जब लक्ष्मीप्रसाद देवकोटा भने 'म मर्न चाहान्छुु'

जब लक्ष्मीप्रसाद देवकोटा भने 'म मर्न चाहान्छुु'

 

लक्ष्मीप्रसाद देवकोटा भारत पुगेपछि उनको व्यवहार धेरै असन्तुलित भयो । प्रसंग २००५ सालको हो । देवकोटा कोलकाताको पार्क-सर्कसको स्लामक्यासलमा रामहरि जोशी र जयनारायण गिरीको डेरामा जाँदै थिए । जोशी आफ्नो बेतको खाटमा देवकोटालाई सुताएर आपूm भुइँमा ओछ्यान लगाएर सुत्थे । त्यहाँ जोशीसँग भुइँमा सुत्नेहरूमा ईश्वर बराल, जयनारायण गिरी र नारायणप्रसाद भट्टराई पनि थिए ।

एक रात सबै जना सुतिरहेको बेला राति अकस्मात् देवकोटा जुरुक्कै उठे र कराउँदै झ्यालतिर लागे । अनि तीन तलाको त्यो झ्यालबाट उनले हामफाल्न खोजे । बराल र भट्टराईले समाएर देवकोटालाई ओछ्यानमा राखे । त्यति बेला देवकोटाले लामो सुस्केरामा भने, 'म ईश्वरलाई हेर्न चाहन्छु । म मर्न चाहन्छु । आई वान्ट टु डाई ।' त्यसपछि उनले दुवै हातले टाउकोमा छिट्टोछिट्टो मुड्की हान्न थाले र केही बेरमा उनी ओछ्यानमै लडे । भोलिपल्ट उनी सधैंझैं सामान्य अवस्थामा देखिएका थिए ।

देवकोटा मिलनसार थिए । उनीजस्तो परिकारका मान्छेसँग पनि घनिष्ठ हुन सक्थे । त्यही क्रममा उनको घनिष्ठता जोशीसँग भयो । उनीहरूमाझ त्यो सम्बन्ध देवकोटाको कोलकाता भ्रमणबाट स्थापित भएको थियो । जोशीको निमन्त्रणामा देवकोटा कोलकाता गएका थिए । त्यति बेला जोशी नेपाली विद्यार्थीको संगठन हिमाञ्चल छात्र संघका साहित्यमन्त्री थिए ।

 

देवकोटालाई हिमाञ्चल छात्र संघले २००५ साल माघ ३ गते ६ सय रुपियाँ पुरस्कार खामेर भव्य अभिनन्दन गर्‍यो । त्यति बेला महाबोधी सोसाइटी हलमा खचाखच दर्शक भरिएका थिए; देवकोटा मञ्चमा नेपाली भाषामा भाषण गरिरहेका थिए । उनी जति नेपाली बोल्थे त्यति नै कविताको तुक लगाएर अंग्रेजी भाषामा कवितासमेत भनिदिन्थे । उनको त्यही भाषणको रस त्यहाँका बंगाली भाषा तथा हिन्दी भाषाका साहित्यकार र विद्यार्थीले पनि ग्रहण गरे । त्यसैले पर्सिपल्ट 'बंगीय हिन्दी परिषद्'ले पनि त्यही हलमा उनको अर्को भव्य अभिनन्दन गरेको थियो ।

हिमाञ्चल छात्र संघको आयोजनामा भएको देवकोटा अभिनन्दन समारोहमा देवकोटाले सेतो धोती र कोगिटा रङको कुर्ता लगाएका थिए । यसै परिवेशमा आयोजक संस्थाका साहित्यमन्त्री रामहरि जोशीले भने, 'देवकोटाको शारीरिक बनावट नै आकर्षक थियो; अनि उनी नौलो पोसाकमा ठाँटिएर आउँदा समारोहको रौनक नै आकर्षक देखिन्थ्यो ।'

देवकोटाले नेपाली भाषालाई अझै विस्तृत पार्ने योजना बनाएको पनि रामहरि जोशीलाई थाहा थियो । उनी जोशीलाई भन्थे, 'कोटिएर आएको ? ' त्यसको अर्थ 'कोट लगाएर आएको' हुन्थ्यो । यस विषयमा जोशीको भनाइ थियो, 'देवकोटाले यस किसिमको संक्षिप्त भाषालाई पनि लोकप्रिय बनाउन चाहेका थिए ।'

देवकोटाले भने, 'म ईश्वरलाई हेर्न चाहन्छु । आई वान्ट टु डाई ।' त्यसपछि उनले दुवै हातले टाउकोमा छिट्टोछिट्टो मुड्की हान्न थाले ।

एक दिन महाकवि देवकोटा र रामहरि जोशी कोलकातामा ट्राम पर्खेर बसिरहेका थिए । त्यसै बेला त्यहाँ गोली हानाहान भएको दृश्य उनीहरूका अगाडि देखा पर्‍यो । त्यस घडी मान्छेको हूल दौडादौड गर्न थाल्यो । त्यहाँ गोली लागेर लड्ने र मर्ने मान्छे पनि सडकमा देखिए । त्यही हूलमा जोशीचाहिँ देवकोटाको खोजीमा रहे, अनि उनी देवकोटालाई नभेटेर निराश हुँदै आफ्नो छात्रावासमा पुगे । जोशी छात्रावासको आफ्नो कोठामा पुग्दा देवकोटा त्यहीँ बसिरहेका थिए । त्यसपछि जोशीले देवकोटालाई भने, 'गुरु ! तपाईं म मर्न चाहन्छु (आई वान्ट डु डाई) भन्नुहुन्थ्यो तर बाँच्ने त तपाईंको ठूलो इच्छा रहेछ नि !'

कोलकाताका विभिन्न ठाउँमा देवकोटालाई डुलाउने काम पनि प्राय: रामहरि जोशी, देवेन्द्रराज उपाध्याय र जयनारायण गिरीको हुन्थ्यो । जोशीका अनुसार बाहिर जाने बेलामा तोरीको तेल हातमा माडेर देवकोटाले आफ्ना टाउकोमा लगाउँथे र मुखमा पनि दल्थे । उनी बेलाबेला मुखमा क्रिम पनि लगाएर भन्थे, 'म दुब्लो त देखिइन्नँ होला नि ! अब म पठ्ठो हुन चाहन्छु ।'

रामहरि जोशीले कोलकातामा देवकोटाको खुबै सेवा गरे । देवकोटालाई मीठो लाग्ने मासु खुवाउन पनि जोशी त्यहाँ कहिल्यै चुकेनन् । त्यस बेलाको प्रसंगमा जोशीले भन्थे, 'दाल, तरकारी र मासु भयो भने देवकोटा एकोहोरो मासुमासु मात्रै खानुहुन्थ्यो । अनि म सम्झाउँथे, 'गुरु ! दाल तरकारी पनि खानुहोस् न !' उहाँ अत्यन्तै एकोहोरो हुनुहुन्थ्यो । मैले अनुभव गरेअनुसार उहाँको शरीर एकातिर र मन अर्कोतिर हुन्थ्यो । उहाँ बेलाबेला झोक्राउने गर्नुहुन्थ्यो; कहिले रुने गर्नुहुन्थ्यो र कहिले आफ्नो कपाल तानेर बसिरहनुहुन्थ्यो । वास्तवमा मैले देवकोटालाई प्रथमपल्ट तिनै अवस्थामा नै देखेको थिएँ । सुरुमा मलाई देवकोटाको आनीबानी अचम्मको लाग्थ्यो ।'

कोलकाता बसेताका महाकवि देवकोटालाई रामहरि जोशी घरिघरि बिँडी खुवाउने गर्थे । तर, उनी विद्यार्थीको सीमित गच्छे भएकाले देवकोटाको त्यो अटुट अम्मल धान्न सक्तैन थिए । त्यस बेलाको घटना सुनाउँदै जोशीले भनेका थिए, 'हामीले देवकोटालाई उहाँले खानेजति चुरोटबिँडी खुवाउन सक्तैनथ्यौं; किनभने उहाँ एकै घन्टामा एक बन्डल बिँडी सल्काउनुहुन्थ्यो । हामीले मागअनुसारको चुरोटबिँडी दिन नसकेपछि देवकोटा गणेशमान सिंहसँग भन्नुहुन्थ्यो, 'हजुर ! बिँडी खान पाऊँ न !' देवकोटाको त्यो रीत पलपलमा दोहोरिन्थ्यो । त्यति बेला गणेशमान सिंह पनि कोलकातामा हामीसँगै बस्नुहुन्थ्यो ।''

देवकोटा कोलकातामा एक महिना बसेर पुन: बनारस फर्के । उनी बनारसमा मर्ने स्थितिमा पुगेपछि मातृभूमि फर्के । त्यसपछि रामहरि जोशी नेपाल आएपछि उनी देवकोटासँग भेट गर्न बराबर मैतीदेवीफाँट जान्थे । सुरुमा जोशीलाई देखेर देवकोटा हर्षले नाचेका पनि थिए । जोशी देवकोटालाई भेट्न जहिलेजहिले जान्थे हातमा चुरोट लिएर नै जान्थे ।

२००९ सालमा रामहरि जोशीकै सक्रियतामा काठमाडौंमा नेपाली छात्र संघ र हिमाञ्चल छात्र संघको संयुक्त आयोजनामा एउटा विशाल कार्यक्रम भयो । त्यस कार्यक्रमलाई सफल पार्न जोशीहरूले राजा त्रिभुवनलाई पनि आग्रह गरे । सो मागबमोजिम राजा त्रिभुवनले पाँच हजार रुपियाँ र विद्यार्थीलाई पटनाबाट काठमाडौं दसपटक ओसार्न आफ्नो हवाईजहाज दिए । त्यो जहाजको नाउँ भीटी-सीभीसी थियो । जोशीका अनुसार नेपालमा प्रजातन्त्र आएपछि राजालाई सो जहाज भारतले उपहार दिएको थियो ।

कार्यक्रमको तर्जुमाअनुसार काठमाडौंको टुँडिखेलको खरीको बोटमुनि विशाल छात्र सम्मेलन भएको थियो । रामहरि जोशीको इच्छाबमोजिम त्यस समारोहमा पनि अध्यक्ष देवकोटा नै रहेका थिए । त्यस सम्मेलनमा नेपाल, भारत, मलाया र बर्माका विद्यार्थीले पनि भाग लिएका थिए ।

रामहरि जोशीले काठमाडौंमा देवकोटालाई बराबर भेटे । एकपटक जोशी देवकोटाका घरमा जाँदा उनी खाना खाइरहेका थिए । त्यति खेर जोशी पनि सुरुसुरु भान्सामा नै गए । जोशीलाई देख्नेबित्तिकै देवकोटाले उनलाई यहीँ खाना खाऊँ भने र जोशी पनि त्यसका लागि तयार भए । तर, त्यहाँ खाना खाँदै उनीहरूमाझ कुरा हुँदा जोशीको हातले देवकोटालाई छोएछ । अनि देवकोटाले आँखा झिम्क्याएर जोशीलाई आफूलाई नछुन इसारा गरे । तर, त्यो दृश्य देवकोटाकी पत्नी मनदेवीले देखिरहेकी थिइन् । त्यस घटनाले मनदेवी आक्रोशित भइन् । उनले नेवारले भान्सा छोएको भन्ने हिसाबले त्यस दिन खाना नै खाइनछिन् । त्यो प्रसंग देवकोटाले भोलिपल्ट जोशीलाई सुनाएका थिए।

देवकोटाले रामहरि जोशी कवि पनि भएको कोलकातामा नै थाहा पाएका थिए । त्यसैले उनी जोशीसँग झन् नजिक पनि भए । साथै जोशीको 'झंकार' नामक कवितासंग्रहमा उनले सन् १९४९ जनवरी २० मा एउटा भूमिका पनि लेखेका थिए । तर, त्यस भूमिकामध्येबाट ६ हारजतिका अंश मात्र लिएर जोशीको 'झंकार' २०१४ मा प्रकाशनमा आयो ।

गणेशमान सिंह मन्त्री भएका बेला रामहरि जोशीले सिंहलाई भनेका थिए, 'जनरल महावीरशमशेर धनी हुनुहुन्छ । उहाँको भारतमा नै निजी हवाईजहाज छ र त्यहाँको यात्री सेवा सञ्चालनमा पनि उहाँको कम्पनीले खुबै नाउँ कमाएको छ । उहाँका लागि एकदुई लाख रुपियाँ धेरै पनि होइन । उहाँले तपाईंलाई मान्नु पनि हुन्छ र तपाईंका कुरा पनि खानुहुन्छ । त्यसैले उहाँलाई भनेर देवकोटाका लागि एउटा राम्रो प्रेस खोलिदिऊँ । त्यसो भएमा पार्टीका सामग्रीहरू प्रकाशित गर्न पनि सजिलो पर्छ र उहाँको इलम र जीविका पनि हुन्छ । उहाँका सबै किताब पनि त्यहीँ छापिन्छन् ।' तर त्यस बेला जोशीको त्यस आग्रहको कार्यान्वयन हुन सकेन । अनि जोशीले सधैं भनिरहे, 'महाकवि देवकोटाजस्तो मान्छेलाई बाँचुन्जेल हामीले चिन्नै सकेनौं र उहाँको खुबीअनुसारको काम पनि लिन सकेनौं ।'

देवकोटा कोलकाता बस्ता उनलाई रामहरि जोशी र देवेन्द्रराज उपाध्यायले कविता लेख्न अनुरोध गरे । त्यस बेला देवकोटाले डीके शाहीको डेरामा बसेर जोशी र उपाध्यायलाई श्रुतिकविता लेखाए । देवकोटाले ९३ श्लोकको सो 'आँशु' कविता लेखाएका बेला गणेशमान सिंह पनि देवकोटासँगै थिए ।
देवकोटालाई कोलकाता बसाइको सिलसिलामा रामहरि जोशी र देवेन्द्रराज उपाध्यायले महात्मा गान्धीका विषयमा कविता लेख्न अनुरोध गरे । देवकोटाले त्यति बेलै 'बापू' शीर्षकमा एक लामो कविता 'सोनेट्स' लेखे ।

देवकोटाको कोलकाता बसाइमा उनी प्राय: एकान्त खोजेर बस्न पुग्थे र झोक्राइरहन्थे । उनी समारोहस्थलमा होस् या ट्राममा बसेको बेला होस् आँखा झिमझिम गरेर अंग्रेजीमा बर्बराइरहन्थे । उनी मान्छेका माझमा हुँदा पनि हराएका जस्ता देखिन्थे । रामहरि जोशीका अनुसार त्यति बेलै नेपालबाट उनका जेठा ज्वाइँ कोलकाता पुगेका थिए । त्यस घडी देवकोटाले आफ्ना ज्वाइँ कल्याणनाथ रेग्मीका खुट्टा ढोगे र ग्वाँग्वाँ रुन थाले । त्यति बेला उनले आफ्ना छोरा कृष्णप्रसादलाई सम्झेर भनेका थिए, 'मेरो कृष्ण मर्‍यो । म ठूलो अपराधी हुँ, मैले मेरा छोराको औषधि गर्न पनि पाइनँ ।' देवकोटाका भाइ मधुसूदनका अनुसार देवकोटा रुन थाल्दा रोएको रोयै गर्थे र चारपाँच घन्टासम्म पनि रोइरहन्थे ।

देवकोटाको कोलकाता बसाइका क्रममा उनलाई जोगाउन रामहरि जोशी र देवेन्द्रराज उपाध्यायले साह्रै संघर्ष गर्नु परेको थियो । उनी भाग्ने, हराउने र लड्ने डरले प्राय: जोशीहरू थर्कमान रहन्थे । त्यसैले उनलाई एउटा रजिस्टर छाडेर यस कापीमा 'कविता लेख्नु है गुरु' भनेर उनीहरू बाहिर जान्थे । त्यति बेला उनीहरू देवकोटालाई कोठामा एक्लै थुनेर दैलोमा साँचो लगाउँथे र अनि मात्र आआफ्नो काममा जाने गर्थे । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.