फोटो कथा : लोखर्के लभ
'छैन थोरै समय, जंगलबाट जाँदै गर्दा
लोखर्केले घाँसमा चारा लुकाएको हेर्न पनि'
विलियम हेनर डेभिस, लिजर
घाँसमा आफ्ना आहार लुकाउने, खुर्रुखुर्रु दौडिने, झ्याप्पुले पुच्छर भएको सानो लज्जालु जीव हो- लोखर्के । तपाईं बगैंचामा प्रिय मानिससँग गफिइरहेको बेला होस् वा पुस्तकसँग तपाईं एकालाप गरिरहेको बेला, अगाडि आएर जिस्क्याइभाग्ने यो मायालु जीव चञ्चल छ । झुलुक्क देखा पर्ने तर अरूलाई अनुहार देखाउन लाज मान्ने यो जीवको प्रेमालाप हेर्न झनै कठिन छ । यी मायालु जीवलाई क्यामराको लेन्सबाट पछ्याउनुको आनन्द बेग्लै हुन्छ ।
नारायणहिटी फुटपाथबाट दरबार संग्रहालयतिर घण्टौंसम्म लेन्सबाट चिहाउँदा धेरै लोखर्के त भेटिए तर कुनै लोखर्के जोडीको फुर्सद थिएन । निरन्तर भागदौड र झारको झाडीमा यिनीहरूको लुकामारी देखियो ।
सूर्यास्तको बेला एक जोडी लोखर्के रूख चढे । उनीहरूको मायालु मुड झुलुक्क हेर्दै प्रस्टिन्थ्यो । लुकामारी र लगातारको तानातानपछि लोखर्के जोडीले अँगालो मारे । अनि पटक-पटक आफ्नै शैलीमा किस गरे ।