डेढसय वर्ष पुरानो नरसिंगा
प्यूठान : प्यूठान नगरपालिका–३ विजयनगरका देविराम परियार ६३ वर्षका भए । उनले अझैपनि आफ्ना पुर्खाहरुले शुरुगरेको परम्परालाई जोगाइराखेका छन् । गाउँमा हुने विवाह, ब्रतवन्ध, कुलपुँजा र मेलापर्वमा उनको माग बढ्दो छ । यूवापुस्तादेखि नै उनले आफ्ना पुस्ताहरुले बजाउँदै आएको ‘नर्सिङा'लाई निरन्तरता दिँदै आएका हुन् ।
बुढ्यौलीपनले छोएपनि ‘नर्सिङा' बजाउने जोँस उनमा अझै मरेको छैन् । तीन÷चार पुस्ता हुर्किसके । तर, परियारले यसलाई बजाइराखेका छन् । ‘हजुरबुवाको पालादेखि गाउँमा नर्सिङा बजाउँदै आएको इतिहास छ',ऊनी भन्छन्,‘अझैसम्म यसलाई हामीले बचाँइराखेका छौँ । अव छोरानातीले के गर्ने होला ? ' नयाँ पुस्ताले यसको महत्व नबुझेर लोपहुने होकी ? भन्नेमै उनलाई चिन्ता भइरहन्छ । ‘पंचेबजाहरुमा नर्सिङाको महत्व सवैभन्दा धेरै हुन्छ',उनले भने,‘नर्सिङा नबजाएमा पंचेबाजाको महत्व नै हुँदैन् ।' तामा र पितलबाट यसको निर्माण गरिएको उनी बताउँछन् । परियारले डेढसय वर्ष पुरानो नर्सिङालाई अझैसम्म संरक्षण गरेर राखेका छन् । ‘दशैँको पूर्णिमाका दिन बजाएका थियौँ',उनले भने,‘अव तिहारमा पनि बजाउँछौँ।'
जिल्लाका केही गाउँमा मात्र यसको प्रयोग गर्ने गरिएको छ । विशेषगरी दलित(परियार) जातीका व्यक्तिहरुले यसको प्रयोग गर्दै आइरहेको बुढापाकाहरु बताउँछन् । हाल यसको बजार मूल्य १५ हजारसम्म रहेको परियारले जानकारी गराए । ‘गाउँघरमा दैनिक ज्यालादारीमा बजाउने गरेका छौँ',उनी भन्छन्,‘एउटा विवाह सम्पन्न गर्दा एक हजार पाँच सयसम्म ज्याला लिन्छौँ ।' मेलापर्वमा नर्सिङा बजाउँदा झनै आकर्षण सुनिने गरेको उनी बताउँछन् ।
देख्दापनि आकर्षण हुने भएकाले सवैले यसलाई मन पराउने गरेका छन् । ‘पहिल्यको जस्तो आजभोली यसको माग अलिकम छ',उनले भने,‘वर्षमा आठ÷दश दिन बाहेक धेरै बजाउदैनौँ ।' धेरैजसो विवाहमा बजाउने गरेको बताउँदै उनले आजभोलीका यूवाहरुले विभिन्न पार्टी प्यालेसमा पुगेर विवाह गर्नथालेपछि आफूहरुको माग घट्दै गएको उनले अनुभव सुनाए । सवैले पुरानो संस्कृतिलाई जोगाइराख्नका लागि पहल गरिदिन् समेत उनले आग्रह गरे ।
पुर्खाहरुले शुरु गरेको नर्सिङा बजाउने कार्यलाई आफूहरुले पनि निरन्तरता दिने देविरामका छोरा मोहन परियारले सुनाए । ‘मैले पनि बजाउन सिक्दै छुँ',३४ वर्षिय उनले भने,‘संस्कृतिको जगेर्ना सवैले गर्नुपर्दो रहेछ ।' बुवाहरुले अझैसम्म यसलाई निरन्तरता दिँदै आएको बताउँदै उनले छोरानातीले यसलाई थप व्यवसायिकरण गर्दै लैजाने जानकारी गराए । ‘स्थानीय सरकारसँग कुरा गरेर यसको व्यवसायिकरणमा लगानी गर्न आग्रह गर्ने सोँच बनाएका छौँ',उनी भन्छन्,‘यसलाई जिविकोपार्जनसँग जोड्ने योजना छ ।' बुवाहरुसँग बजाउनका लागि सिक्दै आइरहेको उनले बताए ।
विजुवार जुम्रिबजारमा रहेको ताम्राकार भाँडापसलमा यसको निर्माण हुने बताउँदै उनले जिल्लामा महंगो पर्ने जानकारी गराए । ‘जिज्यू वाजेदेखि नै नर्सिङा बजाउँदै आएको भन्ने सुनिएको छ',परियारले भने,‘गाउँमा पाँच/छ जनाले मात्र बजाउनुहुन्छ ।' यसको संरक्षण र निरन्तरता गर्ने जिम्मेवारी आफूहरुको काँधमा आएकोले यसवारे विशेष ख्याल गरेको उनले सुनाए ।
गाउँका मौलिक संस्कृतिको जगेर्ना गर्नका लागि स्थानीय सरकार गम्भिर बनेको प्यूठान नगरपालिका वडा नम्वर ३ का अध्यक्ष प्रेम हमालले जानकारी गराए । ‘वडामा यस्ता थुप्रै संस्कारहरु छन्',उनले भने,‘लामो समयदेखि परियार जातीका धेरैजनाले नर्सिङा बजाउँदै आउनुभएको छ । यसको प्रवद्र्धनका लागि बजेट विनियोजन गरेर हौसला दिएका छौँ ।' नर्सिङा बजाए वापत पाउने ज्यालामा समेत वृद्धि गर्न पहल गरेको उनले जानकारी गराए ।
‘जिर्ण भएका नर्सिङाको मर्मतका लागि सहयोग गरेका छौँ',उनले भने,‘पुरानो संस्कृति नगरक्षेत्रको गहना हो ।' मेलामा व्यवस्थापन समिति गठन गरेर पुराना संस्कृतिहरुको अवस्था, समस्याको वारेमा अध्ययन गर्ने गरिएको समेत उनले बताए । चालु आर्थिक वर्षमा लोपहुन थालेका संस्कृतिलाई जोगाइराख्ने उद्देश्यले ७० हजार रुपैँया बजेट विनियोजन गरिएको समेत उनले जानकारी गराए । नगरक्षेत्रमा रहेका यूवापुस्तालाई यसमा लाग्न उत्प्रेरित गरिने उनको योजना छ ।