यी हुन् ६ करोड ठगी आरोपमा पक्राउ परेका एनआरएन
काठमाडौं -नेपालमा जापानी स्कुल सञ्चालन गर्ने नाममा एक जापानीलाई ६ करोडभन्दा बढी रकम ठगेको आरोपमा गैरआवासीय नेपाली संघ(एनआरएनए) जापानका पूर्वपदाधिकारी पक्राउ परेका छन् । राजधानीमा शनिबारदेखि सुरु एनआरएनएको विश्व सम्मेलनको पूर्वसन्ध्यामा काठमाडौं प्रहरी परिसरको टोलीले अनुज थापालाई पक्राउ गरेको हो ।
पीडित जापानीले केही दिनअघि परिसरमा आएर उजुरी गरेपछि प्रहरीले थापाको खोजी गरेको थियो । थापा एनआरएनए, जापानका पूर्वमहासचिव हुन् । उनी हाल एनआरएनएमा आईसीसी सदस्य छन्।
नेपाल पर्यटन बोर्डको जापानस्थित प्रतिनिधिसमेत रहेका थापाले जापानी प्रोफेसर यामामोतो हिराकीलाई प्रलोभनमा पारी ठूलो रकम हात पारेका थिए । हिराकी लगानी गर्न तयार भएपछि उनीहरूले ०७१ चैतमा सोह्रखुट्टेमा एउटा घर किने । साथै, फोर्डको गाडी पनि लिए । थापाले सबै व्यक्तिगत नाममा दर्ता गरे । ०७२ सालको विनाशकारी भूकम्पले भवनमा क्षति पुर्याएको भन्दै त्यसपछि पनि तीन पटक हिराकीबाट पैसा लिएका थिए ।
‘सुरुमा दुवैले मिलेर काठमाडौंमा जापानी स्कुलको शाखा खोल्ने योजना बनाए । सल्लाहमै गाडी र घर पनि खरिद गरे । तर, अनुजले स्कुल सञ्चालन गर्ने विषयमा जापानीलाई दिनदिनै टार्दै गएको पाइएको छ । उनको ठग्ने नियत देखिन्छ’, काठमाडौं प्रहरी परिसरका मुद्दा शाखाका नायब उपरीक्षक (डीएसपी) बेल पाण्डेले भने ।
स्रोतका अनुसार केही समयअघि पनि पीडित जापानी अपराध महाशाखा र काठमाडौं प्रहरी परिसरकहाँ उजुरी गर्न पुगेका थिए । तर, प्रहरीले आलटाल गरेपछि जापानी निराश भएर फर्किएका थिए । अनुजले सोह्रखुट्टेमा घर किनेलगत्तै त्यसलाई बैंकमा राखेर लोन लिएका थिए । प्रहरीका अनुसार अनुजले बैंकमा घर राखेर करिब दुई करोड रुपैयाँ लिई व्यक्तिगत प्रयोजनमा खर्च गरेका छन् ।
उनले स्कुल खोल्न प्राप्त गरेको रकममध्ये धेरै हाताहाती र केही बैंकमार्फत जापानीबाट लिएका थिए । जापानी स्कुल स्थापना प्रक्रिया अगाडि बढ्न नसकेपछि जापानी आफू ठगिएको निष्कर्षमा पुगेका हुन् । जापानीसँग विवाद भएयता अनुज अधिकांश समय नेपालमै बस्दै आएको प्रहरीले जनाएको छ । धादिङ त्रिपुरेश्वरका अनुज राजनीतिक पहुँचका आधारमा प्रहरीलाई समेत चुनौती दिने गरेका थिए । प्रहरीले ठगी मुद्दामा अनुजमाथि अनुसन्धान अगाडि बढाएको छ ।