युरोपियन युनियनबाट बहिरिनु बेलायतका लागि क्षति
लन्डन : अमेरिकी डेमोक्रेटिक पार्टीकी नेतृ हिलारी क्लिन्टनले बेलायतको युरोपियन युनियन(इयु)बाट हुने बहिर्गमनले बेलायतलाई ‘धेरै ठूलो क्षति’ हुने आइतबार बताएकी छन् । उनले बहिर्गमन (बे्रक्जिट)ले विभिन्न उद्योग कम्पनीलाई आफ्ना साधनस्रोतलाई युरोपतर्फ लग्न बाध्य तुल्याउने बीबीसी टेलिभिजनको आइतबारको प्रशारणका लागि दिएको अन्तर्वार्तामा बताएकी हुन् । बेलायतले इयु छोड्दा यसले आफ्नो व्यापारिक सम्बन्धलाई पुनः व्यवस्थित गर्नुपर्ने र यसका कारण बेलायतको आर्थिक पक्षमा गम्भीर अवरोध आउनसक्ने क्लिन्टनको भनाइ थियो ।
‘मलाई लाग्छ, यो बेलायतका लागि धेरै ठूलो बेफाइदा हुन्छ’, क्लिन्टनले भनिन् । सम्झौता हुन्न भन्नुको अर्थ व्यापारिक सम्झौतालाई महत्व नदिइनु भएको उनले दाबी गरिन् । यसको अर्थ बेलायती उत्पादनलाई इयुको सदस्य रहँदाको अवस्थामा झैँ युरोपेली बजारमा सहज पहुँच नदिइनु भएको उनले बताइन् ।
अमेरिकी पूर्वविदेशमन्त्री समेत रहेकी क्लिन्टनले भनिन्, ‘बेलायती व्यापारिक क्षेत्रमा हुने अवरोध गम्भीर हुनसक्छ ।’ बेलायतले इयुबाट बहिर्गमनको प्रक्रियाका लागि छलफल चलाइरहेको छ । लन्डनले सन् २०१९ को मार्चसम्म प्रक्रियालाई टुंगोमा पुर्याउने तर व्यापारिक सम्झौता भने नहुन पनि सक्ने बताएका बेला क्लिन्टनको यस्तो भनाइ आएको हो ।
बेलायतले आर्थिक दायित्व व्यहोर्नुपर्ने माग
यसैगरी इयु आयोग प्रमुख जँ क्लाउड यंकरले ब्रेक्जिट व्यापार वार्ताका लागि बेलायतले आर्थिक दायित्व बहन गर्नुपर्ने बताएका छन् । उनले रेस्टुराँमा गएर एक चरण रक्सी (बियर) खाएर बाहिरिने समूहले बिल नतिर्ने कुरासँग तुलना गर्दै बेलायतको कदम पनि त्यस्तै भएको उल्लेख गरे । उनले भने, ‘बेलायतीहरूले दिनप्रतिदिन नयाँ समस्या आएको महसुस गरिरहेका छन् । त्यसैले बेलायतको बहिर्गमन प्रक्रिया पहिले सोचिएभन्दा लम्बिनसक्ने देखिएको छ ।’ एउटा होटेलमा बसेर २८ वटा बियर मागेर केही बियर सकिएपछि कोही बाहिरियो भने उसले होटेलको आर्थिक दायित्व बहन गर्नैपर्ने उनले उदाहरण दिए ।
उनले आफूले बेलायतसँग बदलाको भावनाले यो कुरा नउठाएको पनि उनले दाबी गरे । बेलायतीहरूसँग युरोपियनहरू आभारी नै हुनुपर्नेमा उनको आग्रह थियो । विश्वयुद्धका बेला, युद्ध पूर्व र पछाडि पनि युरोपका सबै मुलुकमा बेलायतीले धेरै कुरा भित्र्याएको उनको कथन थियो । बेलायतले अहिले युरोपलाई केही आर्थिक दायित्व व्यहोरेर सहयोग गर्नुपर्ने बताए ।