अन्नपूर्ण फेदीमा मोरिस हर्जाेग
पोखरा: आठ हजार मिटरभन्दा अग्ला हिमाल आरोहणको सुरुआत पहिलोपटक अन्नपूर्ण प्रथम (८०९१) बाट सुरु भएको थियो। २००७ साल जेठ २१ गते उक्त हिमाल आरोहण गरेर कीर्तिमानी राखेका आरोही फ्रान्सेली नागरिक मोरिस हर्जाेगको इतिहास अब त्यही हिमालको फेदी पुग्ने सबै पर्यटकलाई जानकारी हुनेछ। किताबका पानामा मात्रै सीमित उनको इतिहासलाई अझ सजीव बनाउन स्थानीयले मौरिसको सालिक हिमाल फेदीमा स्थापना गर्दै छन्।
अन्नपूर्ण हिमालको आधार शिविरमा बुधबार संसद्को विकास समितिका सभापति रवीन्द्र अधिकारीले हर्जाेगको सालिक सिलान्यास गरे । मोरिसले अन्नपूर्ण आरोहण गरेपछि नै पर्यटकसँगै विश्वको ध्यान खिचेको अन्नपूर्ण क्षेत्रको प्रवद्र्धनका लागि बुधबारैबाट महोत्सव सुरु भएको छ । त्यही छेकोमा मोरिसको सालिक निर्माण थालिएको हो ।
मोरिसले आठ हजार मिटरभन्दा अग्लो हिमाल पहिलोपटक चढेर सफलता पाइसकेको तीन वर्षपछि २०१० सालमा तेन्जिङ शेर्पा र एडमन्ड हिलारीले सगरमाथामा पाइला राख्न सकेका थिए । मोरिसले अन्नपूर्ण आरोहणबारे लेखेको किताब फ्रान्समा बेस्ट सेलर हुनुका साथै दर्जनौं भाषामा अनुवाद भएको थियो । सन् १९६६ मा पहिलोपटक माउन्टेन ट्राभल नेपालमार्फत एरिक सिप्टनले आधार शिविरसम्म पदयात्रा गरेका थिए । बेलायती नागरिक जिम्मी रोबर्ट्सले उक्त आधार शिविरसम्मको पदयात्रा मार्गको रेखांकन गरेका थिए । रोबर्ट्सलाई सहयोग गरेका झलक थापा, रोबटर््सका परिवार, हर्जाेगका परिवार र हर्जाेग आरोहणका लियाजोन अफिसर घनविक्रम राणा र सरदार आङथार्के शेर्पाका परिवारलाई पनि महोत्सव आयोजक समितिले सम्मान गरेको छ ।
त्यसरी विश्व प्रचारित ठाउँमा अचेल भने खास पर्यटक नआएकाले प्रवद्र्धनका लागि महोत्सव आयोजना गरिएको आयोजक समितिका संयोजक ललित गुरुङले बताए । थोरै नै आएका पर्यटकका लागि पनि बस्नेखाने सुविधा दिने क्षमतामा होटललगायत पूर्वाधार अभाव भएको हुँदा त्यसबारे नीति निर्माताको ध्यानाकर्षण गर्नु महोत्सवको अर्काे उद्देश्य रहेको उनले बताए ।
पोखराबाट एक साता लामो पैदल यात्रामा पूरा हुने यो मार्गमा पोहोरमात्रै २८ हजार विदेशी पर्यटकले भ्रमण गरेको गुरुङले बताए । महोत्सवकै दोस्रो चरणका क्रममा पुस १० देखि १५ गतेसम्म र तेस्रो चरणका क्रममा आगामी जेठ १८ देखि २० गतेसम्म पनि विभिन्न कार्यक्रम गरिने आयोजक समिति संयोजक गुरुङले जानकारी दिए ।