लेखन सुधार्ने 'शैली पुस्तक'

लेखन सुधार्ने 'शैली पुस्तक'

भाषाले मानिसका सोच, भावना र अवधारणालाई आकार दिन्छ । सूचना सम्प्रेषण तथा ज्ञान र सीपको विनिमयका लागि पनि भाषा चाहिन्छ । भाषाबिना अभिव्यक्ति सम्भव छैन । अध्यात्मवादीहरू भाषालाई जीवनका लागि नभई नहुने ईश्वरीय उपहार मान्छन् । भाषाले नै अन्य जीवहरूभन्दा मनिसलाई पृथक र विशेष बनाएको उनीहरूको भनाइ छ ।

यस्तै शिक्षाशास्त्रीहरू भाषालाई बाल विकास र शिक्षाको आधारका रूपमा स्वीकार्छन् । भाषामा राम्रो भएका बालबालिकाको पढाइ पछिसम्म पनि राम्रो हुने तथा भाषामा राम्रो भएका बालबालिकाले अन्य विषयमा पनि राम्रो गर्ने तथ्य शैक्षिक अनुसन्धानहरूबाट पुष्टि भएका छन् ।

सर्जकहरू विचारलाई सिर्जनाको आत्मा र भाषालाई शरीरका रूपमा लिने गर्छन् । यस्तै मानवशास्त्रीहरूले भाषालाई मानव विकासको एक अपरिहार्य तत्व मानेका छन् । जन्मँदा भाषाविहीन एक बालकले पाँच वर्षभित्र बिनाकुनै औपचारिक तालिम सयौं शब्दहरू, वाक्यहरू र भाषाका निश्चित संरचनाहरू सिक्ने र मानवीय विकासमा यसको बेग्लै महत्व हुने मानवशास्त्रीय मान्यता छ ।
यस हिसाबले जीवनमा भाषाको ठूलो महत्व छ ।

 

रोजगार, उद्योग-व्यवसाय, सञ्चार, सिर्जना, कार्यालय सञ्चालनजस्ता हरेक क्षेत्रमा भाषा नभई हुँदैन । एक पुस्ताबाट अर्को पुस्तामा ज्ञान, सीप, प्रविधि, संस्कृति, सभ्यता आदि हस्तान्तरणमा पनि भाषाले काम गरिरहेको हुन्छ । जति धेरैवटा भाषामा दख्खल भयो, त्यति नै धेरै अवसरको पनि लहर लाग्छ । भाषा विचारको वाहन हो । यो साहित्य, कला, सञ्चार र अभिव्यक्तिको एकमात्र माध्यम पनि हो । यसर्थ हरेक व्यक्ति भाषामा पोख्त हुनु जरुरी छ । आफ्नो भाषामा शुद्ध सम्प्रेषणको क्षमता राख्नुपर्छ । यद्यपि हाम्रो नेपाली भाषामा अधिकांशमा भाषिक शुद्धता पाइँदैन । लेखाइमा त हामी झन् कमजोर छौं । अझ अशुद्ध छौं । हामी 'नेपाली जान्दिनँ, अंग्रेजी राम्रो छ' भन्नुमा गर्व गर्छौं । यो हाम्रो दास मनोवृत्ति हो । अंग्रेजी दबदबाको परिणाम हो । र, भाषिक साम्राज्यवादको प्रभाव पनि हो।

आफ्नो भाषाको यही महत्वबोध गर्दै नेपाली शुद्ध लेख्न मार्गदर्शन गर्ने खिरिलो पुस्तक बजारमा आएको छ । 'नेपाली कसरी लेख्ने ? ' नामको यो पुस्तक नेपाली भाषाको प्रवद्र्धनमा समर्पित विद्वान् लेखक शरच्चन्द्र वस्तीले लेख्नुभएको हो । डेढ सय पृष्ठको यो चिटिक्कको किताब नेपाली राम्ररी लेख्न चाहने सबैका लागि अति उपयोगी रहेको छ ।

भाषा सयौं, हजारौं वर्षदेखि चल्दै आएको हुन्छ र यो कसैले चाहँदैमा रातारात परिवर्तन हुने जिनिस होइन । यो त प्रयोगकर्ताको शैली र वर्षौंको अनुभवअनुसार परिस्कृत हुँदै जाने विधा हो । यद्यपि नेपाली भाषामा केही समययता विविध बबन्डर आएका छन् । कहिले दीर्घ हटाएर सबै ह्रस्व लेख्न त कहिले युनिकोड सजिलो पार्ने नाउँमा संयुक्त अक्षरलाई हलन्त दिएर लेख्न उर्दी जारी हुन्छ । कहिले श, ष आदि हटाएर स मात्र लेख्न निर्देश गरिन्छ । यस्ता अराजक सन्देशले विद्यार्थी त अन्योलमा पर्छन् नै, जीवनभर नेपाली भाषाको साधनामा लागिपरेकाहरू पनि अज्ञानी साबित हुन पुग्छन् या त यस्तो साबित गर्ने प्रयास गरिन्छ । यो अराजकता हट्नै लाग्दा आएको छ, 'नेपाली कसरी लेख्ने ? '

पुस्तकमा सात अध्याय छन् । नेपाली कसरी लेख्ने, हिज्जे, शब्द, वाक्य, अनुच्छेद, शैली र परिशिष्टमा समेटिएका व्यावहारिक तथा उदाहरणसहितका तर्कपूर्ण भनाइले पुस्तक रोचक र संग्रहणीय बनेको छ । अझ राम्रो पक्ष त पुस्तकको परिशिष्टका पछिल्ला पचास पृष्ठमा चल्तीमा आइरहने तर अलमल पर्ने शब्दहरूको वर्णानुक्रमानुसारको सही लेखनसूची छ, जुन नेपाली लेख्नैपर्ने पेसा, व्यवसायकर्मीका साथै नेपाली सुधार्न चाहने सबैका लागि समेत अति उपयोगी छ ।

नेपाली कसरी लेख्ने, हिज्जे, शब्द, वाक्य, अनुच्छेद, शैली र परिशिष्टमा समेटिएका व्यावहारिक तथा उदाहरणसहितका तर्कपूर्ण भनाइले पुस्तक रोचक र संग्रहणीय बनेको छ ।

यति बेला नेपाली भाषालाई कमजोर पार्ने केही अतिवादी सोच पनि हामीबीच व्याप्त छन् । एकथरी भन्छन्— विभिन्न समुदाय र जनजातिका भाषाहरूलाई कमजोर पार्ने र थिचेर राख्ने भानुभक्तीय खस भाषाको प्रयोजन छैन । उनीहरूका अनुसार जनजाति भाषा या मातृभाषापछि सीधै अंग्रेजी जाने पुग्छ । अनि अर्काथरी पण्डितहरूको मत छ— जे हो नेपाली भाषा मात्र हो, अरू कुनै जातीय भाषाको आवश्यकता छैन । वास्तवमा यी दुवै अतिवादी सोचले नेपाली भाषालाई कमजोर पार्छ । नेपाली हाम्रो राष्ट्रभाषा हो । यसको आफ्नै उच्च स्थान छ । अरू सयभन्दा बढी राष्ट्रिय भाषाहरू जो छन्, ती सबै हाम्रा सम्पदा हुन् । हाम्रा सम्पत्ति र हाम्रा सान हुन् । हाम्रा पहिचान हुन् । यी सबै भाषाको संरक्षण हुनुपर्छ । अझ साना नानीहरूले त ती राष्ट्रिय भाषा अर्थात् मातृभाषामा शिक्षा पाउने वातावरण भयो भने त्यो झन् सुनमा सुगन्ध हुनेछ । यस परिवेशमा पनि भाषाको गरिमा र शुद्ध लेखनको महत्वबोध गराउने यो पुस्तक साँच्चै महत्वपूर्ण रहने निश्चित छ ।

कतिपयलाई लाग्छ— लेखनमा जति साहित्यिक क्लिष्ट शब्द घुसाउन सक्यो, त्यति नै स्तरीय बन्छ । वास्तवमा यो भ्रम हो । लेखन जति सरल र सबैले बुझ्न सक्ने भयो, त्यति नै राम्रो हुन्छ । प्रचलित र सजिला शब्द क्रम मिलाएर लेख्नुपर्छ । एउटा वाक्यमा एउटा कुरा मात्र लेख्नु पर्छ । अर्थ राम्ररी बुझेका शब्द मात्र प्रयोग गर्नुपर्छ । पुस्तकको पहिलो अध्याय 'नेपाली कसरी लेख्ने' कोे सार यही हो । 'हिज्जे' मा चाहिँ उस्तै ध्वनि हुने तर हिज्जे फरक हुने शब्दलाई कहाँ कसरी प्रयोग गर्ने उदाहरणसहित विवेचना गरिएको छ । यसमा हलन्त, संयुक्त अक्षर, ह्र्रस्व-दीर्घ, अंक र मिति, पदयोग-पदवियोगलगायत विषयमा दृष्टान्तहरू प्रस्तुत गरिएको छ । शब्दबारे नाम, सर्वनाम, विशेषण, अव्यय, विभक्ति र क्रियाको उदाहरणसहित प्रयोगको चर्चा प्रस्तुत छ । पुस्तकमा 'वाक्य' अध्याय अझ रोचक छ । यसमा शब्दको क्रम नमिल्नाले लाग्ने अर्थको अनर्थका नमुनाहरू असाध्य रमाइला छन्।

एउटा नमुना हेरिहालौं :
'दुइटा सगरमाथाका तस्वीर ज्यादै आकर्षक थिए ।' सगरमाथा एउटै हो, तस्वीर मात्र दुइटा हो । त्यसैले भन्नुपर्छ, 'सगरमाथाका दुइटा तस्वीर ज्यादै आकर्षक थिए ।'
एउटा वाक्यमा एउटा कुरा भनिन्छ । एउटा अनुच्छेदमा एउटा विषय, एउटा सन्दर्भ, त्यसको एउटा पक्ष वा एउटा बुँदा प्रस्तुत गरिन्छ । भनिन्छ, लामा अनुच्छेद पढिँदैनन्, हेरिन्छन् मात्र । 'अनुच्छेद' अध्यायमा सुझाइएको छ : चार-पाँचदेखि आठ-दस वाक्यका छोटा अनुच्छेद लेख्नुपर्छ ।

हरेक लेखनको उद्देश्य हुन्छ । आफ्नो कुरा अरूसम्म पुर्‍याउनु यसको मूल मर्म हो । लेखाइ सरल हुनाका साथै लालित्यपूर्ण र लयबद्ध हुनुपर्छ । लेखाइको तरिकाबारे 'शैली' अध्यायमा लेखकले २१ वटा उत्तम टिप्स प्रस्तुत गरेका छन् । यसमा परम्परागत हिज्जेको प्रयोगमा जोड दिइएको छ । उखान टुक्का र विशेषण कम प्रयोग गर्न भनिएको छ । नबोलिने तथा अनावश्यक शब्दलाई निषेध गरिएको छ भने छोटा वाक्य र कर्तृवाच्यको प्रयोगमा जोड दिइएको छ । साथै यसमा पाठकमाथि विश्वास गर्न र पुनर्लेखन गर्न पनि उत्प्रेरित गरिएको छ ।

एक दशकअघि एकता प्रकाशनबाट प्रकाशित वस्तीकै पुस्तक 'हाम्रो भाषा'का केही प्रसंग तथा पाँच वर्षअघि नेपाली भाषा प्रयोगकर्ता समूहका नाममा प्रकाशित 'नेपाली कसरी शुद्ध लेख्ने' गोजीपुस्तिकाका कतिपय प्रसंग यसमा पनि मिल्दाजुल्दा छन् । त्यसो त एकै प्रकृतिका प्रकाशनहरूका विवरणमा केही समानता पाइनु अस्वाभाविक पनि होइन । पत्रपत्रिका तथा पुस्तकका असल लेखनका उदाहरण तथा त्रुटिपूर्ण लेखनका नमुना दृष्टान्तहरू तथा सिर्जनात्मक लेखनका लागि थप टिप्स पनि समावेश गरिएको भए पुस्तक अझ खँदिलो हुने थियो ।

'शिक्षक' मासिकले प्रकाशन गरेको यस पुस्तकमा लेखक, पत्रकार तथा सम्पादकहरूका लागि अति आवश्यक जानकारीहरू रहेका छन् । साथै नेपाली लेखन सुधार्न या बनाउन चाहने सबैका लागि यो पुस्तक अत्यावश्यक छ । शिक्षक, विद्यार्थी तथा अड्डा, अफिसमा कार्यरत कर्मचारीका लागि समेत पुस्तक हितकारी रहेको छ । लेखनमा एकरूपता र मिठास तथा चुस्त-दुरुस्तका लागि प्रकाशनगृहहरूले आआफ्ना शैली पुस्तिका बनाएका हुन्छन् । नेपालीमा लेख्ने जोकोही स्वतन्त्र व्यक्तिले भने यसलाई शैली पुस्तककै रूपमा अपनाउँदा फरक पर्दैन ।

लेखक : शरच्चन्द्र वस्ती
प्रकाशक : शिक्षक मासिक
पृष्ठ : १४९
मूल्य : रु. ३००


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.