कसको तिहार कस्तो ?
उज्यालो चाड तिहारले हिन्दु धर्मको धेरै आयाम बोकेको हुन्छ । पाँच दिने चाडमा पशुपक्षी, देवी देवतादेखि मानवसम्म पुजिन्छन् । तिहार दियो बत्ती, गीत संगीत, रङ, फूलजस्ता सुन्दर वस्तुहरू भावनासँग जोडिने पर्व हो । तिहारलाई विशेष बनाउन कसको योजना कस्तो छ त ?
लक्ष्मीलाई मनाउने दिन
राजेशकाजी श्रेष्ठ, अध्यक्ष : चेम्बर अफ कमर्स
तिहार मन पर्ने चाड हो । हामी व्यवसायीका लागि अझ विशेष हुन्छ । लक्ष्मीपूजाको दिन हाम्रो लागि विशेष हुन्छ । लक्ष्मीलाई मनाउने दिन । घरमा अफिसमा लक्ष्मीको पूजा गर्छौं । अफिसमा गरिने लक्ष्मीपूजा हरेक वर्ष नियमित हुन्छ । लक्ष्मीप्रति श्रद्धा चढाउँछौं । व्रतचाहिँ बस्दिनँ । त्यसको भोलिपल्ट म्हपूजा पनि विशेष हुन्छ । दिदीबहिनी नभएकाले मेरो लागि भाइटीकको दिन फुर्सदिलो हुन्छ ।
तास खेलेर जाग्राम बसिन्छ
रविभक्त श्रेष्ठ, अध्यक्ष : एनई समूह
स्वास्थ्य, धन र सम्बन्धको चाड हो । लक्ष्मीपूजाको दिन विशेष पूजापाठ गरिन्छ । व्यवसाय राम्रो चलोस् भनी प्रार्थना गरिन्छ । वर्ष दिन कर्म गर्छौं, यो दिन लक्ष्मी मातासँग आशीर्वाद माग्छौं ।
धर्मशास्त्रअनुसार विश्वास गर्छु । अफिस, फ्याक्ट्री र घरमा लक्ष्मीपूजा हुन्छ । साँझमा लक्ष्मीपूजा गरेपछि अलिअलि तास खेलिन्छ । यो दिन तास खेल्नुपर्छ भन्ने मान्यता छ । लक्ष्मीपूजा गरेपछि राति घरमा लक्ष्मीको प्रवेश हुन्छ भन्ने विश्वासले ढोका बन्द गर्न नहुने मान्यता छ । त्यही मान्यताअनुसार तास खेलेर जाग्राम बसिन्छ ।
भोलिपल्ट म्हपूजा अग्रजले अनुजलाई पूजा गर्ने र आफूले आफूलाई पनि पुज्ने दिन । धनसम्पत्ति जति आवश्यक छ, स्वस्थ र निरोगी हुनु पनि त्यति नै जरुरी छ । आत्म शुद्धिबाट शरीर स्वस्थ हुने हो । भाइटीकाको दिन झनै रमाइलो लाग्छ । हामी पाँचजना दिदीबहिनी, दुईजना दाजुभाइ । दाजु अमेरिका बस्ने भएकाले दिदीबहिनीले मलाई मात्र टीका लगाउनुहुन्छ । कपालमा तेल लगाइदिएर मखमली फूल, निधारमा टीकासहित आशीर्वाद दिँदा सबैभन्दा ठूलो कुरा पाएजस्तो लाग्छ ।
उहाँहरूले दिएको मिष्ठान्न परिकारले मन दंग हुन्छ । मचाहिँ कहिले क्यास कहिले मटेरियल गिफ्ट दिन्छु । तिहारमा मेरो घरमा देउसी खेल्ने मान्छे धेरै आउँछन् । सबैलाई खुसी मनले स्वागत गर्छु । देउसीको आशीषले घर पवित्र भएजस्तो लाग्छ । तिहारलाई सधैं इन्जोय गर्छु ।
फेस्टिभल अफ लाइफ
अर्चना पन्थी, रंगकर्मी
दाई विदेशमा हुनुहुन्छ । आठ वर्ष भइसक्यो उहाँलाई टीका लगाउन नपाएको । तिहार आउँदा अलिअलि नरामाइलोजस्तो लाग्छ । तैपनि दिदीलाई टीका लगाउँछु । दिदीबहिनीको टीका रमाइलो हुन्छ । दिदीबहिनी गिफ्ट एक्सचेन्ज गर्छौं । पोसाहहरू नै गिफ्ट गर्छौं । दाई बाहिर जानुभन्दा अगाडिको एउटा तिहार एकदमै याद आउँछ । घरनजिकै दादाको साथी हुनुहुन्थ्यो । उहाँलाई पनि दादाजस्तै मान्थेँ । भाइटीकाको दिन टीका लगाउने बेलामा दादाको साथीलाई टीका लगाउन गएँ ।
घरमा आउँदा अरू दिदीबहिनीले दाईलाई टीका लगाइदिइसकेका रहेछन् । दाई ठुस्किएर बसिरहनुभएको रहेछ । आफ्नो दार्यभन्दा अगाडि उहाँको साथीलाई टीका लगाउन गयो भनेर सबैले चित्त दुखाउनुभएको थियो । त्यो सम्झिँदा अझै हाँसो लाग्छ । तिहार मेरो मन पर्ने चाड हो । ‘फेस्टिभल अफ लाइफ’ जस्तो लाग्छ । बत्तीको झिलिमिली, कार्ड खेल्ने, पारिवारिक जमघट सबै रमाइला पक्ष हुन् ।
देउसी खेलेर २५ रुपैयाँसम्म कमाइयो
सोमनाथ खनाल, रंगकर्मी
केटाकेटी हुँदा देउसी खेल्न गइन्थ्यो । गाउँमा बसुन्जेल ठूलै भएर पनि देउसी खेलियो । १०÷१२ वर्षदेखि पहिलेजसरी देउसी खेल्न पाएको छैन । वर्षभरिमा हामी केटाहरूले पैसा कमाउने चाड तिहार हुन्थ्यो । देउसी खेलेर एकजनाको भागमा २५ रुपैयाँसम्म कमाइयो । त्यति बेला एक रुपैयाँ, आठ आना भेटी पाइन्थ्यो । कसैले पाँच रुपैयाँको नयाँ नोट दियो भने धनी घर रहेछ जस्तो लाग्थ्यो ।
देउसी खेल्न जाँदा एक दिन कुकुरले बेस्सरी खेदायो । करिब दुई किलोमिटर कुद्यौं । त्यसपछि त्यो टोलमै देउसी खेल्न कहिल्यै गइएन । अहिले पनि भाइ र म त्यही समय सम्झिएर हाँस्छौं ।
यसपालि भने अलि धेरै समय घरमा बिताउने र देउसी खेल्ने योजनामा छु । बीचमा छोटो छुट्टीमा घर जाँदा साथीहरूसँगै टाढिएजस्तो महसुस भयो । अहिलेको नयाँ पुस्ता र केही पुराना पुस्तासँग सम्बन्ध राम्रो बनेको छ । गत वर्ष पूर्वाञ्चलमा नाटक लिएर गएका थियौं । यसपालि आफ्नो ठाउँमा कसरी काम गर्न सकिन्छ भनेर योजना पनि बनाउनुपर्नेछ । त्यही नाटकको तयारीका लागि देउसी खेल्दै भेटघाट र योजना बनाउने सोचमा छु ।
देउसी खेल्ने रहर छ
निशा देशार, गायिका
तिहारमात्र नभएर नेवारको नयाँ वर्ष पनि हो । यति बेला नेपाल संवत्का कार्यक्रमहरूमा व्यस्त हुन्छु । बाहिरको कार्यक्रमचाहिँ छैन । काठमाडौं, भक्तपुर र ललितपुरमै कार्यक्रम हुन्छ । गीतहरू रेकर्ड भइरहेका छन् । तिहारलगत्तै नयाँ एल्बम निकाल्दैछु । नेपालीमात्र नभएर नेपाल भाषाका गीतहरू पनि रेकर्ड भइरहेका छन् । तिहारको समयले बेग्लै अनुभूति दिन्छ । देउसीभैलोको धुन, गीत बज्दा मन एकदम रमाउँछ । झिलिमिली बत्ती, फूलहरू देखेर आनन्द लाग्छ ।
देउसी गाउन मन लाग्छ । बच्चैदेखि सुन्दै आएको हो तर अहिलेसम्म खेल्न जाने अवसर पाएको छैन । त्योचाहिँ अलिकति नरमाइलो लाग्छ । समूह बनाएर देउसी खेल्न जान पाए पनि हुन्थ्योजस्तो लाग्छ । त्यस्तो मौका अब कहिले जुर्छ हेरौं ।
रमाइलो मात्र देखिन्छ
रीतु कँडेल, गायिका
तिहार सबभन्दा मन पर्ने चाड हो । यति बेला बत्तीको महत्व हुन्छ । गाईपूजा, लक्ष्मी भित्र्याएको, सयपत्री र रंगोलीले सिँगारिएको घर देख्दा रमाइलो लाग्छ । अँध्यारो पर्खालमा पनि बत्ती बालेर उज्यालो पारिएको हुन्छ । जताततै रमाइलो मात्र देखिन्छ । सानो छँदा पटाका पड्काउँथ्यौं । झिरझिरे, भुइँचम्पा खेलेको रमाइलो समय याद आउँछ । लंगुरबुर्जा पनि खेलिन्थ्यो । तिहारले दाजुभाइ दिदीबहिनीको प्रेमलाई आत्मीय बनाउँछ ।
नेवारी समुदायको म्हपूजा पनि मन पर्छ । यसपालि मेरो तिहार छैन । तर, पनि देउसीभैलो असाध्यै मन पर्छ । साथीहरूको घरमा देउसी खेल्नचाहिँ जान्छु होला । नाच्ने, गाउने, सबै हाँसीखुसी देख्दा, नाङ्लोभरि फलफूल, रोटी, चामलसहितको दक्षिणा, त्यो नाङ्लो लिएर घरबेटी नाचेको तिहारको यस्तै सानासाना कुराले रमाइलो बनाउँछ । सानोसानो खुसी जोडेर तिहार ठूलो चाड बनेको जस्तो लाग्छ ।