनै कार्यक्रम भएको छैन।
जिल्ला पर्यटन समितिले सोही वर्ष धार्मिक तथा पर्यटकीय दृष्टिबाट महत्वपूर्ण पाँच स्थलको पहिचान गर्दै यसलाई पनि प्राथमिकतामा राखेको जनाएको थियो । तत्काल रणनीतिक पर्यटन योजना बनाएर काम गर्ने भनिए पनि आजसम्म योजना बन्न सकेको छैन । मुलुक संघीयतामा गइसकेको र स्थानीय तहको निर्वाचनसमेत सम्पन्न भइसकेको अवस्थामा स्थानीय निकायले यस्ता पर्यटकीय स्थलको पहिचान गरी प्रवद्र्धनमा जोड दिनुपर्ने पर्यटन व्यवसायी रविलाल गुरागाईं बताउँछन्।
झरना जाने सडक लिबाङसम्म पुगेको छ । असोज २ गते सम्पन्न मिक्वाखोला गाउँपालिकाको गाउँ परिषद्ले यहाँसम्म जाने उक्त बाटोको लागि दुई करोड विनियोजन गर्नेबाहेक फुङफुङ्गे प्रवद्र्धन गर्न कुनै योजना बनाएको छैन । यो वर्ष लिवाङमा पहिरोले बिगारेको बाटो स्तरोन्नति गर्ने र बाँकीले नयाँ ट्र्याक खोल्ने योजना रहेको झरना संरक्षण समितिका अध्यक्ष रामकुमार साँवाले बताए । यसबाहेक त्यस क्षेत्रमा सुविधासम्पन्न होटल, ठाउँठाउँमा चौतारा, सूचना केन्द्र स्थापना गर्न जरुरी छ । गाउँपालिकाको समृद्धि झरनाले गराउने हुँदा गुरुयोजना बनाएर तत्काल काम सुरु गर्नुपर्ने स्थानीय भक्त कार्कीको भनाइ छ।