म देह रातो रंगिन्छु
प्रत्येक बिहान जब म आफ्नो
मस्तिष्कको चैतन्य ढोका खोल्छु
उर्घाछु अनुभूतिका झ्यालहरू
एक अनाम द्वारपालले मलाई आँखा तर्छ
एक छद्मनाम प्रहरीले मलाई सतर्क गराउँछ
उचालिएका हरेक पाइलासितै म
धकेलिन्छु दस पाइला पछिल्तिर ।
हेर न मेरा भृकुटीमा शताब्दी शताब्दीदेखि
गाँजिएका कथित अमंगल रेखाहरू
मेरा ललाटभरि धैर्यका अमेट धर्साहरू
मेरा हातभरि अदृश्य साङ्लाका डामहरू
मेरा पाउभरि विडम्बनाका डोबहरू
यो चिर-परिचित गोलाकार ग्रहमा हरपल
पलाइरहने च्याप्टा विचारहरूका
म एकमात्र भारवाहक,
एकमात्र द्रष्टा
यसको हजार फन्को लाउँदा पनि किन
बदलिँदैन यसको आकार ?
किन म कहिल्यै बिसाउँनै पाउँदिन मेरा हतार ?
सखारै डुबेको हुन्छु म पाराको उतप्त लावामा
दुई फ्याकमा टुक्र्याउँदै चोइट्याउँदै मलाई
नाकडोरी लाउँदै मेरा मस्तिष्कलाई
वशीभूत पार्ने हजारौं मन्त्रहरू हरपल
उत्पादन भइरहेका हुन्छनकोल्टे शास्त्रका कारखानाहरूमा
अदृश्य चाबुकहरूसँगै ।
प्रत्येकपल्ट म नुहेको हुन्छु
जब प्रेम र आस्थाको बलिबेदीमा
उतार्दछु आफूलाई सम्पूर्ण प्रेमिल आदिम दहमा
प्रत्येकपल्ट छलिएकी म
आफूलाई पाउँदछु मात्र एक तरल आकार
मात्र एक देह...
छताछुल्ल सृष्टिका बीउहरू
मेरा कायाभरि सल्बलाउँछनसल्बलाउँछन् गर्भगृहमा पनि
म सँगालिरहेकी हुन्छु आफ्नो देहको भार
यस ग्रहको भारसितै ।
यो रातो रङको अजम्बरी तरङ दैध्र्यहरूसँगै
तैरिँदै, डुब्दै, बग्दै म
छाल छाल उर्लिरहन्छु
हरेक पल्ट, हरेक युगमा, हरेक रूपमा
मेरा स्नायु र रगतमा हैकम जमाउँदै
मेरो तरल आकारलाई
थरी-थरीका साँचामा ढालिएको छ निर्विवाद
पारा-हर्दी-मेहन्दी र सौभाग्यको
दीर्घायु कामनासितै
म 'सुमंगली'
आफ्नो समाधिबाट प्रत्येकपल्ट ब्युँझाइएकी छु
ब्रह्मरन्धसमेत सुम्पन बाध्य गराइएकी छु
यस चिरपरिचित ग्रहको
नितान्त अपरिचित दुइखुट्टे जीवलाई ।
मलाई समाधीस्थ हुन नदिने हजारौं यत्नमाझ
म देह जलिरहेको हुन्छु
म देह भोगिरहेको हुन्छु
म देह रंगिरहेको हुन्छु
अनन्तसम्म ।
फेरि हरेक रात,
म थुन्छु ढोका चैतन्यको
सिलबन्द गर्छु झ्याल अनुभूतिको
निष्पट्ट अन्धकारबीच
ब्रह्माण्डको श्यामछिद्रबीच
प्रश्नहरूका भीष्म शरशय्याबीच
म देह रातो रंगिन्छु
म देह रातो रंगिन्छु ।।
- दाजिर्लिङ