नेपालको 'स्वर्ग' जहाँ गाउँकै संविधानले शासन गर्छ

नेपालको 'स्वर्ग' जहाँ गाउँकै संविधानले शासन गर्छ

गाउँभरि एकैनासका घरहरू । तलदेखि माथिल्लो टोलसम्म एकैनासको ढुंगाको छपनी बाटो । तलपट्टि खेतका ठूलठूला फाँटहरू । सफा-सुग्घर र बिजुलीबत्तीले चौबिसै घन्टा उज्यालो देखिने गाउँ । चिया बगानले गाउँको सौन्दर्यमा अझ माधुर्य थपेको छ । 'हनी हन्टर्स अफ नेपाल' पुस्तकमार्फत विश्वमै प्रसिद्ध बनेको त्यो गाउँ हो- भुजुङ गाउँ ।

देश-विदेशमा 'भू-स्वर्ग'को नामले ख्याति कमाएको भुजुङ गाउँ प्राकृतिक, सांस्कृतिक सौन्दर्यको एक अनुपम नमुना हो । ग्रामीण पर्यटनका लागि देशकै नमुना एवं प्रख्यात यस गाउँमा मन लोभ्याउने दर्जनौं प्राकृतिक सौन्दर्य छन् । मनोरम प्राकृतिक दृश्यपान गर्दै मानवीयता र आत्मीयताको अनुभूति यहाँ सँगाल्न सकिन्छ ।

भुजुङ लमजुङ हिमालको काखैमा थुपुक्क बसेको देखिन्छ । तलतिर मिदिम खोला कलकल संगीत सुसेल्दै बगेको छ, जसको शिर मानिन्छ- भुजुङ गाउँ । समुद्री सतहदेखि एक हजार ६ सय मिटरको उचाइमा अवस्थित गाउँमा समशीतोष्ण प्रकृतिको हावापानी पाइन्छ । पूर्वमा घनपोखरा, पश्चिममा पसगाउँ, दक्षिणमा भोजेगाउँले यस गाउँलाई पहरा दिइरहेको आभास हुन्छ । उत्तरतर्फ भने ठूलठूला खर्क छन्, जहाँबाट अन्नपूर्ण हिमशृंखलाका दर्जनौं हिमाल अवलोकन गर्न सकिन्छ ।

करिब पाँच सय घर रहेको भुजुङ गाउँमा नब्बे प्रतिशतभन्दा बढी गुरुङ जातिको बसोबास छ । प्राकृतिक रूपमा गाउँ जति सुन्दर देखिन्छ, यहाँको गुरुङ संस्कार, चालचलन र परम्परा अझ भव्य र सुन्दर लाग्छ । पाहुनालाई देउतासरह ठानी आतिथ्य सत्कार प्रदान गर्नु यस गाउँको विशेषता हो । लाहुरे संस्कारले गर्दा गाउँ सबै तवरले सम्पन्न र व्यवस्थित लाग्छ ।

 

भुजुङ गाउँको प्रशासकीय परम्परा अर्को आकर्षणको विषय हो । मुखिया प्रथाजस्तै छुट्टै परम्परागत श्वायत्त शासन प्रणाली र संगठनबाट गाउँ अहिलेसम्म पनि सञ्चालित छ । 'भाद्रसभा' नामले अस्तित्वमा रहिआएको उक्त परम्परा धेरैका लागि चासो र अध्ययनको विषय पनि हो ।

भुजुङ गाउँमा द्वैध प्रकारको शासन व्यवस्थाको अनुभव गर्न सकिन्छ । परापूर्वकालदेखि चलिआएको स्वायत्त शासन प्रणाली 'भाद्रसभा' र राज्यका स्थानीय एकाइबीचको समन्वयमार्फत यहाँको शासनव्यवस्था सञ्चालन गरिँदै आएको छ । भाद्रसभा नै गाउँसभाका रूपमा निर्णायक देखिन्छ । गाउँको भौतिक विकास, सामाजिक, धार्मिक, न्यायिक दण्ड जरिवानालगायत काम भाद्रसभाले नै गर्दै आएको छ ।

भुजुङ गाउँमा मुखिया प्रथाजस्तै छुट्टै परम्परागत स्वायत्त शासनप्रणाली अहिलेसम्म पनि सञ्चालित छ । 'भाद्रसभा' नामले अस्तित्वमा रहिआएको उक्त परम्परा धेरैका लागि चासो र अध्ययनको विषय हो ।

भाद्रसभाको इतिहास झन्डै २०० वर्ष पुरानो छ । स्थानीयवासीले आफ्नो शासक अर्थात् सभाध्यक्ष आफैं चुन्ने गरेको यो परम्परा आजसम्म पनि उस्तै छ । प्रत्येक वर्ष गाउँसभाको वार्षिक भेलाबाट यहाँ नयाँ गाउँअध्यक्ष चुनिन्छ । यसपटक पनि गाउँ भेलाले कालबहादुर गुरुङलाई गाउँ अध्यक्ष चुनेको छ । गाउँसभाले पारित गरेका नियम कार्यान्वयन गराउन र अनुगमन गर्न अध्यक्षकै मातहतमा ६ सदस्यीय समिति गठन गरिएको छ ।

प्रत्येक वर्ष भाद्र महिनाको अन्त्यतिर गाउँसभा बस्ने भएकाले यसलाई भाद्रसभा भनिएको हो । यो भद्रसभा पनि हो । गत महिना भाद्र २३ गतेबाट सुरु भएको सभा २६ गते सकिएको थियो । गाउँको सामाजिक, आर्थिक, सांस्कृतिक अवस्था खलबलिन नदिई गाउँलाई एक सूत्रमा बाँध्ने र बाहिरी हस्तक्षेप रोक्ने उद्देश्यअनुसार भाद्रसभा गर्दै आएको अध्यक्ष कालबहादुर गुरुङले बताए ।

भाद्रसभा गाउँको आन्तरिक मामिला हो । सरकारको कानुनमा यसले कुनै दख्खल पाउँदैन । अध्यक्ष कालबहादुरले भने, 'सरकारको कानुन पनि मान्छौं र गाउँलेले बनाएको कानुन प्रयोग गर्छौं । बाहिरका बासिन्दालाई गाउँको कानुन मान्नैपर्ने बाध्यता त छैन तर गाउँसमाजमा आएपछि ती नियम मान्नुपर्ने मानवीय धर्म हो ।'

भाद्रसभा गाउँको ठाटीमा हुने गर्छ । ठाटीको आँगनमा गाउँका भद्र भलाद्मी बस्छन् भने दायाँबायाँ र अघिल्लो भित्तामा गाउँलेहरू बस्छन् । सभाको पहिलो र दोस्रो दिन वर्षभरिका कामको समीक्षा गरिन्छ । साथै गाउँलेले सभासमक्ष कुनै बदनियतपूर्वक गल्ती कमजोरी नगरेको भन्दै धर्म बकेर कसम खाने गरिन्छ । नियमविपरीत काम गर्नेलाई जरिवाना तिर्न लगाइन्छ । तेस्रो दिन संशोधन गर्नुपर्ने नियम­-कानुन सभामा प्रस्ताव गरी छलफल गरिन्छ । चौथौ दिन अन्तिमपटक छलफल गरी गाउँसभा विधान मस्यौदा तयार पारिन्छ । र, सभाबाट सबै गाउँलेले थपडी बजाएर विधान पारित गर्ने चलन छ । यसरी पारित नियमको संग्रह नै 'गाउँसभा विधान' बन्छ, जुन नयाँ चुनिने अध्यक्षको हातमा थमाइन्छ ।

भाद्रसभामा सबैलाई अनिवार्य उपस्थितिका लागि उर्दी जारी गरिन्छ । बिहान र साँझ दुईपटक हाजिर गर्ने नियम रहेकोमा एकपटक मात्र हाजिर गर्न आउनेलाई ५० रुपैयाँ र दिनभर सभामा अनुपस्थित हुनेलाई एक सय ५० रुपैयाँ जरिवाना गरिएको पनि कालबहादुरले बताए ।

भाद्रसभाले यस वर्ष श्रम मूल्य, अन्नबाली, मासुजन्य वस्तु, पेयपदार्थ, बेमौसमी फलफूल तथा तरकारी लगायतको मूल्यमा धेरथोर वृद्धि गरेको स्थानीय आमा समूहकी अध्यक्ष मविना गुरुङले बताइन् ।
भाद्रसभामा ज्येष्ठतालाई विशेष ख्याल गरिन्छ । समिति चुनिँदा ज्येष्ठताबाट क्रमश: तल्लो उमेरसम्मको पालो आउँछ । प्रत्येक वर्ष भदौ महिनाको अन्तिम साताभित्र गाउँ सभाको वार्षिक बैठकबाट समिति चुनिन्छ । यसरी चुनिएको समितिका सदस्यले कुनै पारि श्रमिक भने पाउँदैनन् । पहिलापहिला गाउँसभामा पञ्च र जिम्वालहरूले नालसभा गर्ने गर्थे । त्यसले गाउँलाई सही गति दिन नसकेको र गाउँलेमा आमसहमति हुन नसकेकाले त्यस सभालाई विघटन गरी भाद्रसभा राख्ने निर्णय गरिएको स्थानीय नारायण गुरुङले सुनाए ।

गाउँका सम्पूर्ण कामकारबाही प्रत्येक सालका लागि गठित समितिले परम्पराअनुसार नै गर्दै आएको छ । गाउँसभाबाट चुनिएका अध्यक्षलाई निजले कार्यभार सम्हालेको दिन गाउँबासीका तर्फबाट फूलमाला, खादा, फेटा ओढाई सम्मान र शुभेच्छा प्रकट गर्छन् । गाउँको राम्रो सुरक्षा र व्यस्थापन गरून् भनी ठूलाबडाले आशीष पनि दिने चलन छ ।

निवर्तमान अध्यक्षले कार्यकालको अन्त्यमा गाउँसभासमक्ष आफ्नो कार्यकालभरि नियमविपरीत काम गरेको छैन भनी कसम खानुपर्ने चलन छ । यसबाट कुनै अध्यक्षले आफ्नो कार्यकालमा बदनियतपूर्वक कार्य गरेको छैन भन्नेमा सम्पूर्ण गाउँले विश्वस्त हुने गर्छन् ।

'गाउँसभामा उठेका प्रस्तावहरूको सीधै विरोध गरिँदैन । सबैबीच ती प्रस्तावहरू खुला गर्छौं र पछि उठेका ती विषय कति आवश्यक छन् या छैनन् ? त्यो सब गाउँसभाकै छलफलबाट सर्वसम्मत रूपमा टुंगो लगाएर मात्र गाउँसभाको विधानमा चढाउछौं', स्थानीय तुलबहादुर गुरुङले आफ्नो अनुभव सुनाए ।

सभामा उठेका नयाँ नियमका कुरा, पुराना निर्णय हेरफेर, संशोधन गर्नुपर्ने निर्णयलाई गाउँसभाका तर्फबाट लिखित रूपमा राख्ने काम समिति सदस्यले गर्दै आएका छन् । यो काम स्वयंसेवी रूपमा हुँदै आएको छ, पारि श्रमिकको कुनै व्यवस्था हुँदैन । धेरैजसो गाउँ नियन्त्रणका नियमहरूको प्रस्ताव भने बूढापाका र भद्र भलाद्मीबाट आउने गर्छन् । गाउँका सानाठूला मुद्दा, उजुरी र वर्षमा घटेका अनेक घटना, कसुर, सजायमाथि सभामा विरोध र समर्थनका स्वरहरू लामो समयसम्म उठिरहन्छन् । छलफलबाटै ठोस निष्कर्षमा पुगी ती समस्याको समाधान गरिन्छ ।

कसैले कसैलाई अन्याय गरेको, कानुनविपरीत काम गरेको ठहर भएमा उक्त व्यक्तिबाट गाउँसभाले जरिवाना लिने गर्छ । ३० देखि ४० हजारसम्म वार्षिक जरिवाना शुल्क उठ्दै आएको छ । यस वर्ष २९ हजार रुपैयाँ जरिवानाबापत संकलन भयो । सो रकम स्थानीयस्तरमा भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्यलगायतका विकास कार्यमा खर्च गरिन्छ ।

यसरी आफ्नै पारम्पारिक शासन प्रणालीअनुसार गाउँका मामिला गाउँमै निर्णय गरी छिनोफानो गर्ने हुँदा समाजको एकता र मेलमिलाप बलियो देखिन्छ । यहाँको गाउँसभा प्रथालाई राज्यको पुनर्गठित स्थानीय प्रशासनले पनि स्वीकारेकै छ । 'हाम्रो प्रहरी प्रशासन, अदालत जे भने पनि भाद्रसभा नै हो । गाउँका ठूला घटना एकाध गरी जिल्ला गए होलान्, त्यसबेगर हामी आफैंले बनाएको न्याय प्रणालीले नै हामीलाई बचाइराखेको छ', स्थानीय भलाद्मी नारायण गुरुङले बताए ।

'संघीयताले गाउँ क्षेत्रलाई कताकता पुर्‍यायो । हामी पनि हाल गाउँपालिकामा गाभिएका छौं तापनि हाम्रो गाउँमा भाद्रसभा यसरी नै चलिरहनेछ । हाम्रा लागि गाउँसभाको दस्तावेज नै देशको संविधानसभाले पारित गरेको जस्तो लिखित संविधान हो', अध्यक्ष कालबहादुर भन्छन् ।

यसरी हरेक वर्ष निर्माण गरिने गाउँ विनियम अर्को भाद्रसभा नभएसम्म लागू हुन्छ । र, सो विनियम 'बाहिर कहीँ कतै कसैलाई उपलब्ध गराउन नपाइने' भन्ने गाउँ रीतिथिति निर्णय समितिको विधानमा उल्लेख गरिएको पाइन्छ । विधानमा मुख्यत: बारबन्देजसम्बन्धी, दण्ड-जरिवानासम्बन्धी, रीतिथितिसम्बन्धी र गाउँको बस्तुभाउको दरभाउसम्बन्धी विविध निर्णय हुन्छन् । उदाहरणका लागि यहाँ केही नियम साभार गरिएको छ

बारबन्देजसम्बन्धी निर्णय : स्थानीय घाँसे भूमिहरू (भीरपाखा) बन्देज तथा खुला गर्ने । विद्यालय कम्पाउन्डभित्र चियाबारी तथा अम्रिसो बारी बन्देज गरिएको छ ।
दण्ड जरिवानासम्बन्धी नियम : बन्देज भूमिमा पशु चौपाया चराउन नमिल्ने । गाई गोठ उभौली सार्ने निश्चित मिति, घाँसे मैदान फुकुवा गर्ने मिति, बन्देज गरिएको सिमानाभित्रको बाटो आवतजावतमा रोक । वन सीमाभित्र ढलेका वा सुकेका रूखको मूल्य निर्धारण । तोकिएको सीमाक्षेत्रभन्दा बाहिर ढुंगा तथा अन्य निर्माण सामग्री निकासीमा रोक लगाइएको छ ।
रीतिथिति नियन्त्रण सम्बन्धमा : गाउँभित्र कुनै पनि युवतीले रोधी गर्न, बस्न नपाइने । गाउँ बार्ने बेला प्रत्येक व्यक्तिले गाउँमा घाम उदाएपछि मात्र कोदो, गहुँ चुट्ने, मकै छोडाउने र भुत्ल्याउने । गाउँका साना कामहरूमा पर्म लगाउन नपाइने ।

त्यस्तै विवाह गर्दा भाइ खलकले कोसेलीको मूल्य तोकेर मात्र गोत्र सार्न पाइने । गाउँभित्र रकम लेनदेन गर्दा सयकडा दुई रुपियाँ मासिक ब्याजदरमा सट्टासापट गर्न पाइने । गाउँलाई आपत्कालीन झारा उठाउँदा पाँच हजार उठाउने र गाउँको कोषमा बुझाउनुपर्ने । गाउँमा जुवातास तथा लागूपदार्थ बन्देज । वर्षाको समयमा राखिएका काठे पुलहरू भत्काउन र निकाल्न नपाइने । गाउँपालिकामा खसी, भेडा तथा बोकाहरू समाजले माग्दामाग्दै बाहिर बेचिएमा जरिवाना गरिने । आदि ।

त्यस्तै दरभाउ, ज्याला तथा खाद्यवस्तुको मूल्य सम्बन्धमा पनि गाउँसभाले आफ्नै दरभाउ तोक्ने गरेको छ । यी माथिका विषय हरेक वर्ष गाउँसभाले फेरबदल, खारेज, संशोधन गर्ने परम्परा छ । भेलामा गाउँका १८ वर्षदेखि माथिका गाउँले महिला तथा पुरुषहरूको सहभागिता हुन्छ । यसरी हेर्दा भुजुङ गाउँको गाउँसभा आफैंमा अघोषित राज्यजस्तो लाग्छ । विधान बनाउने, कार्यान्वयन गराउने र कानुनको पालना भए-नभएको फैसला गर्ने राज्यका मुख्य तीन अंगले गर्ने काम गाउँसभाअन्तर्गत नै हुने गर्छन् ।

गाउँसभाले पारित गर्ने निर्णय र नियमहरू यहाँ राजनीतिक दलहरूले पनि पालना गर्नु परेको स्थानीय यम गुरुङले बताए । उनले भने, 'यहाँको नियम र शासन व्यवस्था ठूलो शैक्षिक योग्यतामा र विज्ञतामा आधारित नभई गाउँलाई स्वीकार्य नियमका खातिर अनुभव र परम्परागत प्रणालीका आधारमा तयार गरिन्छ ।'

आधुनिक समयमा राज्यका अंगहरू तथा राजनीतिक दलहरूको हस्तक्षेपबिना गाउँमा यसप्रकारको स्वायत्त शासनप्रणाली कायम रहेको देख्दा जोकोहीलाई अचम्म लागिहाल्छ । गाउँलेहरूलाई राज्यको उपस्थिति वा अनुपस्थितिले खासै फरक नपार्ने अवस्था छ । किनभने गाउँसभाले बनाएका नियमकानुन नै गाउँलेका लागि लोकप्रिय एवं पारदर्शी छन् । गाउँको बजेट बाँडफाँटमा पनि यही सभाको मुख्य भूमिका रहन्छ । यहाँका गाउँलेहरू पनि निकै मिलनसार लाग्छन् । उनीहरूलाई कुनै जात, भूगोल, इतिहासका आधारमा संविधानमा आफ्नो पहिचानको माग गर्दै आन्दोलन गर्नुको जरुरत पनि छैन, किनभने भुजुङ गाउँ स्वयंमा आफैं एक पहिचान हो, एक स्वायत्त क्षेत्र र ऐतिहासिक विरासतका रूपमा जीवन्त छ ।

आफ्नो विकास आफैं गर्न भुजुङ गाउँलाई कसैले सिकाइरहनु पर्दैन । यहाँका गाउँले आफैं एकताबद्ध भई जुटेका छन् । धार्मिक तथा सांस्कृतिक सम्पदा संरक्षण, शैक्षिक विकास, भौतिक पूर्वाधार निर्माणका हकमा सबै 'होस्टेमा हैंसे' गर्दै जुटेका देखिन्छन् । वनजंगलको संरक्षण र व्यवस्थापन आफैंले गरेका छन् । युवा क्लब तथा आमा समूह गाउँलाई सुशिक्षित र व्यवस्थित बनाउनमा जुटेका छन् ।

'हरेक विकास कार्यहरू सहभागितामूलक ढंगले गर्‍यो भने मौलिकता र पहिचान कहिल्यै मासिँदैन । यहाँको सामाजिक, आर्थिक, सांस्कृतिक विकास र नीति निर्माणमा सबैको समान सहभागिता छ । देशका लागि पनि भुजुङ गाउँ एक मोडल बन्नसक्छ', स्थानीय यम गुरुङले भने ।
आफ्नो भाषा, संस्कृति, मौलिकतामा आँच आउन नदिन, बाह्य हस्तक्षेपविरुद्ध र विकासनिर्माणमा एकताबद्ध भुजुङ गाउँवासी अनुशासित, व्यावहारिक र आत्मीय पनि छन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.