नेपाली क्रिकेटको निरन्तर खस्कँदो प्रदर्शन

नेपाली क्रिकेटको निरन्तर खस्कँदो प्रदर्शन

काठमाडौं: सोमबारका लागि सारिएको हङकङविरुद्धको दोस्रो खेल खराब मौसमका कारण सम्भव नहुँदा नेपालले यसै प्रतियोगितामार्फत सन् २०१९ को विश्वकपका लागि हुने अन्तिम चरणको छनोट प्रतियोगितामा स्थान सुरक्षित गर्ने अवसर त गुमायो नै सँगसँगै डिभिजन दुईमा घटुवासमेत हुन पुग्यो । नेपाललाई विश्वकप छनोट प्रतियोगितामा स्थान सुरक्षित गर्न र डिभिजन एकमै टिकिरहन अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत हङकङविरुद्धको दुवै खेलमा जित आवश्यक थियो।

पहिलो खेलमा हङकङसँग ८३ रनको पराजय व्यहोर्दा नै त्यो सम्भावना झिनो बनेको थियो । झन् खराब मौसमका कारण दोस्रो खेल सम्भव नहुँदा त झिनो सम्भावना पनि पूर्णरूपमा समाप्त भयो । आइतबारकै लागि तय भएको खेल आयोजक राष्ट्र हङकङमा सामुद्रिक आँधीसँगै आएको वर्षाका कारण सोमबारका लागि सारिएको थियो । सोमबारको खेलमा पनि वर्षा बाधक बनेपछि नेपाली टोली हङकङसँग एक÷एक अंक बाँडन बाध्य भयो।

दुई वर्षअघि डिभिजन दुईमै रहेको नेपाललाई आईसीसीले यसै च्याम्पियनसिपमार्फत डिभिजन एकमा तानेको थियो । सन् २०१५ को जनवरीमा नामिबियामा भएको डिभिजन दुई प्रतियोगितामा शीर्ष दुईभित्र अटाउन नसकेपछि नेपालले डिभिजन एकमा उक्लने र च्याम्पियनसिपसहित इन्टरकन्टिनेन्टल कप खेल्ने अवसर गुमाएको थियो।

यद्यपि आईसीसीले त्यसलगत्तै डिभिजन एकमा रहेका आयरल्यान्ड र अफगानिस्तानलाई पूर्ण सदस्यता प्रदान गर्दै केन्यासँगै नेपाललाई पनि च्याम्पियनसिप खेल्न दिने निर्णय गरेको थियो । डिभिजन एक टोलीको हैसियतमा अन्य टोलीले खेलेको इन्टरकन्टिनेन्टल कप खेल्न नपाए पनि नेपालले डिभिजन एकको मान्यता भने पाएको थियो । तर, त्यसयता झन्डै तीन वर्षको अवधिमा नेपाल पुनः डिभिजन दुईमै घटुवा भएको हो।

निरन्तर खस्कँदो प्रदर्शन
नेपाली राष्ट्रिय क्रिकेट टोलीले पछिल्लो करिब तीन वर्षयता खेल्दै आएको ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता भनेकै विश्व क्रिकेट लिग च्याम्पियनसिप नै हो । यही प्रतियोगितामार्फत नेपाललाई डिभिजन एकमा रहँदै आईसीसीका थप ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने अवसर प्राप्त हुन सक्थ्यो । यद्यपि च्याम्पियनसिपमा निरन्तरको खस्कँदो प्रदर्शनले नेपालले त्यो अवसरसमेत गुमाएको छ।

च्याम्पियनसिपअन्तर्गत खेलिएको १२ खेलमा नेपालले मात्र चार खेलमा जित हात पा¥यो । एक खेलमा निर्णय नआउँदा बाँकी सात खेलमा पराजय व्यहोर्यो‍‍ । नियमित रूपमा खेल्दै आएका प्रतिद्वन्द्वीविरुद्धको यस्तो नतिजाले नेपालको प्रदर्शन वास्तवमै खस्कँदै गएको संकेत गर्छ । नेपाली राष्ट्रिय टोलीबाट लामो समय खेलेका दीपेन्द्र चौधरी पनि पछिल्लो समय अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रदर्शन खस्कँदो अवस्थामा रहेको धारणा व्यक्त गर्छन्।

नेपाली टोलीको खस्कँदो प्रदर्शनलाई दीपेन्द्रले कडा शब्दमा आलोचना गर्छन् । उनी भन्छन्, ‘खेलाडी छनोटमै पनि सिन्डिकेट चल्यो ।' ‘नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा पर्दा प्रतियोगिता भएनन् । पछिल्लो समय घरेलु प्रतियोगिता ठप्प बन्दा खेलाडीले मेहनत गर्ने र क्षमता देखाउने गतिलो अवसरसमेत पाएका छैनन्', दीपेन्द्र भन्छन्, ‘त्यति हुँदाहुँदै पनि हामीसँग राम्रो गर्न सक्ने अवसर थियो तर, सधैं एउटै खेलाडी लिएर खेल्न जाने सिन्डिकेटले गर्दा प्रदर्शन झनै खस्कियो । दुई/चारजनाबाहेक अन्य खेलाडीले राम्रो खेल्न सकेका छैनन् । त्यैपनि उनीहरूलाई नै लिएर प्रतियोगिता खेल्न गइन्छ । हामीसँग नयाँ क्षमतावान् खेलाडी छन् तर, उनीहरूमाथि कहिल्यै विश्वास गरिँदैन । अर्कोतिर नेपाली क्रिकेटमा प्रशिक्षक र कप्तानले खेलाडी छान्नुपर्ने अवस्था आउनुुले पनि टोलीको प्रदर्शन यो अवस्थामा पुगेको हो।'

डिभिजन दुई दोस्रो अवसर
विश्व क्रिकेट लिग च्याम्पियनसिपमार्फत असफल भए पनि सन् २०१९ को विश्वकपका लागि अर्काे वर्ष आयोजना हुने अन्तिम चरणको छनोट प्रतियोगितामा स्थान सुरक्षित गर्न डिभिजन दुई प्रतियोगिता नेपालका लागि दोस्रो अवसर हुनेछ। अर्काे वर्ष हुने अन्तिम चरणको छनोट प्रतियोगितामा नेपालसहित च्याम्पियनसिपबाट घटुवा भएका नामिबिया र संयुक्त अरब इमिरेट्स (यूएई)सहित डिभिजन तीनबाट आएका ओमान र क्यानडाले प्रतिस्पर्धा गर्नेछन्।

डिभिजन दुईको शीर्ष दुई स्थानमा अटाउन सकेको अवस्थामा नेपालले विश्वकपको अन्तिम चरणको छनोट प्रतियोगितामा स्थान सुरक्षित गर्नेछ । विश्वकपको अन्तिम चरणको छनोटमा डिभिजन दुईका शीर्ष दुई टोलीसहित, च्याम्पियनसिपका शीर्ष चार र एक दिवसीय वरीयताको पुछारमा रहेका चार टोलीले प्रतिस्पर्धा गर्नेछन्। अन्तिम चरणको छनोट प्रतियोगितामार्फत विजेता र उपविजेता दुई टोली सन् २०१९ मा इङ्ल्यान्डले आयोजना गर्ने विश्वकपका लागि छनोट हुनेछन् । यद्यपि नेपालका लागि यस्तै प्रदर्शनले डिभिजन दुईमार्फत विश्वकपको अन्तिम चरणको छनोट प्रतियोगितासम्म पुग्न नै मुस्किल देखिन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.