रमाइलो यमपञ्चक

रमाइलो यमपञ्चक

 बलि राजाको पालामा देवदास र देवदासीको प्रचलन थियो । यिनलाई मागी खानका लागि बलि राजाले आज्ञा दिएपछि उनीहरू भैलिनी र देउसिरे भन्दै तिहारमा घरघर जान थालेका हुन् । देवदासीहरू भैलिनी भन्दै भैलो खेल्ने र देवदासहरू देउसिरे भन्दै देउसी खेल्ने काम नियमित भयो र प्रचलनका रूपमा विकास भयो । जीवनवृत्तिका लागि उनीहरू गाउँगाउँ गएर अन्न र रुपैयाँ माग्ने गर्थे । संस्कृतिविद् जगमान गुरुङ यी बलि राजा पौराणिक नभई कर्णाली अञ्चलको जुम्लाका बलि राजा भएको दाबी गर्छन् ।

 

समयक्रमसँगै समाजका अन्य मानिसले पनि यसरी नै देउसी भैलो खेल्ने, अन्न र रुपैयाँ संकलन गर्दै चाडका रूपमा तिहार मनाउन थाले । तर, पछिल्ला वर्ष यो चाडको वास्तविकतामा तोडमोड भएको संस्कृतिविद् गुरुङको भनाइ छ । ‘अहिले कतिपयले त यसलाई दबाब सिर्जना गरेर आर्थिक संकलन गरी माग्ने भाँडो बनाएका छन्, यो संस्कृति होइन विकृति हो’, उनी भन्छन्, ‘आदर्श समाज र मर्यादा कता जाँदैछ ? लोप भइरहेको देख्छु ।’ उनका अनुसार पुरुष दौरासुरुवाल, कोट र टोपी अनि महिला सारी चोलोमा व्यवस्थित ढंगबाट सुरुदेखि अन्तिमसम्म विधि पुर्‍याएर भट्याउने र आशिक दिएर हिँड्ने परम्परा अहिले मेसिनमा बाजा बजाएर डान्स गर्नमा सीमित हुन थालेको छ ।

बडा दसैंको १५ दिनमा सुरु हुने नेपालीको दोस्रो महान् चाड तिहार (यमपञ्चक) नेपालीको घरआँगनमा आइसकेको छ । कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिन कागको पूजा गरेर यमपञ्चकको सुरुआत गर्ने चलन छ । काग तिहारको नामले सुरु भएर कार्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म पाँच दिन मनाइने भएकाले तिहारलाई यमपञ्चक पनि भन्ने गरिएको हो ।

सूर्यका छोरा यमराजले आफ्नी बहिनी यमुनाको निम्तो स्वीकार गरी बहिनीका घरमा गई पाँच दिनसम्म बिताएकाले तिहारलाई यमपञ्चक भनिएको हिन्दु धर्मशास्त्रमा उल्लेख छ । बहिनीको घरमा रहँदा-बस्दा उनको सत्कारबाट प्रसन्न भई यमराजले बहिनी यमुनालाई वर माग भनेका थिए । यमुनाले हरेक वर्ष आजकै दिन भेट्न आउनुपर्ने, दिदी-भाइ र दाजु-बहिनीको प्रेम र सद्भाव सदा अटल रहनुपर्ने साथै दाजु-भाइको आयु, कीर्ति सदा उच्च हुनुपर्ने वरदान मागेकी थिइन् । यमराजले तथास्तु भन्दै मन, वचन र कर्मले शुद्ध चित्त बनाएर भ्रातृपूजा गर्ने र गराउनेको सदा उन्नति हुनेजस्ता वर दिएका थिए ।

संस्कृतिविद् गुरुङ यमपञ्चकका पाँच दिनले पाँचवटा धर्म र नीतिले मानव सभ्यता र संस्कृतिको पाँच शृंखलालाई संकेत गर्ने बताउँछन् । यमको अर्थ धर्म अर्थात् विधान वा नीति भएको उल्लेख गर्ने उनको भनाइ छ । ‘कागले घुमन्ते जीवन (अवस्था), कुकुरले सिकारी जीवन, गाईले पशुपालन गर्ने जीवन, गोरुले कृषि जीवन र भाइटीकाका दिन दिदीबहिनीले दाजुभाइलाई लगाउने चलनको सभ्य र सुसंस्कृत मानव जीवन र यसलाई नैतिकतामा आधारित जीवनका रूपमा चित्रण गर्छ’, गजमानले भने । पाँच दिन मनाइने काग, कुकुर, गाई (लक्ष्मीपूजा), गोरु (गोवद्र्धनपूजा) र भाइटीकाबारे शास्त्रमा समेत वर्णन गरिएको छ ।

कार्तिक कृष्ण त्रयोदशी यमपञ्चकको पहिलो दिन । यो दिन चलाख एवं सर्वभक्षी पन्छी कागको पूजा गरिन्छ । यमराजको दूत मानिएको कागले सबैलाई समान दृष्टिले हेर्छ र अन्नबालीमा लाग्ने कीरा-फट्यांग्राहरू खाइदिन्छ भन्ने मान्यता छ । दोस्रो दिन कार्तिक कृष्ण चतुर्दशी पर्छ । कुकुर तिहारको यो दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । कुकुरलाई पनि यमराजको प्रिय भक्त र दूतका रूपमा लिइन्छ । भैरवको वाहन कुकुरले घरको रेखदेख गर्छ ।

गाईलाई गौमाता वा लक्ष्मीको रूप मानिन्छ । कार्तिक कृष्ण औंसीको यो तेस्रो रातलाई अँध्यारो रातका रूपमा लिइने भएकाले उज्यालो प्रकाशले आलोकित पारेर लक्ष्मीको आह्वान गरिन्छ । लक्ष्मीलाई ऐश्वर्यको प्रतीक एवं धनधान्यकी देवी मानिन्छ । गाईलाई लक्ष्मीको प्रतीक मानेर यसै दिन बिहान लक्ष्मीपूजा गरिन्छ भने साँझ दीपावली गरिन्छ । चौथो दिन, गोरुतिहार भएकाले गोवद्र्धन पूजा पनि गरिन्छ । पौराणिक कथाको मान्यतामा आधारित भई यस दिन घरघरमा गाईको गोबरले गोवद्र्धन पर्वतको प्रतिमा बनाई सोको पूजा गर्ने चलन छ । उक्त दिन खेतीपातीमा सहयोग गर्ने गोरुको पूजा गरिन्छ ।

यमपञ्चकको अन्तिम दिन कार्तिक शुक्ल द्वितीया तिथिका दिन तिहारको समापनको दिनका रूपमा विशेष उत्साहका साथ भाइटीका पर्व मनाइन्छ । दिदीबहिनीले दाजुभाइलाई विशेष मानसम्मानसहित विधिपूर्वक पूजाआजा गर्ने र सप्तरंगी टीका लगाइदिने काम यो दिन हुन्छ । उनीहरूले मेवा-मिष्ठान्न ख्वाउने, दिदीबहिनीलाई दान-दक्षिणा एवं वस्त्र आदि दिने गरिन्छ । यो काम दिदी वा बहिनीको घरमा दाजु वा भाइ जाने र मनाउने गरिन्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.