कवितामा अन्तर्देशीय डिस्कोर्स

कवितामा अन्तर्देशीय डिस्कोर्स

 

जसको सम्झनाको जगमा 'देवकोटा-लुसुन प्रतिष्ठान' उभिएको छ, तिनको नाममात्र उच्चारण हुँदा पनि साहित्यप्रेमीको श्रद्धा चुलिएर आउँछ । नेपालका महाकवि लक्ष्मीप्रसाद देवकोटा रचनाको सहाराले मात्र नभई करुणामय जीवनशैलीले पनि पक्का कवि थिए । जाडोले कामिरहेको भिखारीलाई आफ्नै कोट फुकालेर लगाइदिने वा मासिक तलबको अंश बाँड्दै हिँड्ने यी कविका गतिविधि सुन्दा अहिले हामीलाई किंवदन्तीजस्तो लाग्छ । खासमा उनी त्यही वर्गका पक्षधर थिए ।

abhaya-shresthaशिशिर योगीले गाएको उनको रचना 'दमाई दाइ' सुनियो भने दलित समुदायप्रति उनका सम्मान र समर्पण अनि यथास्थितिवादी सत्ताप्रतिको कडा आक्रोशले हामीलाई भित्रैदेखि हल्लाउँछ । 'यात्री' र 'पागल' कविताको उचाइबारे धेरै चर्चा गरिरहनु पर्दैन । उता, चीनका लुसुन आलोचनात्मक चेतका संसारप्रसिद्ध महान् लेखक हुन् । 'आह क्युको साँचो कथा' शीर्षकको उनको विश्वप्रसिद्ध कथाले चीनको पुरानो संस्कार र समाजको धज्जी उडाउँछ । कथाबारे फ्रान्सेली दार्शनिक रोम्या रोल्यान्ड भन्छन्, 'यो कथा तत्कालीन समाजप्रतिको कटाक्ष र सामाजिक यथार्थवादको अब्बल नमुना हो । फ्रान्सेली क्रान्तिमा पनि विचरा आह क्युजस्ता पात्रहरू प्रशस्त छन् ।'

अन्तर्राष्ट्रिय जमघट

कास्कीको प्रसिद्ध पर्यटकीय स्थल धम्पुस माछापुछ्रे र अन्नपूर्ण हिमशृंखला दृश्यावलोकन र प्रकृतिसँग साक्षात्कारका लागि पुग्ने चलन छ । तर, देवकोटा लुसुन प्रतिष्ठानले गत असोजको २३ र २४ गते आयोजना गरेको अन्तर्राष्ट्रिय काव्य संगमको लक्ष्य अन्तर्देशीय स्रष्टाको जमघट र कविता गोष्ठी मात्र नभई ती देशमा कविता र वैचारिक स्वतन्त्रताबारे डिस्कोर्स चलाउनु पनि थियो । त्यहाँ नेपालका अतिरिक्ति भुटान, भारतको सिक्किम, दार्जिलिङ, खर्साङ, आसाम, देहरादुनको नेपाली भाषी र कलकत्ताका बंगाली भाषी स्रष्टाको उपस्थिति थियो ।

कविताको स्वर

नेपालमा अहिले कविता सबैभन्दा उर्वर छ । बजारमा उपन्यासको दबदबा होला, यो बेग्लै कुरा हो । नयाँ पुस्ताले, खासगरी सीमान्तकृत संस्कृति भएका समुदायले आफ्ना मिथ र संस्कृतिका बिम्बलाई प्रवेश गराएर कविताका स्वर र स्वरूपलाई मात्र नयाँपन दिएका छैनन्, नेपाली भाषालाई नै समृद्ध बनाएका छन् । तथापि, गोपालप्रसाद रिमाल, भूपी शेरचन र देवकोटाका केही गद्य कविताको शिखरलाई अहिले पनि हामीले छुन सकेका छैनौं । रिमाल र भूपीको चेतनास्तर त कता हो कता अझै हाम्रा लागि अगम्य जस्तै छ । नयाँ त तब पो नयाँ जब उसले पुरानालाई जित्छ । कवितासम्बन्धी मेरो धारणा कतिलाई नपच्ला तर नेपाली साहित्यको नयाँ पुस्ताका लागि यो पन्छाउनै नमिल्ने चुनौती हो ।

 

 

एकताका नेपाली साहित्य तथा संगीतको केन्द्र दार्जिलिङ र पेरिफेरी चाहिँ काठमाडौं भएजस्तो लाग्थ्यो । दार्जिलिङका इन्द्रबहादुर राईसँग मिलेर यताबाट गएका ईश्वर वल्लभ तथा वैरागी काइँलाले साहित्यमा तेस्रो आयाममार्फत तहल्का मच्चाएका थिए । नेपाली समुदायको अस्मिताको आवाज उराल्ने अगमसिंह गिरीको 'नौ लाख तारा उदाए' गाएर अम्बर गुरुङ दार्जिलिङबाटै नेपालमा प्रसिद्ध भइसकेका थिए । पछि नेपाल आएर गुरुङ, अरुणा लामा, गोपाल योञ्जन, जशयोञ्जन प्यासी, रञ्जित गजमेर आदिले संगीत तथा गायनमा अनि प्रताप सुब्बा, तुलसी घिमिरे, निरुता सिंहलगायतले सिनेमामा योगदान गरे । अब नेपाली साहित्य र कलाका केन्द्र दार्जिलिङ नभई काठमाडौं नै हुन थालेको छ तथापि भारतीय नेपालीका तर्फबाट राजा पुनियानी, लेखनाथ क्षेत्री, मनोज बोगटी, नीमा शेर्पा, भूपेन्द्र सुब्बालगायतका रचना र हस्तक्षेप अभियानले काठमाडौंलाई तरंगित पारिरहेको छ ।

कवि तथा प्रगतिवादी गायक संगीत श्रोताको विचारमा संसारभरिकै नेपाली भाषी समुदाय काठमाडौंतर्फ ढल्कनुको अर्थ पनि यही हो । यहीँबाट लहर वा ट्रेन्ड अन्ततिर फैलन थालेको छ । यहाँ बर्तोल्त ब्रेख्त, ल्यांग्स्टन ह्युज, धुमिल वा गोपालप्रसाद रिमाल, भूपी शेरचनका लिगेसी बोक्ने कविकै कविता बढी प्रभावशाली छन् । संघर्षशील र चेतनाका कविताले नेपालमा सबैभन्दा प्रस्ट र साकार रूप लिएको देख्न सकिन्छ । अन्य विधामा पनि झन्डै त्यही स्थिति छ ।

सांस्कृतिक निजताको संरक्षण र पैरवीको आवाज उराल्ने, पिछडिएका समुदाय, क्षेत्र, वर्ग, दलित, मधेसी, जनजातिका अधिकारका कुरा स्थानीयताको रङसहित आउँदा नेपाली कविताको भाषा अझ तिख्खर हुँदैछ । बजारका हिसाबले यहाँ सबैभन्दा बढी उपन्यास र आत्मकथाको माग देखिन्छ । अत: थुप्रै कविहरू रातारात हिट हुने लालसामा उपन्यास लेखनतिर लहसिन थालेका छन् । 'तर, यो एउटा छाल हो, लामो समय टिक्लाजस्तो मलाई लाग्दैन', संगीतको कथनमा हाम्रो पनि सहमति थियो।

नेपालबाहिर नेपाल


नेपाली मूलका मानिस संसारमा जहाँ-जहाँ छन्, त्यहाँ नेपाली भाषाकै आधारमा छुट्टै उपराष्ट्रियता बनिरहेको छ । ताजा उदाहरण दार्जिलिङ क्षेत्रमा देख्न सकिन्छ । नेपालमा हरेक जात, समुदाय, क्षेत्र र वर्गका सांस्कृतिक निजता र अधिकारका पक्षमा आन्दोलन चलिरहँदा ती क्षेत्रमा नेपाली भाषाले नै नेपाली मूलका सबै जाति र समुदायका मानिसलाई एउटै मालामा उनेको छ । नेपाली भाषाकै आधारमा गोर्खाल्यान्डको माग गर्दै दार्जिलिङ क्षेत्र १०५ दिन बन्द भयो । नेपाली भाषा बोलेकै कारण भुटानबाट त्यत्रा नेपाली खेदिए र पूर्वी नेपालमा शरणार्थी भएर शिविरमा बस्न बाध्य भए ।

लक्ष्मीप्रसाद देवकोटा रचनाको सहाराले मात्र नभई करुणामय जीवनशैलीले पनि पक्का कवि थिए । जाडोले कामिरहेको भिखारीलाई आफ्नै कोट फुकालेर लगाइदिने वा मासिक तलबको अंश बाँड्दै हिँड्ने यी कविका गतिविधि सुन्दा अहिले हामीलाई किंवदन्तीजस्तो लाग्छ । खासमा उनी त्यही वर्गका पक्षधर थिए ।

भुटानका नेपाली भाषी कवि तुम्बेहाङ लिम्बुले त्यहाँ विचार व्यक्त गर्नु अपराध ठानिने कटु सत्य ओकल्दा लेख्ने र विचार व्यक्त गर्ने मामलामा नेपालका कवि, लेखक धेरै सहज स्थितिमा रहेको महसुस भयो । 'राजपरिवार, भारदार र कुलीन समाजका सदस्यबाहेक त्यहाँ अरूले 'मान्छेजस्तो' भएर बाँच्न पनि पाउँदैनन्', पारिजातको रचना पढेर र खगेन्द्र संग्रौलाको भाषण सुनेर प्रगतिवादी कित्तामा आएका तुम्बेहाङको कुरा सुन्दा उकुसमुकुस भयो । त्यहाँ जोङ्खा भाषाको साहित्य शास्त्रीय घेरामै जेलिएको र प्रकृति, प्रेम अनि राजपरिवारको विरुदावलिमै अल्मलिएको उनको अनुभूति थियो ।

नेपाली भाषा साहित्य परिषद् भुटानको पहलमा साहित्यले जनताको दु:ख र संघर्षको भाषा बोल्न सुरु गरेको रहेछ । 'हामीले पनि त्यस्तो उल्लेख्य केही गर्न सकेका छैनौं, प्रस्थान बिन्दुबाट हाम्रो यात्रा भर्खरै सुरु भएको छ', लिम्बूको कन्फेसन केही हदसम्म व्यक्त हुन नसकेको धेरैको कन्फेसन थियो ।

नेपाली भाषी समुदायको बसोबास भए पनि अन्य देशमा जिब्रो फट्कारेर नेपाली बोल्न पनि नपाइने स्थिति छ । देहरादुनवासी साहित्यकार भूपेन्द्र अधिकारीका अनुसार, भानुभक्त आचार्यकै परिचय पनि गलत किसिमले दिने गरिएको छ । आसाममा भने नेपाली भाषाको साहित्य भाषिक तथा जातीय अस्मितामा बढी केन्द्रित छ । 'त्यहाँ अन्य भाषाका लेखकले पनि नेपालीमा लेखेका छन्', आसामका लेखक रुद्र बरालले भने, 'स्थिति जति प्रतिकूल भए पनि नेपाली भाषीहरू उत्साहसाथ लेखिरहेका छन् ।' अल इन्डिया रेडियोकी समाचारवाचक तथा कवि उषाकिरण सत्यदर्शीले नेपाली भाषीको पहिचान आन्दोलन, गोर्खाल्यान्डबारे दार्जिलिङ, खर्साङतिरका बौद्धिक समाज मौन रहने गरेको उल्लेख गर्दा मलाई पनि हाम्रा बुद्धिजीवीहरूको भारदारी प्रवृत्तिले रन्थन्यायो ।

सिक्किम प्रेस क्लबका अध्यक्ष भीम रावतका अनुसार, १५ वर्षअघिसम्म सिक्किममा दैनिक अखबार 'हाम्रो प्रजा शक्ति' मात्र रहेकोमा हाल १२ वटा दैनिक छन् जसको भूमिका नेपाली वाङ्मयको विकासमा महत्वपूर्ण छ । कार्यक्रममा एकमात्र गैरनेपाली भाषी कवि थिइन् कलकत्ताकी बंगाली भाषी देवव्रती भट्टाचार्य । 'कवि युनिभर्सल हुन्छ, उसले बोल्ने भाषा र व्यक्त गर्ने कुरा पनि युनिभर्सल नै हुन्छ', उदात्त भावको कविता लेख्ने बंगाली कविले भनिन्, 'कविलाई यो भाषा, त्यो भाषा, यहाँको, त्यहाँको भनेर सीमित नगर्नुस् ।' देवव्रतीको कुरा मलाई ठीकै लाग्यो । तर, उनले भन्न छुटाएको कुरा के थियो भने स्थानीयतालाई पक्रेर नै कवि वा लेखकले त्यसलाई युनिभर्सल बनाउँछ ।

काव्य संगम

धम्पुस र पोखराको पर्यटन बोर्डको हल दुवै ठाउँमा अल इन्डिया रेडियोकी समाचारवाचकसमेत रहेकी खर्साङकी उषाकिरण सत्यदर्शीले संगीतसहित नाटकीकरण गरिएको पहिचान आन्दोलन झल्काउने कविताको रेकर्ड सुनाउँदा कविहरू स्वयं दार्जिलिङसँगै आन्दोलित भइरहेका थिए । नेपालका कवि केशव सिलवालको चर्चित कविता 'चिबे चरा'को विम्बमा सीमान्तकृत समुदायको चेतना जागरण र संघर्षशीलताको प्रभाव बेग्लै थियो ।

दार्जिलिङको हिमालय दर्पणका संवाददाता तथा कवि अमर गुरुङले दलित समुदायको थिचिएको आवाजलाई कवितामार्फत मुखर गरे । अर्जुन राई, पुरन तामाङ, भीम रावत, रुद्र बराल, भूपेन्द्र अधिकारी, उषा नन्दीजस्ता भारतीय नेपाली भाषी कविका कविताको स्वर पनि जातीय र भाषिक अस्मितामै केन्द्रित थिए । महिला अस्मिताका कविता सुनाएका सीता शर्मा, हरिमाया भेटवाल, सरस्वती प्रतीक्षा, डा. बिन्दु शर्मासँगै कृष्ण प्रसाई, केबल विनावी, बलराम तिमिल्सिना, राजेन्द्र पौडेल, भीम रानाभाट, गायत्रीकुमार चापागाईं, सविन लम्सालले सामयिक स्थितिमाथि कटाक्ष गरे । प्रतिकूल गला हुँदा पनि जीवन शर्मा र संगीत श्रोताले आ-आफ्ना प्रसिद्ध गीत नसुनाई धर पाएनन् ।

संगीत तथा नाट्य प्रतिष्ठानका कुलपति सरुभक्तले कुनै घटना वा सन्दर्भबाट प्रभावित भएर तत्काल कविता लेख्दा दीर्घायुयुक्त नहुने आत्मस्वीकृति गरिरहँदा देवकोटा लुसुन प्रतिष्ठानका अध्यक्ष निनु चापागाईंका धारणा पनि झन्डै उस्तै थियो । 'हाम्रा कविताहरू, कहाँसम्म भने प्रगतिशील कविताहरू पनि कुनै घटनाको टिप्पणीजस्तो हुन थालेका छन्', चापागाईंको कथनले सबै कविलाई एकपल्ट आफैंतिर फर्केर हेर्न बाध्य बनायो ।

र, अन्त्यमा
आजभोलि कुनै पनि साहित्यिक यात्रा, सम्मेलन वा प्रकाशनका विशेषांकहरू आपसी स्वार्थले ठडिएको घेरा ननाघ्ने सामान्य प्रचलन छ । हरेकजसो साहित्यिक क्रियाकलापमा पनि व्यापारी र नेताको झैं कार्टेलिङ चल्छ । यस्तो बेला प्रतिष्ठानबाट निम्तो पाउँदा विभिन्न देशका कविसँग अन्तक्र्रिया हुने र आफू पनि 'अन्तर्राष्ट्रिय कवि' बन्न पाइने अवसर सम्झेर उत्साहपूर्वक मैले निम्तो स्वीकारेको थिएँ । कार्यक्रम सकेर फर्कंदै गर्दा मैले आयोजक सदस्य मातृका पोखरेलसँग मैले भनेँ पनि, देश, विदेशबाट यति धेरै संख्यामा अतिथि कवि तथा पत्रकार भेला गराएर काव्य गोष्ठी गर्नु अनि छलफल चलाउनु सामान्य काम होइन ।

त्यसमाथि आयोजकलाई 'सबैलाई चान्स दिनुपर्ने' बाध्यता हुन्छ । तर, निश्चित धारका रचना प्रस्तुति र त्यही धारमाथि बहस केन्द्रित गर्न सकेमात्र साहित्य सम्मेलनहरू सामान्य औपचारिक जमघटभन्दा माथि उठ्न सक्छन् भन्ने मनन गर्नु जरुरी छ । जस्तो: देश, विदेशबाट संघर्षशील परम्पराका कवि वा कथाकारको जमघट अनि त्यसै धारमाथि गम्भीर बहस ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.