मुवा थाईको मोह

मुवा थाईको मोह

 

गणेशलाल कक्षपति (३९) ले खेलकुद सुरु गर्दा लक्का जवान थिए- १६ वर्षको । खेलकुदप्रतिको लगाव, निरन्तरको साधनाले उनले छोटो समयमै आफूलाई प्रभावशाली खेलाडीका रूपमा स्थापित गराए ।

उनको परिवारले 'खेलकुद' बुझेको थिएन । राम्रोसँग जीवन-गुजाराको लागि कुनै एउटा पेसा अँगाल्नुपर्छ भन्ने मान्यता थियो परिवारको । सायद त्यसैले खेलकुदमा लाग्न गणेशलाललाई परिवारले कहिल्यै अनुमति दिएन । तर, गणेशलालमा मार्सल आर्टस् सिक्ने हुटहुटी थियो । मनले सेतो 'गी' र त्यसमाथि बेल्ट बाँधेर किक हान्ने निर्णय गरिसकेको थियो । मार्सल आर्टस्प्रतिको यही मोह र लगावकै कारण उनले परिवारबाट लुकिछिपी कराँते खेल्न थाले ।

Bishnu-Thapa_3वि.सं २०५१ सालमा त्रिपुरेश्वरको क्योकोसिन कराँतेको केन्द्रीय डोजोमा कराँतेको प्रारम्भिक शिक्षा लिन सुरु गरे । तर, भित्रभित्रै निकै डराएका थिए । बुवा-आमाले केही भनिहाल्छन् कि भन्ने डर उनमा थियो । त्यसैले दक्षिणकाली नगरपालिका चाल्नाखेलका स्थायी बासिन्दा गणेशलालले आफ्नो नाम परिवर्तन गरेर कराँते खेले ।

परिवारबाट सहयोग नपाए पनि उनले गुरुको सहयोग र सद्भाव पाइरहे । गुरु जगत गौचन, काजीमान श्रेष्ठ र भगीरथ राईको प्रशिक्षणलाई उनी अझै पनि स्मरण गर्छन् । 'ममा मार्सल आर्टस् खेल्ने हुटहुटीमात्र थियो । मार्सल आर्टस्बारे कुनै जानकारी थिएन । गुरुहरूले मार्सल आर्टस्को प्रारम्भिक ज्ञान दिनेदेखि मेरो खेलमा निखार ल्याउने काम गर्नुभयो,' गणेशलालले भने ।

गणेशलालका दाजु रमेशलाल तेक्वान्दोका खेलाडी थिए । दाइले पुन्से गरेको उनी हेरिरहन्थे । दाइले खेलेको देखेर नै उनलाई मार्सल आर्टस् खेल्ने हुटहुटी पलायो । त्यतिबेला उनका दाजुलाई अहिलेका माओवादी केन्द्रका नेता एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी तेक्वान्दो सिकाउँथे । अर्घाखाँचीका स्थायी बासिन्दा टोपबहादुर टौदह मावि पढाउँथे । दिनभर स्कुल पढाउने टोपबहादुर बिहान-बेलुका टौदह माविकै केही विद्यार्थीलाई तेक्वान्दो सिकाउने गर्थे । तीमध्येका एक थिए- गणेशलालका दाइ रमेशलाल । टोपबहादुरले दाइलाई सिकाएको कला उनी पनि हेरिरहन्थे । दाइले किक हान्दा गणेशलाल पनि लुकेर किक हान्थे ।

 

नेपालमा मुवा थाई लोकप्रिय भएकोमा गणेशलाल खुसी छन् । विभिन्न क्लबले मुवा थाई सिकाउन सुरु गरेका छन् ।

 

एक दिन साथी गौतम महर्जनले 'क्योकुसिन कराँते राम्रो हुन्छ' भन्दै केन्द्रीय डोजो पुर्‍याए । घरमा थाहा नदिई केन्द्रीय डोजो पुगेका उनले आफ्नो नाम परिवर्तन गरेर खेले । उनी क्योकोसिन खेल्न केन्द्रीय डोजोमा त भर्ना भए तर खेल्ने लुगा 'गी' थिएन । उनले साथीको पुरानो 'गी' मागेर खेले । 'गी' पुरानो र च्यातिएको थियो । केही दिन त्यही 'गी' लगाएर खेलेका उनलाई भगीरथ गुरुले थोत्रो र च्यातिएको 'गी'मा खेल्न नदिने भए ।

मार्सल आर्टस्को भोक मेट्न नाम परिवर्तन गरेर केन्द्रीय डोजो छिरेका गणेशलाल त्यसपछि भने समस्यामा परे । खेल्न जाउँ 'गी' छैन । नजाउँ मनले मान्दैन । उनी धेरैबेर घोत्लिए । त्यसपछि उपाय निकाले-बुवालाई 'गी' किनिदिन भन्ने । उनले डराइ-डराइ बुबालाई आफ्नो समस्या भने । बुवाले गाली गर्छन् भनेर निकै डराएका थिए । तर, बुवाले केही भनेनन्, चुपचाप कुरा सुनिरहे । छोराले के गर्दैछ भन्ने उनले थाहा पाइसकेका थिए । भोलिपल्टै उनलाई 'गी' किनेर ल्याइदिए । 'बुवाले 'गी' ल्याइदिएपछि म निकै खुसी भएको थिएँ । मेरा लागि त्यो 'गी' संसारकै ठूलो उपहार भएको थियो,' गणेशलालले भने । घरबाट सहयोग पाएपछि गणेशलालको हिम्मत दुगुना भयो । घरपरिवारबाट सहयोग पाएपछि उनले आफ्नै नामबाट खेल्न थाले ।

उनले मार्सल आर्टस् खेल्न थालेको दुई वर्षपछि वि.सं २०५४ सालमा 'ब्ल्याक बेल्ट' लिए । ब्ल्याक बेल्ट लिएपछि कीर्तिपुरमा क्योकुसिन कराँते डोजो खोले । आफ्नै ठाउँमा डोजो खोलेपछि आफूजस्तै खेलाडी उत्पादन गर्न केन्द्रित भए । उनले २०५८ सालमा जेवी आले क्योकुसिन कराँते प्रतियोगिता आयोजना गरे । गणेशलालले खेलाडी, प्रशिक्षक हुँदै आयोजकको पनि अनुभव बटुले । त्यसपछि उनको हौसला बढ्दै गयो । २०६० सालमा सशस्त्र प्रहरी बलका तत्कालीन आईजीपी कृष्णमोहन नुडुप श्रेष्ठको स्मृतिमा प्रतियोगिता गरे । यस प्रतियोगितापछि सबैबाट प्रशंसा पाएका उनी क्योकोसिन बुदोकाई संघको कोषाध्यक्ष एवं सहायक प्रशिक्षक भए ।
यसरी भित्रियो नेपालमा मुवाथाई

क्योकोसिन कराँतेका संस्थापक जगत गौचन उत्कृष्ट खेलाडीलाई समयसमयमा प्रशिक्षणका लागि थाइल्यान्ड पठाउने गर्थे । यही क्रममा केही खेलाडीले मुवा थाई (थाई बक्सिङ) का बारेमा जान्ने र बुझ्ने मौका पाएका थिए । तर, नेपालमा त्यो खेल वञ्चित भएकाले कसैले पनि खेलाउने हिम्मत गरेका थिएनन् ।

२०५५ सालतिर बर्माका प्रशिक्षक दीपक श्रेष्ठ निजी क्लबमा मुवा थाई सिकाउने गर्थे । त्यसबेला क्लबमा सीमित मान्छेले मात्र त्यो खेल खेल्न पाउँथे । क्लबमा छिर्न पनि धेरै गाह्रो थियो । गणेशलाललाई मुक्तिसंग्राम विष्टले सहयोग गरेपछि नियमित मुवा थाई सिक्न पाए । मुवा थाईको कला र खेल्ने शैली अरूले चोर्लान् भनेर बर्माका प्रशिक्षकले क्लबका साथै जंगल र खोलाको डिलमा लगेर छापामार शैलीमा सिकाउने गर्थे । यो खेल सबैले सेल्फ डिफेन्सका लागि मात्रै खेल्ने गर्थे । उनले पनि सोखको लागि मात्र मुवा थाई सिकेका थिए ।

यो खेल निकै जटिल र कठिन थियो । त्यसैले यसलाई बाहिर सिकाउने हिम्मत कसैले पनि गरेनन् । थाइल्यान्ड गएको बेला गणेशलाले मुवा थाईबारे विस्तृत जानकारी लिए । नेपालमा आधिकारिक रूपमा कसरी भित्र्याउन सकिन्छ भनेर थाइल्यान्डका पदाधिकारीसँग जानकारी लिए । थाइल्यान्डका पदाधिकारीले सहयोग गर्ने प्रतिबद्धता जनाएपछि सन् २००८ मा नेपाल राष्ट्रिय मुवा थाई संघ गठन गरे । संघ दर्तासँगै उनी खेलाडी उत्पादनमा केन्द्रित भए ।

निजी क्लबका साथै संघमा खेलाडीलाई तालिम दिन सुरु गरे । खेलाडी उत्पादनमा सक्रिय रहँदारहँदै गणेशलालले सन् २०१० मा विश्व च्याम्पियनसिपमा पनि सहभागिता जनाए । सो प्रतियोगितामा उनीसँगै नमराज भण्डारीले पनि प्रतिस्पर्धा गरेका थिए । उनले अहिले पनि विभिन्न क्लब र डोजोमा गरी दुई सय जनालाई प्रशिक्षण दिँदै आएका छन् । सन् २०१४ मा ए श्रेणीको प्रशिक्षक र ट्रेनरको प्रमाणपत्र प्राप्त गरेका गणेशलालले सन् २०१५ मा ए श्रेणीको रेफ्रीको पनि प्रमाणपत्र प्राप्त गरे ।

मुवा थाईको एमेच्योर स्पर्धामा नेपालले स्वर्णपदक जितिसकेको छ । त्यसैले यो खेललाई व्यावसायिक बनाउन गणेशलाल लागिपरेका छन् । मुवा थाई खेल खेलेरै खेलाडीले बाँच्न सकुन् भन्नेमा तल्लीन रहेका उनले खेलाडीलाई पारि श्रमिक र नगद पुरस्कार राखेर प्रतियोगिता आयोजना गर्दै आएका छन् । अहिले उनका खेलाडीले पनि विभिन्न क्लबमा मुवा थाई कला सिकाउन थालेका छन् । क्लबमा स्वदेशीका साथै विदेशीले पनि तालिम लिने गरेको गणेशलालले बताए ।

नेपालमा मुवा थाई लोकप्रिय भएकोमा गणेशलाल खुसी छन् । विभिन्न क्लबले यो खेललाई सुरु गरेका छन् । 'पछिल्लो समय मुवा थाईले धेरै फड्को मारेको छ । यो देख्दा आफैंलाई खुसी लाग्छ । यो खेलेका खेलाडीले पनि खेलमा लागेर बाँच्न आधार बनेको छ,' हँसिला स्वभावका गणेशलालले मुस्कुराउँदै भने, 'तर ओलम्पिक, एसियाड र दक्षिण एसियाली खेलकुदमा यो खेल समावेश नहुने भएकाले खेलकुदका निकायको नजरमा पर्न सकेको छैन।'

उनी अहिले मुवा थाई खेललाई व्यावसायिक बनाउन लागिपरेका छन् । उनकै पहलमा विभिन्न क्लबका साथै विभागीय टोली त्रिभुवन आर्मी क्लबमा यो खेलले प्रवेश पाइसकेको छ । उनका धेरै चेलाले क्लबहरूमा सिकाउन थालेका छन् । तर, लाइसेन्स नै नलिएकाले पनि मुवा थाई सिकाउने गरेकोमा भने उनले दु:खेसो पोखे । 'मुवा थाई जटिल खालको मार्सल आर्टस् हो । यस्तो जटिल खेल केही व्यक्तिले लाइसेन्स नै नलिई क्लबमा सिकाउने गरेका छन् । केही व्यक्तिको व्यक्तिगत स्वार्थका लागि मुवा थाईलाई पनि विवादित बनाउने काम भएको देख्दा दु:ख लाग्छ,' गणेशलाल भन्छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.