किन बसेनन् माओवादीका शीर्ष नेता समानुपातिकमा?

किन बसेनन् माओवादीका शीर्ष नेता समानुपातिकमा?

 

काठमाडौं : माओवादी केन्द्रले संघीय संसद् (प्रतिनिधिसभा) का लागि पूर्वसभामुख ओनसरी घर्तीलगायत पार्टीका दोस्रो पुस्ताका नेतालाई मात्रै समानुपातिक उम्मेदवार बनाएको छ ।
निर्वाचन आयोगमा आइतबार समानुपातिकतर्फका पार्टी उम्मेदवारको बन्दसूची बुझाउँदै माओवादीले घर्तीलगायत नेतालाई समानुपातिकतर्फ उम्मेदवार बनाउँदै सूची बुझाएको हो ।

वरिष्ठ नेता रामबहादुर थापा (बादल) नेतृत्वको कार्यदलले गृहकार्य गरी अन्तिममा मुख्य तीन नेता बसेर बन्दसूची तयार पारेका थिए । निर्वाचन आयोगले तोकेको समयावधिको अन्तिम समयतिर साँझ ५ बजे आयोग पुगेर माओवादीले सूची बुझाएको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।

माओवादीले पूर्वसभामुख घर्तीका अतिरिक्त पूर्वमन्त्री हितराज पाण्डे, रेखा शर्मा, नेता मणि थापा, नारायण दाहाल, तिलक परियार, जयपुरी घर्ती, श्रवण वर्वरिया यादव, पूर्णकुमारी सुवेदी, देवी खड्का, विमला सुवेदी, पासाङ शेर्पा, सुरेश आलेमगर, नारायण शर्मा, धर्मशिला चापागाईं, बलावती शर्मालगायतको नाम समानुपातिक सूचीमा राखेको छ ।

माओवादीभित्र श्रीमान्÷ श्रीमती नै राजनीतिमा सक्रिय भएकामध्येबाट कतिपयले प्रत्यक्ष तथा समानुपातिक दुवै तर्फका टिकट पाउने करिब-करिब पक्काजस्तै भएको छ ।
समानुपातिक सूचीमा परेकी पूर्वसभामुख ओनसरीको श्रीमान् वर्षमान पुन रोल्पाबाट प्रत्यक्षमा निर्वाचन लड्दै छन् । अध्यक्ष दाहालका भाइ नारायण दाहाल समानुपातिक सूचीमा परेका छन् ।

समानुपातिकमा परेकी पूर्वमन्त्री रेखा शर्मा कृष्णध्वज खड्काकी श्रीमती हुन् । खड्का प्युठानबाट प्रत्यक्षमा निर्वाचन लड्ने गरी सिफारिसमा परेका छन् । ‘दर्जन हाराहारीमा श्रीमान्, श्रीमती प्रत्यक्ष र समानुपातिक उम्मेदवार बन्दै हुनुहुन्छ,’ माओवादीका ती नेताले भने, ‘तर उहाँहरूले पार्टीमा योगदान पुर्‍याएर र जिम्मेवारीमै रहेका कारण उम्मेदवार बन्ने मौका पाउन लाग्नुभएको हो ।’ शीर्ष नेता अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादललगायतलाई प्रत्यक्षमै निर्वाचन लडाउने गरी कसैको पनि नाम समानुपातिक सूचीमा राखिएको छैन ।

नेता बादललाई समानुपातिक उम्मेदवार बनाउने गरी माओवादीभित्र सुरुमा चर्चा चले पनि उनले प्रत्यक्षमै निर्वाचन लड्ने बताएपछि उनको नाम समानुपातिक सूचीमा राखिएको छैन । दाहाल चितवन ३, थापा चितवन २ र श्रेष्ठ गोरखा २ बाट निर्वाचन लडाउने माओवादी योजना छ । नेता कृष्णबहादुर महरा, वर्षमान पुन, चक्रपाणि खनाललगायतलाई माओवादीले प्रत्यक्षमै उम्मेदवार उठाउने भएको छ ।

‘पार्टी शीर्ष नेता प्रत्यक्षमै निर्वाचन लड्नुहुन्छ, समानुपातिकमा बस्नुभएको छैन’, सूची बुझाउन निर्वाचन आयोग पुगेका नेता देवेन्द्र पौडेलले अन्नपूर्णसँग भने, ‘बन्दसूचीमा पनि नाम सच्याउन आयोगले अझै समय छुट्ट्याएकाले अझै केही फेरबदल हुन सक्छ ।’

आयोगमा बुझाएको नाममा माओवादीले संघीय संसद् (प्रतिनिधिसभामा) ११० र प्रदेशसभाका लागि २२० जनाकै नाम बुझाइएको प्रवक्ता भुसालले बताइन् । संघीय संसद् (प्रतिनिधिसभा) तर्फ ५७ महिला र ५३ पुरुषको नाम बुझाइएको छ ।प्रेमबहादुर र लोकमणि परे, साध्यबहादुर परेनन

माओवादीले पार्टीको तर्फबाट समानुपातिक सूचीमा माओवादीको निर्वाचन चिह्न लिई निर्वाचन लड्न चाहेका समाजवादी जनता पार्टीका प्रेमबहादुर सिंह र जनजागरण पार्टीका लोकमणि ढकालको नाम समावेश गरेको छ ।

सिंहलाई पिछडिएको क्षेत्रमा राखेर नाम समावेश गरिएको छ । माओवादीसँग समानुपातिक सूचीमा नाम माग गरिरहेका जनमोर्चाका नेता साध्यबहादुर भण्डारीलाई भने माओवादीले बन्दसूचीमा नाम समेटेको छैन ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.