अन्यायमा परेको देवकोटाको यात्री कविता

अन्यायमा परेको देवकोटाको यात्री कविता

महाकवि लक्ष्मीप्रसाद देवकोटाको 'यात्री' कविता मैले २०२९ सालमा पहिलोपटक पढेको हुँ । काव्यको मर्म खोतलेर पढाउने गुरु थिएनन् । हरफहरू अध्ययन गर्‍यो । त्यसका पछाडि कति गहिरो सन्देश छ, त्यो थाहै नपाई समय खेर हाल्यो । कण्ठ गर्नपट्टि लागियो । केके न जानेको छु भन्ने घमण्डले गद्र्धन फुलायो । जमघटमा सामेल हुँदा नसुहाउने लवजमा बर्बरायो । महाकवि देवकोटाको कविता पो त भन्यो । छेउ न टुप्पो केही नसमायो ।

Dahal-Yagyanidhi-1वल्लो छेउ न पल्लो भित्तो भयो । रिँगटा लागेजस्तो गर्‍यो । सेउले धामीको जस्तो कम्पन दियो । 'अर्थ न बर्थ गोविन्द गाई - टाउको दुखेको दबाई नाइटोमा लाई ।' जाँचै लेखियो । नम्बर ल्याइयो । प्रमाणपत्र नै हातमा आए पछि त दुनियाँसामु अन्तर्वार्ता दिन तत्पर भइहालियो । ज्ञानको सतहले या छचल्किने पानीको गाग्रोले काम चलाइयो ।

'मानिसहरूको काँध चढी कुन देवपुरीमा जाने हो ? '
हाम्रा ग्रन्थहरूमा गरिबको गौरव छैन । गौरव त छैन छैन गाथा पनि छैन । शोषकको शोषणले सबै पाना भरिएका छन् । 'जसको सिता खाई उसकै गीता गाई' आफ्नो परि श्रमले आर्जेको पुन्की पकाएर गाँस हाल्दा पनि मालिकको निगाहले ज्यान बचाएँ भन्ने बानी बसेको छ । माथिको हरफमा देवकोटाको मानस र शरीर विम्ब उभिएको छ यसरी :

मैतीदेवी (काठमाडौं)मा लक्ष्मीप्रसादको घर थियो÷छ । फुत्त कुनै कामले बाहिर बाटोमा निस्किए । पाल्कीमा अनमत्त भुँडे बसेको । चारजना मानिसले मुर्दा बोकेसरह बोकेका । कविले दृष्टि दिए भरिया बनेका चारजना 'मानिस'तर्फ । तमाखु घुटघुटाइरहेको छ भुँडे । फुस्स फुस्स धूवाँ उडिरहेको छ । भुँडेले भन्यो, 'लक्ष्मीप्रसाद कता हिँडेका ? महाकविलाई पनि झनक्क रिस उठ्यो ।

जर्का तताएर बोल्दिए । सोधिदिए साहेब कता नि ? भुँडेलाई छाँटा खनिए । उसको मनोविज्ञानमा पशुपतिले ढसमस्सै बसाहा बसाएको थियो । तँभन्दा धर्मात्मा केही छैनन्, भएनन्, हुने छैनन् भनिरहेको भान थियो । भुँडेको साइत बिग्रियो । धर्म गर्न मान्छेको काँध चढेको ठमेलदेखिको बाटो नापिसकेको । चार भागमा बाटोको तीन भाग सकिएको अवस्थामा एउटा लिखुर लिखुरे बाउनले साइत बिगारिदियो । कता ? सोधिदियो । रुढिग्रस्त ठालुको दिमाग खल्बलियो ।
उसको लागि पशुपति रिस्सिनु रिस्सियो । भुँडे आफूलाई राज खान्दानको ठान्थ्यो । यथार्थमा चौतरियाको पगरी पनि पाएथ्यो । चौतरिया मनविज्ञान दुई तर्फबाट कायर हुन्छ । एकातर्फ रजौटोले पगरी खोसिदेला भन्ने कम्पन । अर्कातर्फ पगरी खोसियो भने दुनियाँका आँखामा भीरबाट लडाउनुपर्ने गोरु भइने डर । यी दुवैतर्फका आतेसले आत्तियो भुँडे । खुर्मुराएर मुर्मुर्रिएर गन्हाउने सासले बोल्यो, 'साइत बिगारा काठा ! मैले आजसम्म गरेको धर्म सबै नष्ट गरिदिइस् ।' कविलाई झोंक चलेपछि कविता लेख्छ । सबै काम छोडेर लक्ष्मीप्रसाद देवकोटाले यात्री कविता लेख्नुभयो । यो कविता नेपाली कविताका जति करोड संख्या छन्, ती सबै मध्येको नायक कविता हो ।

ठूला मान्छे बाटो लागेका समयमा कता भनेर नसोध्नू है कहिल्यै पनि, उनीहरूको साइत बिग्रिन्छ । मलाई पनि सभ्यतामा घिसार्दा मेरी आमैले पनि सिकाउनुभा थियो । आजसम्मको छिप्पिएको बुद्धिमा आउँदा ठूला मानिस थरीथरीका र असल मानिस एकथरी हुन्छन् भन्ने बीपी कोइरालाको भनाइको स्टेथिस्कोप लगाउँदा भुँडे चै ठूलोमा पर्‍यो, असलमा परेन । भुँडे धर्मको मखुण्डोले आफ्ना अनाचार पापाचार दुराचार छोप्न चाहन्थ्यो । असल मानिसमा कवि पर्थे । अझ निरपराध बाँचेको जीवनले साइत, कुसाइत छुट्याउनु पर्दैन । उहाँमाथि अधर्म नगरेकाले धर्म गर्नै पर्दैन । धर्म भनेको पछुताउको पत्या (प्रायश्चित्त) पनि हो ।

'यात्री' कविता प्रख्यात भइहालेकाले देवकोटाले समाज भाँड्यो भनेर बालकृष्ण समले शासक राणाका घरघरमा र शाही नातेदारकहाँ पोल लगाईकन दिन बिताएका थिए । समले यात्रीलाई विस्थापन गर्न 'इच्छा' लेखे । 'इच्छा'मा धर्मान्धता छ । 'यात्री'मा मानवता छ ।

कुनै समय समाजका सबै मन्त्रालय, प्रेक्षालय प्रतीक्षालयदेखि शौचालयसम्म सबै धर्म शीर्षकमा चल्थे, चलाएथे । रजौटा गुण्डाहरू समाज कज्याउन समर्थ भएदेखि धर्म शब्द नै बलियो हतियार रह्यो । यसअन्तर्गत धर्म, अर्थ, काम, मोक्ष शब्दका दर्शन बनाइए । हाम्रो समाजमा चाहिँ कामको अर्थ श्रम नभएर सहबास भन्ने व्याख्या गरियो ।

बारम्बार पशुपतिको प्रसंग उठाइरहेको छु । यो मादेउ धेरैमा परिचित छ । नेपालको राजधानीको छातीमा बसेकाले त्यस्तो परिचय यसलाई मिल्यो । समयका प्रवाहमा सिकारी युगदेखि नै यसलाई चिन्ने, लेख्ने र थप्ने विजेता आए । यसलाई जोडेर स्कन्दपुराण लेखियो । यसभन्दा पहिले खप्तड इलाकामा मार्कण्डेय पुराण तयार गरिएको थियो । लिच्छवि वैष्णव धर्मका चिरामा थिए । र, पनि यसलाई भत्काएनन् । पछिका धर्मान्धले तन्त्रवाद पनि थपे । संयोग देवकोटा पनि यसैको छिमेकमा जन्मी हुर्किए । विसं १९९२ मा 'यात्री' कविता आयो । यो कविता आउनुपहिले नेपाली साहित्य ईश्वर र धर्ममा या शृंगारमा आश्रित थियो ।

चेतनाको बीजमा परम्परा बनेको र रूढिग्रस्त रुघाजस्तो डरलाग्दो ईश्वरमात्र जताततैका विषय बन्थे । उता लक्ष्मीप्रसादलाई बाहुनको घेरामा मात्र राखेर 'राणा' घमण्डमा एक प्रकारको घोरण्डो क्षेत्रीवादको कुलीनता राख्ने मानस तयारीमा बालकृष्ण सम थिए । 'यात्री' कविता प्रख्यात भइहालेकाले समाज भाँड्यो देवकोटाले भनेर समले शासक राणाका घरघरमा र शाही नातेदारकहाँ पोल लगाईकन दिन बिताएका थिए । समले यात्रीलाई विस्थापन गर्न 'इच्छा' लेखे । 'इच्छा'मा धर्मान्धता छ । 'यात्री'मा मानवता छ । एकै समयका कविको हानाहान मिहिनसँग पढ्दा थाहा पाइन्छ । सम पनि पश्चिम पढेका बौद्धिक हुन् देवकोटाजस्तै । तर, शासक वर्ग र शासित वर्गको नसा नै फरक हुन्छ । स्नायु नै फरक हुन्छ । हेक्का नै फरक हुन्छ । यो खोज्न अन्त जानु पर्दैन । सम र देवकोटाको कित्ता साँध चिने थाहा हुन्छ ।

अर्कातिर धर्मका व्याख्याताले राजनीतिक सत्ताका कुपात्र रिझााउन र आफूले कोदालो नचलाउन गरेका प्रयत्नहरू काव्यको गर्भमा पसेका छन् । गहिराइ र सतहको कुरा 'यात्री' कवितामै छ । शैव साहित्यमै पनि भुँडे गणेश र छरितो स्कन्दकुमारका विवाद देख्ने कथाले ध्वन्यर्थ खोजेका छन् । त्यो समयमा मान्छेलाई खास नेपालीलाई जीवनको कार्यान्वयन सिकाउन धर्ममा जोडिएका लेखनले मात्रै काम चलाउनुपथ्र्यो । तर, कुनै पनि शिवपुराण सुनाउने-नवाह लाउनेले जीवन सञ्चालनमा चाहिने सन्देश प्रवाह गर्न सकेन । यसर्थमा सबै धर्ममा गाँसेर हेरे पनि मानिसका जिन्दगीलाई उत्थान दिनभन्दा धनीका स्वार्थ घमण्ड अहंकार प्रदर्शन गर्ने माध्यम धार्मिक, धर्मात्मा शब्द बने । हुने खाने क्रूरहरू धार्मिक, धर्मात्मा र अर्थ-कमजोरहरू पापात्मा कहलाइए ।
'पापोऽहं पापकर्माऽहं पापात्म पाप संभव'
(पापी हुँ, मेरो काम पनि पापैमा पर्दछ र भविष्य पनि पापै हुने ।)
गरिबलाई लिएर यस्ता तुच्छ साहित्य बनाए तोत्रेहरूले । यसले गर्दा अर्कालाई पासोमा पारेर आफू धनाढ्य बनेकाले मान्छे मारिरहे ।

'यात्री' कविता नेपाली भाषाको प्रथम आलोक हो र आजसम्मका सबै कवितामध्ये जिउँदो र ढुकढुकी भएको कविता हो । चार सयभन्दा बढी समीक्षा यसै कवितालाई आधार मानेर लेखेका छन् । तर, आजसम्मका उद्भट नेपाली समालोचकद्वय ईश्वर बराल र रामकृष्ण शर्माले पनि 'यात्री' कवितालाई न्याय दिएर समीक्षा गरेनन् । वासुदेव त्रिपाठीले प्राध्यापन गर्दाका चातुर्यमा प्रशस्त कक्षा समाए, बुद्धि ओइर्‍याए तर यस कवितालाई न्याय दिएनन् । माधव घिमिरेको जन्मघर लमजुङ भएको र त्रिपाठीको जन्मघर तनहुँ भएकोले 'कालीगण्डकी' कवितामाथि अत्यन्तै गरिमापूर्ण समालोचना दिएका छन् ।

अर्कोतर्फको कमजोरी छ— माधव घिमिरे महेन्द्रको खुनी राजनीतिलाई सघाउने कवि हुन् भने देवकोटा 'प्रजातन्त्रका पहराली' लेख्ने काठमाडौंमा जन्मघर भएका कवि हुन् । वासुदेव त्रिपाठीले राजनीतिक सत्ताको कित्तामा महेन्द्रसँग आफू र आफ्ना वर्कत लगाउने संकल्प नगरेका भए 'यात्री' कविलाई न्याय दिन घनघोर उचाइ गहिराइ र वेगवान पंख भएको समालोचना दिने थिए । तर, विश्वविद्यालयको प्राध्यापकीय जागिरलाई बढी महत्व दिएकाले 'यात्री'माथि अन्याय भयो ।

त्यसो त देवकोटा स्वयं टीएस इलियटजस्ता थिए । स्वयंले पनि पुग्दो जाँगरले 'यात्री'माथि समीक्षा दिएनन् । उनी उपल्लो तहका समालोचक पनि हुन् । भानुभक्त र लेखनाथमाथि देवकोटाका समीक्षाले यो तथ्य प्रकट गरेका छन् । वासुदेव त्रिपाठी नै नाम गरेका भोजपुरी कवि र उनको भोजपुरी भाषाको काव्यकारितामाथि देवकोटाको सारगर्भित समालोचना खुबै ओहदाको छ । तारानाथ शर्मा चिना समीक्षाको तहका समीक्षक ठहरेका छन् । चूडामणि बन्धु लेखक हुन् । समालोचना दिन सक्तैनन् । कुमारबहादुर जोशीले 'यात्री' कविताको कुरा गर्दा गीताका अनुष्टुप छन्दका कथा ल्याए र नसुहाएको मै थाहै नाइँ गरेर वाक्य बनाए ।

आजसम्ममा ईश्वरलाई विषयका चुरो बनाएर जतिले कृति लेखे तिनले मान्छेलाई चुरो बनाएन्, ठानेनन् । मान्छेका सहृदयताले यो सृष्टि अडेको छ । दया भन्ने भाषा मान्छेले नै तयार गरेको हो । करुणा नभए प्राणी हुनुको अर्थ छैन । विवेकले शासक चल्दैनन् । अहंकारले हुंकारले कमलो मनका जीवलाई हप्काउनु दच्काउनु मूर्खको विजय तुष्टि हो । अनुगृहीत हुनुपर्ने आफैंलाई बोक्नेसँग हो । 'यात्री' कविताको पाँच महिनामध्ये धनाढ्य भुँडेसँग चर्म चक्षु मात्र छन् । तेस्रो आँखा छैन । ऊ अमानुष व्यवहार गर्दैछ । ऊ आफूलाई महाजन भनाउन चाहन्छ । अरू लघुजनको खुट्टा चर्चरी चिरिएका छन् । तिनका घाउमा मल्हम लेप्ने र गोडा सद्दे बनाउँदा मात्र धर्म प्राप्ति हुने निधो कविले गरेका छन् ।

'मल्हम लगाऊ आर्तहरूको चहर्‍याइरहेको घाउ'

कुनै दिन पतञ्जलि थिएन । चरक थिएन । धन्वन्तरी थिएन । वैद्य थिएन । चिकित्सक थिएन । आज चिकित्सा विज्ञानले संसार हल्लाएको छ । अति नै क्रूर मानिसले यो दुनियाँमा नाम राखे । पुरातत्वका भेट्नामा सात आश्चर्य पर्लान् । ग्रेटवाल पर्लान् । शाहजहाँ र मुमताजको नामसीमा आग्रा कहलियो । कालिञ्चोक होस् कि पलाञ्चोक कुनै पनि भगवतीका मूर्ति कुँद्ने कलाकारका हात काटिए।

हात काटिएका कालीगढको बाँकी जीवन सास नजाउन्जेल कुन सासले चल्यो होला ! संसारका जति पुल बनेका छन्, तिनमा कुनै विश्वकर्माका नाम छैनन् । बैंकबाट बजार विनिमयनिम्ति मुद्रा निष्कासन भए । धातुका मुद्रा लगेर वीरेन्द्र पशुपतिमा टाँस्छ र उसको नाम राख्छ । न त्यहाँ मन्दिर बनाउने कालीगढको नाम छ, न त कर्मीको नै नाम छ । ध्वनिगत मतमा त्यहाँ लिंग छ ।
लिंगमा पनि ६ वटा मुख बनाएर लिंगमा मुख बाउन लगाएर पञ्चामृत बर्बाद पारिन्छ । पञ्चबलि दिइन्छ । मुरीका मुरी एक सय साठी मुरीको भात पकाएर हरेक पूर्णिमामा एकैपटक घुर्‍यानमा फालिन्छ । सिद्धिनरसिंह मल्ल र कृष्ण मन्दिर नभए मान्छे भोको पर्दैन । तलेजु नभए मान्छे नांगो हुँदैन । चार नारायणको ठाउँमा चार मुठी सातु खोज्दैछ । पृथ्वीमा जन्म लिएको मान्छे । मान्छेबाट मान्छे लखेटियो मन्दिरको नाममा । देउताको नाममा मारिएका पृथ्वीभरिका मान्छे र जीवहरूको लेखाजोखामा कसले धर्मशास्त्र लेख्यो ?

देवकोटाको 'यात्री' आउनुपहिले औचित्यको साहित्य लेखनाथले लेखे । उनले काललाई (मरणलाई) उपनिषद्कै प्रिजन्ममा लगे । राजा र रंककै द्वन्द्वमा लेखे । पुराण र महाभारतका प्रभावमै लेखे । उत्प्रेरणा र प्रभावमा फरक छ । देवकोटा उत्प्रेरित हुन्छन्, प्रभाव ग्रहण गर्दैनन् । अंग्रेजका साहित्य पनि भरमार पढेका प्रतिभा हुनाले कतैकतै नाम ग्रहण गर्छन् । तर, प्रभाव ग्रहण गर्दैनन् । प्रकृति उनी स्वीकार्छन् । तर, मान्छेका पीडामा भएको ईश्वर चराको गानामा पनि छ ।

'फर्क फर्क हे जाउ समाउ मानिसहरूको पाउ'

यो कविता मोतीरामको शृंगार होइन । धेरै कविको 'कुक्ति सिन्धु' होइन । समको 'सप्रयत्न' होइन । यो कविताले अरू कविता जन्मायो । भूपि शेरचनको 'सर्पको खोजीमा' जन्मियो । सिंगै मोहन कोइराला जन्मियो । आहुतिको 'बाइसौं शताब्दी'मा जन्मियो । नवराज सुब्बाको 'आत्महत्या गर्नुअघि' जन्मियो । गणेश विषमको वसन्तलाई आत्मसात् गर्दा जन्मियो । ताराप्रसाद जोशीले सम्पादन गरेको आधुनिक नेपाली कवितासंग्रह छ, त्यो जन्मियो । साझा कवितासंग्रह छ, त्यो जन्मियो । मेरो जिल्ला खोटाङमा मात्र पचहत्तर हजार कवि भएछन्, एउटाले भन्यो । देवकोटाले 'यात्री' कविता जन्माउँदाका दिनमा नेपाली भाषा अपहेलित थियो । मैथिली ओजनमा थियो । भोजपुरी गरिमामा थियो । अवधि बोल्ने अयोध्याले तुलसीदास तयार पारिसकेका थिए । भर्खरै भानुभक्त घरघरमा जाँदै थिए ।

यदुनाथहरू खोजिँदै थिए । उदयानन्दले अंग्रेज इन्डियाबाट ज्यान नै जोगाउन छुलुबारमा लुक्नु परेको थियो ।देवकोटाले 'यात्री' लेखेर नेपाली जातिलाई नै अमर बनाउने साहित्य लेखे । आज जति नर्सिङ होम छन् । संसारकै गनौ । आज जति बिरामी कुरुवा छन् । संसारकै गनौ । आज जति अस्पताल छन् र स्वास्थ्य मन्त्रालय छन् । तिनलाई गनैाँ । तीन सय देशले अँचेटेका मानववादी गनौं । आर्त र चहर्‍याइरहेका घाउ अनि मल्हमका अर्थ रहेछन् कि रैनछन्?

कुनै दिन केन्दशमशेर राणाले न्वारान गरेकी जेठीलाई महेन्द्रले जेठी बुहारी बनाएथे । चाँदनी शाहको चकचकीमा आमनेपाल मरेथ्यो । तर, मधेसको एक देहातमा जन्मेहुर्केकी मरनीदेवी शाहले धेरै मनुवा बचाइथिन् । गरिब नेपालीका चहर्‍याइरहेका घाउले कविता दुर्नाममा पार्नु छ भने कालीप्रसाद रिजालजस्ता 'बौकाई' लेख्नेसमेत आउँछन् । 'सिल तोड्देऊ' कविताको ठूलो कलंक पनि नेपाली साहित्यमै आयो । यो कलंक वास्तवमा राज खान्दानको कुकृत्य हो । तर, सृष्टि माराको मतियार हुने आग्रह राखेकाले कालीप्रसाद रिजाल कुकवि पनि देखिँदैछन् । कुनै दिन फत्तेमान राजभण्डारीलाई लिएर 'गायक' भनिएको यस देशमा चौतारीमा कंकाल भेटिएका ठाउँमा बोक्सो भेटिएका कविता लेख्ने क्षेत्रप्रताप र फत्तेमान अपव्ययी पनि हाम्रोमा छन् । 'यात्री' अपव्ययी कृति होइन । कुनै पनि दरबारिया नाडर र हिस्टेरियाभन्दा भुइँको मानव सुन्दर हुन्छ ।

तान्त्रिकहरू आए । सनातनीमा आए । बुद्ध धर्ममा पनि आए । काठमाडौंमा सर्वत्र मन्दिरमा तान्त्रिकका कृत्यहरू छन् । यिनको षड्यन्त्रको तानाबुनाले सबै मन्दिरमा टुँडाल ढाकेका छन् । कतै पनि अश्लीलता खिप्न बाँकी छैन । त्यो बेला रजौटालाई फसाउन नसके भारदारको जीवन नै चल्दैनथ्यो । मुखमा माडै लाग्दैनथ्यो । नयाँ बिर्ता पाउन होस् वा जमिन पाउन, रजौटाले चाप्लुसी भाट भएर गर्थे । भारदार पछिको भ्रष्ट मति ताबेदार हो । आजको नागरिक भाषामा गद्दार हो । त्यो गद्दार वर्गले मानवता नास गर्‍यो । मन्दिरमन्दिरमा तन्त्रका दुहाई दिएर गरेका अशिष्ट र अभद्र चित्रहरू साक्षी छँदैछन् । त्यसकारण पनि हाडहरूका सुन्दर खम्बा र मस्तिष्कको यो सुनको छाना' लेखे । वेदले मस्तिष्कलाई 'हिरण्य गर्भ' भनेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.